म्याग्दी, २ चैत– जिल्लाको मालिका गाउँपालीका–७, डाँडागाउँमा बिम स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेको हो । विसं २०७२ चैतमा भ्याटबाहेक रु. एक करोड ७७ लाखमा बिएन कन्ट्रक्सनले भवन निर्माणको ठेक्का लिएको थियो । भवन निर्माण, रंगरोगन, विद्युत्, पानी जडान र घेराबार गर्ने काम सकिएकाले डिभिजनमार्फत भवन हस्तान्तरणको तयारीमा रहेको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले बताए । भुर्इँ तलामा आठ र पहिलो तलामा कर्मचारी आवासका लागि दुईवटा कोठा रहेका छन् ।
भुँईतलामा बिरामीको स्वास्थ्य परीक्षण, श्यया, औषधि भण्डारण, वितरण, ल्याब, प्रसूति, नाम दर्ता, सहयोगी र प्रशासनिक लगायतका कक्ष रहेका छन् । पहिलो तलाको दुईवटा कोठा कर्मचारीको आवास सुविधाका लागि बनाइएको हो । निर्धारित समयमै भवन सम्पन्न गरेको सञ्चालक जिसीले बताए । सो भवन भूकम्प प्रतिरोधी क्षमताको छ । हाल वडा कार्यालयसँगै रहेको सामुदायिक भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । हस्तान्तरण भएपछि नयाँ भवनबाट स्वास्थ्य संस्था सञ्चालन गरिने स्थानीय अगुवा बेगप्रसाद गर्बुजाले बताए । नयाँ भवन बनेपछि सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।
डाँडागाउँ बिममा स्वास्थ्य चौकीको भवन निर्माण
Previous Articleपरमाणु बम बनाउने साउदी अरबको चेतावनी
Next Article उज्यालोका लागि मुस्ताङका जनप्रतिनिधि ताते