काठमाडौँ, ५ चैत – प्रधानमन्त्री केपी ओलीले राजनीतिक स्थायीत्वसँगै मुलुक विकासको नयाँ शिरामा प्रवेश गरेको बताएका छन् । उनले चिनियाँ सहयोगको प्रशंसा गर्दै छिमेक सहकार्यमा नै मुलुक अघि बढ्ने स्पष्ट पारे । चिनियाँ अनुदानमा निर्माण भएको चन्द्रागिरी नगरपालिका मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान केन्द्रको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले मुलुकमा कुनै मतभेद नभएको उल्लेख गर्दै अब सबै मिलेर निर्माण र समृद्धिमा लाग्नुपर्ने बताए । ‘हाम्रो एकताबद्ध प्रयासले लक्ष्यप्राप्तिका लागि बढ्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अव विगत हेर्ने होइन भविष्य हेर्दै काम गर्नुपर्नेछ । हिजोका भनाभन, झगडा विर्सेर विकासको कार्यमा अघि बढ्नु आवश्यक छ ।’
जनताले विकास निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको उनको भनाई थियो । ‘सडक चिल्ला हुन खेत बाझो नहोस,’ ओलीले भने, ‘सबैले शान्तिको अनुभूति गरुन् । कसैलाई अन्याय नपरोस ।’ शसस्त्र प्रहरी बललाई राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तालाई ध्यानमा राखेर काम गर्न पनि उनले निर्देशन दिए ।
चीन सरकारको ३ अर्ब ६० करोड रुपैंयाको सहयोगमा निर्माण भएको उक्त भवन तोकिएको समयभन्दा ६ महिना पहिल्यै सम्पन्न भएको हो । चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनीले निर्माण गरी भवन हस्तान्तरण गराएकोमा प्रधानमन्त्रीले प्रशंसा गरे । ‘समयभन्दा अगावै निर्माण सम्पन्न गरेर यो एउटा उदाहरणीय काम भएको छ,’ ओलीले भने ‘अब हाम्रा विकास निर्माणका सबै काम यही गतिमा अगाडि बढ्नेछन् । यसका लागि सबै तयार रहनुपर्छ ।’
प्रशिक्षण प्रतिष्ठानको भौतिक संरचना निर्माणमा अनुकरणीय भूमिका निर्वाह गर्ने चाइना रेलवे चौधौं व्यूरो रुप कर्पोरेसन लिमिटेडका जनेरल म्यानेजर ज्यांग जिन जुंगलाई उनले प्रशंसापत्र प्रदान गरेका थिए । त्यसअवसरमा गृहमन्त्री रामबहादुर थापाले भवन परिसरको अधिकतम उपयोग गरी विज्ञ उत्पादनमा प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा राजदुत यु होङले प्रतिष्ठानको निर्माण कार्य निर्धारित समय अगावै सम्पन्न भएको बताइन । नेपालले हालैमात्र तीन चरणको निर्वाचन सम्पन्न गरेर स्थायीत्वतर्फ बढेकोमा खुशी ब्यक्त गर्दै उनले नेपाल–चीन सहयकार्यले थप उचाई लिने बताइन । चीनको प्राथमिकतामा छिमेकी मुलुकहरु रहेको समेत उनले बताइन ।
चीनले पछिल्लो समय गरिवी निवारणमा निकै प्रगति हासिल गरेको र बैदेशीक लगानीको क्षेत्रमा समेत सफलता चुमेको उनले बताइन । राजदूत युले चीन आधुनिक समाजबादी मुलुकको रुपमा विकासतर्फ उन्मुख रहेको बताइन् । नेपालले चीनले अघि बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई)मा हस्ताक्षर गरेर विकास साझेदारीको ढोका खोलेको बताउदै उनले त्यस अन्तरगत सहकार्य हुने बताइन । उनले नेपालको विकासमा साथ दिने र दुवैतर्फको तत्परताले विकास प्रक्रिया अघि बढ्ने बताइन ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले उक्त प्रतिष्ठान निर्माणमा सहयोग गर्नेलाई धन्यवाद दिएका थिए । ३ सय १८ रोपनी क्षेत्रफलमा फैलिएको सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान केन्द्रअन्तर्गत पाँच तले प्रशासनिक भवन, चार तले चारवटा व्यारेक भवन, दुई तले मेस भवन, एउटा क्वार्टर गार्ड, कभर्ड हल, फाइरिङ रेन्ज, अन्तर्रार्िष्ट्रय स्तरको स्वीमिङ पुल, रंगशाला र दुई सय चार सीट क्षमताको सभाहल लगायतका पूर्वाधार छन् ।