बागलुङ, ३ चैत – खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको फिल्म ‘डमरुको डण्डीबियो’को गीत रिलिज भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘तीतेपाते’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा कालीप्रसाद बास्कोटा संगीत रहेको छ। एकतारे, हर्क साउद र कालीप्रसादको शब्द रहेको गीतमा कालीप्रसादकै स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा फिल्मका प्राय: कलाकार फिचरिङ छन्। भिडियोमा कलाकारले डण्डीबियो खेल्नका लागि ‘वार्म अप’ गरिरहेको देख्न सकिन्छ। भिडियोमा अनुप बराल कोच बनेर फिल्मका अन्य कलाकार खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धि तमाङ, लक्ष्मी बर्देवालगायतलाई खेल सिकाइरहेका छन्।
त्यस्तै, अशान्त शर्मा अनुपको सहयोगीका रूपमा देखिएका छन्। समृद्धि इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई छेतन गुरुङले निर्देशन गरेका छन्। नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको फिल्ममा अंकित खड्का, मिश्री थापा, इंगी होपु कोइच सुनवार, नमिता घिसिङलगायतको पनि अभिनय छ। फिल्ममा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायांकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ।
Previous Articleथपिए तीन मन्त्रालय, वार्षिक सवा अर्ब खर्च बढ्ने
Next Article ३ चैत २०७४, ढोरपाटन दैनिक