काठमाडौँ, ४ चैत – कार्यभार सम्हालेको एक महिना पुगेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई कडा चेतावनीसहित निर्देशन दिएका छन् । उनले मन्त्री र सचिवहरुलाई ‘एस्क्युज’को छुटसम्म नदिने चेतावनी दिए । ‘मन्त्री नियुक्त हुने वित्तिकै परिवारका सदस्यहरु चलमलाउने कुरा धेरै सुनिन्छन्,’ मन्त्रीहरुलाई मर्यादामा बस्न निर्देशन दिंदै प्रधानमन्त्रीले भने, ‘त्यस्ता व्यवहार बन्द गर्नुहोस्। तपाईंका काम माथि अनुगमन हुन्छ। त्यसमाथि अर्को अनुगमन हुन्छ। र, मैले पनि अनुगमन गरिरहेको हुन्छ। केही तलमाथि भेटिए एय्या आत्थु भन्ने मौका पाउनुहुने छैन।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्री, राज्यमन्त्री, प्रधानमन्त्रीका मूख्य सल्लाहकार, मुख्य सचिव, सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा प्रधानमन्त्रीले डेढ घण्टा निर्देशनात्मक मन्तव्य व्यक्त गरेका थिए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असाधारण अवस्थामा रहेको सरकारप्रति धेरै अपेक्षाहरु रहेको बताउँदै तिनलाई पूरा गर्न प्रधानमन्त्रीले विशेष निर्देशन दिएको जानकारी दिए।
प्रधानमन्त्रीले दीगो विकास लक्ष्य पूरा गर्न मन्त्री र सचिवहरुले विशेष क्षमताकासाथ काम गर्नुपर्नेमा जोड दिंदै आफ्नो सबै सामर्थ्य लगाएर काम गर्न निर्देशन दिएका थिए। ‘हामीले अब पनि परम्परागत मानसिकता नै राखेर काम गर्यौं भने देश बन्दैन,’ प्रधानमन्त्रीको भनाइ छ, ‘किन कि यो असधारण दायित्व बोकेको सरकार हो।’सरकारको मूल लक्ष्य ‘समृद्ध नेपाल : सुखी नेपाली’ भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनाबद्ध ढंगले काम गर्नुपर्छ। उपलब्धी देखिने गरी काम गर्नुपर्छ।’ उनले सरकारले सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने बताए। सरकारी निकायबीच समन्वय अभाव हुने गरेको बताउँदै भने, ‘हरेक क्षेत्रमा उपलब्धी हासिल गर्नका लागि मन्त्रालय मन्त्रालयकाबीच समन्वयात्मक ढंगले काम गर्नुहोस्, कसैको दबाव वा प्रभावमा कोही पनि नपर्नुहोस् र नियम र कानुन बमोजिम काम गरेर जनतालाई छिटो छरितो सेवा दिनुहोस्।’
सरकारले व्यवहार मै भ्रष्टाचारलाई शुन्य सहनशीलताको नीति अपनाउने प्रधानमन्त्रीको भनाइ थियो। ‘हिजोका सरकारले पनि शुन्य सहनशिलता भन्थे तर कार्यन्वयनमा देखिएन,’ प्रधानमन्त्री ओलीले भने, ‘अबको सरकारले भ्रष्टाचार निर्मूल गर्छ। यसप्रति असहिष्णु हुन्छ।’ नेपालीलाई सधैं गरिव बनाउन नसकिने बताउँदै प्रधानमन्त्रीले छिटोभन्दा छिटो गरिवी र पछौटेपन अन्त्य गर्नैपर्ने दबाब आफूहरुसँग रहेको बताए। ‘हामी नेपाललाई मगन्तेरहीत बनाउन चाहन्छौं,’ उनले भने ‘सडकमा मागेर दिन कटाउनेहरुले अब रोजगारी गरेर आफ्ना परिवार पाल्ने अवसर पाउने छन्।’
मन्त्री र सचिवहरुलाई समयको ख्याल गर्न निर्देशन दिंदै लक्ष्यसहितको योजना बनाएर काम गर्न प्रधानमन्त्रीले सुझाव दिए। ‘हरेक कामका लागि लक्ष्य बनाउनुहोस्, त्यस अनुसार उपलब्धी हासिल गर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘तर यस कारण, यदि, यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन।’ प्रधानमन्त्री ओलीले सचिवहरु बढुवा सरुवाका लागि नेताको धाउने प्रवृत्ति अन्त्य हुने बताए। ‘अब नेताको गएर अब बढुवा वा सरुवा हुनेवाला छैन,’ उनले भने, ‘भनसुनतिर लाग्ने र नेताको धाउने चलनले अब तपाईंको नम्बर बढ्ने होइन नम्बर घट्छ।’ हुन्डी कारोबार गर्ने, राजश्वमा मनपरी गर्नेलाई कानुनी दायराभित्र ल्याउने प्रधानमन्त्रीको चेतावनी थियो।