पर्वत, ४ चैत– अमेरिकामा बसोवास गर्ने नेपालीहरुले पर्वतको मोदीवेणी जेष्ठ नागरिक आश्रय स्थललाई सहयोग गरेका छन् । निर्माणधिन आश्रय स्थलका लागि ४ लाख ५४ हजार ३ सय ३६ रुपैयाँ सहयोग प्राप्त भएको हो । बागलुङ नगरपालिका–१४ बलेवाका पुर्णप्रसाद ढकालको पहलमा अमेरिकामा रहेका आफन्तमार्फत उक्त सहयोग जुटेको हो ।
प्रबासीले उपलव्ध गराएको रकम आश्रय स्थल निर्माण समितिलाई हस्तान्तरण गरिएको छ । सहयोग संकलक पुर्णप्रसाद ढकाल र बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले मोदीबेणी जेष्ठ नागरिक आश्रय स्थल निर्माण समितिका अध्यक्ष दिर्घनारायण श्रेष्ठलाई चेक हस्तान्तरण गरे । सहयोग हस्तान्तरण गर्दै सहयोग संकलक पुर्णप्रसाद ढकालले आश्रय स्थल निर्माणका लागि गरेको सहयोगको सदुपयोग गर्न आग्रह गरे । उनले मोदीवेणीमा जेष्ठ नागरिक आश्रय स्थल निर्माण गर्ने धोको लिएर देशबिदेशमा थप सहयोगको खोजी गर्ने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष चक्रबहादुर खत्रीले मोदीवेणी दिव्यधाम देशभरिका सबै नागरिकहरुको साझा थलो रहेकाले यसको बिकास र प्रचारमा सबै समुदायले सहयोग गर्नुपर्ने बताए । आश्रय स्थाल निर्माणको हालसम्म भएका प्रगतीको बारेमा आश्रय स्थल निर्माण समितिका सचिव कमलवहादुर जिसीले जानकारी गराएका थिए । जिसीका अनुसार आश्रयस्थलको निर्माण कार्य २०६४ जेठबाट शुरु गरिएको र हालसम्म ९० प्रतिशत काम सकिएको छ ।
४१ लाख रुपैयाँ खर्च भैसकेको आश्रय स्थलको काम अबको एक महिनामा सकिने उनले बताए । सहयोगदाताहरुकै आर्थिक सहायताले निर्माण कार्य भैरहेको जिसीले बताए । निर्माण समितिका सदस्य केशवदास वैरागीले आश्रय स्थल संगै मोदीवेणीमा गौशाला निर्माण गर्ने, पर्वत क्षेत्रबाट बागलुङ क्षेत्र जोड्ने गरि मोदीवेणीमा पुल बनाउने योजना अगाडी बढेको बताए । उक्त कार्यक्रममा मोदीवेणी आश्रय स्थल निर्माण समितिका सल्लाहाकार कृष्णप्रसाद ढकालले मोदीवेणीको महत्व बुझेर यहाँ पूर्वाधार विकास गर्न स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । गरिब, असहाय, एकल नागरिकहरुलाई आश्रय दिन आश्रय स्थल निर्माण गर्न थालिएको हो ।
१२ कोठा रहेको आश्रय स्थल निर्माणका लागि २०६८ सालको फागुन २६ देखि चैत्र ६ सम्म आयोजित शालग्राम महायज्ञमार्फत सबैभन्दा धेरै १९ लाख रुपैयाँ प्राप्त भएको छ । नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालयले १४ लाख, शहरी बिकास मन्त्रालयले ९४ हजार, गैह्र आवासीय नेपाली संघले ५ लाख ५७ हजार, वेल्जियममा रहेका नेपालीले २ लाख ६२ हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ । हालसम्म ४१ लाख रुपैयाँ भवन निर्माणमै सकिएको छ । निर्माण समितिका अध्यक्ष श्रेष्ठले आश्रय स्थलको निर्माण कार्य सकिनै लागेको र अब झ्याल ढोका राख्ने, पर्खाल लगाउने, रंगरोगन गर्ने, वाईरिङ गर्ने काम बाँकी रहेको जानकारी दिए ।
Previous Articleकर्मचारीको दायित्व
Next Article गाउँका बिद्यार्थीका दुख तीन घण्टा हिडेर विद्यालय !