कृष्णराज शर्मा
लसएञ्जलस शहरको पश्चिम पट्टि नेपालकै झल्को दिने मध्यम खालका अग्ला डाँडाहरू देखिए । तिनै डाँडातिर हामी लाग्यौं । यहाँ पनि जीपीएसले नै डोर्याएर ल्याएको हो । उकालो र साँगुरो बाटो छ । गाडीको लस्कर जता गए पनि उत्तिकै । जती धेरै गाडी भएपनि रोकिनु नपर्ने । गतिमा थोरै धिमा मात्रै हो, गतिमा अबरोध नआउने । हाम्रै गाउँतिर ट्रयाक खुल्दै गरेका जस्ता साँगुरा र घुमाउरो बाटो । यस्तै भएपनि ठ्याक्कै जाम नहुने । बाटो सफा तर बाटो तलमाथिको जमीन रूखो र सुक्खा थियो । तोकिएको स्थानमा पार्किङ नपाएसम्म गाडीहरू चलायमान भैरहने । गुड्नै पर्ने रोक्न नपाईने । स्वयंसेवकहरू नियम सम्मत खरो रूपमा उत्रिएर ट्राफिक जाम होलाकि भन्ने चिन्तामा खटिएका देखिन्थे । यहाँ पनि लामो समय चक्कर मारेपछि छोटो अबधिका लागि पार्किङ स्पट भेट्यौं । बाटोको छेऊमै यो व्यवस्था मिलाईएको हुने रहेछ । पहाडको भित्तामा हलिउड लेखिएका आठ अक्षरको ठूलो बोर्ड नै त्यहाँको आकर्षण रहेछ । हलिउडको नामले संसार प्रसिद्ध यो ठाउँमा संसारभरिकै थरिथरिका अनुहार र भेषभुषा देखिए । अमेरिकन बाहेक चाइनिज र कोरियन वयस्कहरूको बढी चहलपहल थियो त्यहाँ । फेसनले भरिएको अनुशासित भीड नै हो यो । जस्तोसुकै फेसनमा भएपनि आफ्नै धूनमा रमाई रहेका । सबै जे–देख्थ्यौं हामी मात्रै लज्जित हुन्थ्यौं । देखाउनेहरूलाई लाजै नभएको जस्तो, कस्तो अचम्म ! फिल्मी नगरीमा प्रवेश गरेपछि त सप्पै जायज जस्तो ! कतै–कतै नाजायजको पनि त ख्याल राख्नु पर्छ ! पटक्कै छैन । छैन त, गर्नु के ? हजमोला त बोकेर हिंडिएन, तै ति सबै लाज के ले पचायो थाहै भएन ।
मध्यम खालका ति पहाडमा पहाड नदेखेकाहरू निकै रमाई रहेका देखिन्थे । रूख पात पतिङ्गर घाँस सबै सुकेका । क्यालिफोर्नियामा बढी आगलागीका घटना घटेको हामीले सुनि रहन्छौं । अमेरिकामा घटेका स–साना घटनालाई विश्व घटना बनाएर प्रसारण गर्ने हाम्रा जस्ता देशले देखाईरहन्छन्, सुनाउँछन् । यदि त्यो ठाउँमा कतैबाट पनि सानो आगोको झिल्को पर्ने होभने ठूलो मानवीय विपत्ति हुनसक्ने प्रष्टै थियो । तर विपत्ति प्रकट भएमा तत्काल समन र दमन गर्न सक्ने क्षमताले ऊ ढुक्क छ । यस्तो बदमासी हुन नदिन प्रहरीले हेलिकप्टरबाट निरन्तर हवाई गस्ती लगाई रहने रहेछ । त्यही सुक्खा पहाडहरू नाघेर धेरै परको पहाडमा ति आठ अक्षरहरू टल्केका छन् । तिनै अक्षरहरूलाई पृष्ठभूमी पारेर खिचिएका फोटोहरू प्रशस्तै नेपालमा देखिन्थे । पुगेकाहरूले देखाउँथे । हामी त्यही आकर्षणमा लोभिएका थियौं । खासै अनौठो लागेन । ठूलो क्षत्रफल ओगटेको उचा क्षेत्र भएकाले डुल्न फिर्न रमणीय हुन पुगेको रहेछ । नेपालमा त्यसका ‘बाजे’ रमणीय स्थान छन् । पहाडी सौन्दर्यतामा नेपाललाई के भेट्थ्यो अमेरिकाले ? तैपनि समृद्धिले उचालिएको देशको स्थान भएकाले संसार प्रसिद्ध बन्न पुगेको होला । त्यही संसार प्रसिद्धको हल्लै हल्लाको रहरमा हामी पनि पुग्यौं ।
संसारकै सर्वोच्च शिखर सगरमाथाका देशका हामी पहाडकै नामले परिचित छौं । तर त्यो हलिउडको छनक दिने खालका स्थान र पहाडी उपत्यका भएर पनि हामीले चिनारी दिन नसकेका हौं । त्यस्ता बोर्ड टाँग्न सकेका छैनौं । सानो प्रयासले त्यो संभव छ । पृथ्वी राजमार्ग अन्र्तगत पर्ने मनकामना केबुलकारको मुनी त्यस्तै विज्ञापनका बोर्ड काठमाण्डौ जाने जो कसैले देखेका छौं । त्यत्ति नै हो त्यो हलिउड । तर हलिउड क्षेत्रमा बढी रमाउने क्षेत्र अझ त्यहांको ‘युनिभर्सल स्टुडियो’ हो । यहीं भित्र चलचित्र छायांकनका लागि निर्मित लोप भैसकेका काल्पनिक प्राणीको जीवन्तता भित्र कृत्रिम नदी र गूफा हुँदै शयर गर्दा भयंकर अनुभूती स्पर्श गर्नु र ‘जुरासिक पार्क’मा रमाउनु खास हलिउडको छुट्टै मज्जा रहेछ । एकै दिन यि सबै भोग गर्नु असंभव नै हुन्छ । त्यो ठाउँमा त्यही दिन जाने समयाभाव खट्क्यो हामीलाई । यसलाई अर्को दिनको समय लिएर घुम्ने योजनामा हामी हलिउड क्षेत्रको नजिकै बडेमान्को टेलिस्कोप भएको स्थानतर्फ लाग्यौं । हलिउड क्षेत्रको यो अर्को मुख्य आकर्षण रहेछ । ग्रिफिथ अबजरभेटोरी(Griffith Observatory) को नामले प्रसिद्ध रहेछ यो ठाउँ । यो ग्रिफिथ भित्र पसेर सूर्यको नजिकै रहेको ‘भेनस’ त्यही ठूलो सौर्य दूरवीनको माध्यमबाट सूर्यको किरणलाई परावर्तन गराउँदै प्रत्यक्ष देख्न सकिने रहेछ । आकाश गंगामा रहेका तर नाङ्गो आँखाले नदेखिने थुप्रै ग्रह र नक्षेत्र हेर्न यो अत्यन्त उपयोगी यन्त्र रहेछ । मान्छेको ताँती लाग्ने रहेछ त्यो ग्रहलाई एक झल्को देख्न । यसको प्राङगणमा अन्य प्रकारका टेलिस्कोप राखेर पनि आकाशतिर सोझ्याएर बसेका झुण्ड पनि भेटिए । यो ठाउँमा पुगेर पश्चिम फर्कँदा ‘हलिउड’लाई प्रष्ट देख्न सकियो । यही ग्रिफिथ अब्जरभेटोरीको मध्ये भागमा ठूलो गोलाकार ‘डोम्’ (Dome) डम्म अडिएको छ । डोमको भित्र भयंकरका सौर्य दूरबीन (Solar Telescopes) सूर्यको सम्मुख फर्काइएको छ । एक तल्ला माथी चढेर डोमलाई छुनु अगाडी त्यसैको बरण्डाबाट देखियो बिराट शहर । पूर्व दक्षिण मोडिंदा देखिन्थ्यो, विशाल समथर भू–भागमा तनक्क तन्केर बसेको क्यालिफोर्नियाको लसएञ्जलस शहर । मौसम खुलेको समयमा काठमाण्डौको स्वयम्भूबाट काठमाण्डौ उपत्यका नियाले जस्तो अब्जरभेटोरी डोम (Obsevatory Dome) को आँगनबाट लसएञ्जलस नियाल्यौं । उत्तरपश्चिमको भित्तामा मुस्ताङ जाँदा बाटोमा झूप्प–झूप्प देखिने घाँसे रूखहरू जस्तै त्यहाँ पनि नाङ्गो पहाडलाई तिनै बुचे रूखहरूले शोभा दिएका थिए । हामी केटाकेटी हुँदा नेपाल घुम्न आउने कुहिरेहरूले जे चिज देखेपनि पिटिक्क–पिटिक्क फोटो खिचेको देखेर दङ्ग परेको सम्झना यतिखेर निक्कै भयो । जता हेर्यो रमाईलो र अनौठो देखेपछि तिनै पहिलेका कुहिरे जस्ता हामी पनि ‘खैरे’ भैरहेका थियौं । त्यो बेलाका कुहिरेले कत्ति ‘फोटोका रील’ खर्चिन्थे होला । त्यो जमाना अहिले छैन । हाम्रो यो घुमाई त्यस्तो होईन । रील किन्नु नपर्ने । डिजिटल क्यामेरा र मोवाईलको क्यामेराबाट फोटो जत्ति खिचेपनि रील सकिन्नथ्यो । ऊ बेला नेपाल घुम्ने कुहिरे र आज अमेरिका घुम्ने हामी ‘खैरे’ को फोटो लिने तरिका यौटै भैदियो । त्यो डोमको भित्र बाहिर निकै घुमे हाम्रा क्यामेरा ।
आजको मुख्य भिजिट प्रत्यक्ष आँफै ब्रह्माण्डको एउटा बुधग्रह हेर्नु नै रह्यो । लाईनमा बसेर भित्र पस्यौं । गोलाकार ठूलो हल छ । सुरक्षाकर्मी चनाखो पूर्वक दर्शकलाई ध्यान दिईरहेका देखिन्थे । त्यो ठूलो हलको बोचोबीच दुई भर्याङमाथि चढेपछि दूरबीनको ‘आई स्पट’ बाट त्यो ग्रहलाई देख्न उपस्थित सबै आतूर देखिन्थे । भित्र पसेपछि देखिनै एउटा अजँगको शरीरधारी युनिफर्ममा तैनाथी भएर डोम र दूर्बीनको अथक र निरन्तर रूपमा बुझाउने कोशिश गथ्र्यो । हामीलाई उसको आवाजले केही बुझाउनै सक्दैनथ्यो । माईक्रो फोनको सहायता लिएर ऊ सुस्त बोल्थ्यो तर ठूलो आवाज दिन्थ्यो । लाईनमा हाम्रो एक एक पाईला चल्थ्यो तर हाम्रा आँखा भने घरी दुई भ¥याङ माथिको सौर्य दूरबीनतिर घरी, त्यही मिहिनेति व्याख्याताको अनुहारमा पुग्थे । कस्तो ड्यूटी होला उसको ? कसैले नबुझेर सोध्यो भने पटक्कै झर्को नमान्ने । हाँसी–हाँसी दर्शकको सेवामा तल्लीन थियो । झिजो त मान्दै नमान्ने । त्यो मान्छेको कर्तव्यपरायणता र मानवीय सेवाभाव कहिल्यै कसैले भुल्न नसक्ने थियो ।
अन्ततः हाम्रो पालो आयो । हामीले एक–एक गर्दै दूरबीनको आई स्पटमा आँखा राख्दै बुध ग्रह हेर्न थाल्यौं । त्यहाँ कसैले देखे कसैले देखेनन् । नदेख्नेले सूर्यकै आकार खोजेकाले देखेनन् । उसले बताए अनुसार हेर्नेले देखे । महिलाले कानमा टप लगाउने सानो मोतीको दानाको आकारमा दूरबीनबाट ‘बुध’ देखिन्थ्यो । सूर्यको प्रकाशलाई परावर्तन गरि देखाइएकाले प्रकाश भित्र त्यो सानो मोतीको दानाको रूपमा रहेको थियो । नाङ्गो आँखाले देखिने बस्तु दूरबीनले ठूलो र नजिक ल्याएर देखाए जस्तो यो थिएन । त्यहाँ महत्वपूर्ण कुरा यो थियो कि, देख्नै नसकिएको चिज यसले देखाएको थियो । वैज्ञानिक ग्यालिलीयोको आविष्कारका विभिन्न रूप हामीले घरघरै खेलाए पनि त्यो दूरबीनलाई स्पर्श गर्दा उनैलाई स्पर्श गरेको भान मिलेको थियो । जे होस् एउटा अपूर्व मौका हामीलाई मिल्यो । हेरियो बुधग्रह ! क्रमशः..
Previous Articleकर्मचारीलाई कर्जा व्यवस्थापन तालिम
Next Article २०७४ चैत ४ गते आईत बारको राशिफल