बागलुङ, १६ असोज – विजया दशमी तथा शुभ दिपवलीको पावन अवसरमा जिल्ला खेलकुद विकास समितिले शनिबार आयोजना गरेको निजामति कर्मचारी बागलुङ र जिल्ला खेलकुद विकास समिति विचको मैत्रीपूर्ण फुटबलमा जिल्ला खेलकुद विकास समिति बागलुङ विजयी भएको छ ।
उक्त खेलमा जिल्ला खेलकुद विकास समिति ५–४ गोलअन्तरले नेपाल निजामती कर्मचारी संगठन बागलुङलाई पराजित गरेको हो ।
निकै रोमाञ्चक बनेको खेलमा दिपक थापाको गोलबाट सुरुवाती अग्रता निजामती कर्मचारीले लिए पनि अग्रतालाई जोगाउन नसक्दा खेलमा हार व्यर्होनुपरेको थियो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय सकिन केहि समय बाँकी छदा ४–४ गोलको बराबरी रहेको अवस्थामा जिल्ला खेलकुद विकास समितिका मनिष रायमाझीले हेड गोल गर्दै टिमलाई जित दिलाएका थिए ।
खेलमा जिल्ला खेलकुद विकास समितिका स्टाईकर राम शर्मा र नन्दु विष्टले २–२ गोल गरेका थिएभने १ गोल मनिष रायमाझीले गरेका थिए ।
यस्तै निजामती कर्मचारीको तर्फबाट दिपक थापा, शंकर थापा, शैलेन्द्र गुरुङ र छवि लामाले १–१ गोल गरेका थिए ।
मैत्रीपुर्ण खेलको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले खेलकुदले दुवै तर्फ आत्मियता बढाउने बताएका थिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारको अध्यक्षता रहेको उद्घाटन कार्यक्रमको स्वागत निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष तेजप्रसाद निउरे र संचालन जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव भिमसेन शाक्यले गरेका थिए ।