बागलुङ, ३ चैत – बागलुङको मालढुंगा नजिकै यात्रुबाहक पिक अप जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन । सदरमुकाम बागलुङ बजारदेिख कुश्मिसेरा जाँदै गरेको ध.१.ज. २९३ नम्बरको जिप शनिबार बा.न.पा. १ मालढुंगा नजिकै जिप दुर्घटनामा परेको थियो ।
घाइते हुनेमा जैमिनी नगरपालिका वडा नं. १ का ५२ वर्षीय ऋषिराम पौडेल, बागलुङ नगरपालिका वडा न. ४ का ३२ वर्षीया अन्जु केसी, सोही ठाउँका ४३ वर्षीय राम केसी, ६ महिनाका बालक आराप केसी, बानपा १४ का ५० वर्षीय सोमनारायण श्रेष्ठ, सोही ठाउँकी ४९ वर्षीया गंगा सुवेदी, र जैमिनी नगरपालिका १ का गोपाल पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले जानकारी दिए ।
घाइते बालकको मुखमा चोट लागेको छ । त्यसैगरी, जिपका चालक जैमिनी नगरपालिका १ का शिव शर्माको पनि टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुको बागलुङको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था केही जटिल र अन्यको सामान्य रहेको अस्पतालले जनाएको छ । जिप सडकको छेउमा रहेको विजुलीको पोलमा ठोक्किएर विपरित दिशातर्फ फर्किएको प्रहरीले जनाएको छ ।