बागलुङ, १ चैत– बागलुङका कयौँ गाउँपालिका तथा नगरपालिकाहरूमा बर्सेनी नयाँ नयाँ सडकहरू गाउँसम्म पुग्छन् । ती सडकहरू घाम पर्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेका छन् । तर त्यसको स्तरोन्नतिमा कसैको ध्यान जाने गरेको छैन । गाउँघरमा पाखोबारी एवं खेतहरूलाई फाल्दै नयाँ सडक निर्माण गरिए पनि त्यसलाई बाह्रै महिना चल्न सक्ने बनाउन ध्यान गएको पाइँदैन । नयाँ बनेका सडकलाई स्तरोन्नपति नगर्दा घर छेउको बाटोमा धुलोले गर्दा स्थानीयवासीहरूले सास्ती खेप्नुपर्ने अवस्था छ ।
अझै बढी विद्यार्थीहरू तथा सर्वसाधारणहरू मर्कामा पर्ने गरेका छन् । त्यसैले सडक निर्माणको पाटो एकातिर रहिरहँदा काठेखोला गाउँपालिकाले भने उत्पादनशिल क्षेत्रलाई जोड दिएको छ । प्रायजसो स्थानीय तहहरूले सडक निर्माणमा बढी प्राथमिकता दिएको देखिन्छ । काठेखोला गाउँपालिकाको वडा नम्बर १, २, ४, ६ र ७ मा १६ वटा ब्लक निर्माण गरी सुन्तला खेतीलाई विस्तार गरी सुन्तलाको पकेट क्षेत्र (ओरेञ्ज जोन) बनाउने तयारी थालेको छ । गाउँपालिकाले झण्डै ३ हजार रोपनी क्षेत्रफलमा सुन्तला खेती विस्तार गर्ने लक्ष्य राखेको छ । सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेका स्थानहरूमा क्षेत्रफल विस्तार गरी स्थानीय कृषकहरूको आर्थिक आम्दानी उकास्न यस्तो अभियान थालिएको हो । गाउँपालिकाको वडा नम्बर १, २, ४ र ७ मा एक एक वटा र ६ नम्बर वडामा १३ वटा बल्क निर्माण गरेर सुन्तला खेती विस्तार गर्न लागिएको छ ।यसका लागि गाउँमा रहेका अन्य रूखहरूलाई कटान गरेर सुन्तलाका विरुवा मात्र राख्ने गरी अभियान नै सुरुवात गरिएको छ ।
अबको केही वर्षमा सुन्तला गाउँका रूपमा परिचित गराउने गरी अन्य विभिन्न किसिमका रूखहरू कटान गर्न थालिसकिएको काठेखोला गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष युक्तप्रसाद कंडेलले बताए । उनले वडा नम्बर ६ बाट मात्रै यस वर्ष १ करोड ३ लाखको सुन्तला बिक्री वितरण भएको बताए । उनले सबै रूखलाई कटान गरी सुन्तला रोपेपछि आम्दानी अर्को वर्ष नै दोब्बर हुने विश्वास व्यक्त गरे । अहिले सुन्तलाको बोट वरपर रहेको रूखहरू कटान गरेपछि मात्रै त्यसले उत्पादन पनि बढी दिने वडाध्यक्ष कँडेलले बताए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत कृषि ब्लक बनाउने अभियान सुरुवात गरिएको हो । गाउँपालिकाको अन्य क्षेत्रमा भन्दा बढी बिहुँमा सुन्तला खेती राम्रो उत्पादन हुने भएकाले पनि अन्य पेशाभन्दा बढी सुन्तला खेती तर्फ नै ध्यान दिएको बताइएको छ । पछिल्लो समय युवाहरूको वैदेशिक रोजगारको मोह पनि बढिरहेको छ । यसलाई न्यूनीकरण गर्नका लागि पनि यो अभियानलाई महत्वपूर्ण रूपमा हेरिएको छ । रूख काट्ने बेलामा केही कृषकहरूको गुनासो आए पनि केही वर्षपछि उनै कृषकहरूले धन्यवाद दिने गरी दीर्घकालीन योजना बनाएर अघि बढेको बताइन्छ ।
यसै वर्ष मात्रै वडा नम्बर ६ मा मात्रै ६ हजार बढी सुन्तलाका विरुवाहरू थप गर्ने लक्ष्य राखिएको छ । सबै वडामा एक लाखभन्दा बढी विरुवा लगाउने लक्ष्य राखिएको छ । त्यसका लागि विरुवामा ५० प्रतिशत र अन्य मेसिन तथा सामग्रीहरूमा ७५ प्रतिशत अनुदान दिने वडा कार्यालयले बताएको छ । अहिले रूख काट्ने मेसिन वडाले नै खरिद गरेर धमाधम रूख काट्न थालिएको छ । यस वडामा मात्रै ६ सय घरधुरीले सुन्तला उत्पादनलाई वृद्धि गर्ने वडाध्यक्ष कँडेलले बताए । ‘एउटा काठको रूख हुर्काउन ३० वर्ष लाग्छ, र त्यसको मुल्याङकन गर्दा ५ हजारको मात्रै आम्दानी लिन सकिन्छ, तर सुन्तलाको बोट ५ वर्षमा फलाएर आम्दानी गर्न सकिन्छ,’ कँडेलले भने । अन्नबालीका हिसाबमा पनि सुन्तलाले कयौँ गुणा बढी आम्दानी गर्न सक्ने बताउँदै झण्झटिलो नहुने र सजिलै आम्दानी गर्न सकिने भएपछि यसलाई प्राथमिकता दिएको कँडेलले बताए ।
‘गाउँमा घरहरू पनि खाली हुन थाले, बाँझो बारीमा एक दिन दुःख गरे पुग्ने भएकाले पनि धेरै फाइदा देखेर हामी यो अभियानमा लाग्यौँ । यसमा विदेशबाट फर्केकाले पनि साथ दिएका छन्,’ कँडेलले भने । जापान गएर फर्केका बिहुँका धनपति निउरेले अर्काको देशमा गएर १८ घण्टा काम गर्नुभन्दा आफ्नै ठाउँमा गरेको मेहनतले बढी प्रतिफल दिने गरेको बताए । अहिले वडा कार्यालयले नै सुन्तला खेती विस्तारमा साथ दिएकाले खुशी लागेको भन्दै अझै क्षेत्रफल र बोट विस्तार गर्ने बताए । निउरेको सुन्तलाको बोटले बर्सेनी डेढ लाखभन्दा बढीको आम्दानी दिने गरेको छ ।
त्यस क्षेत्रमा ५ लाखभन्दा बढीको सुन्तला बिक्री गर्ने कृषकहरू पनि छन् । निउरे जस्तै सोही गाउँका बालानन्द कँडेल पनि उस्तै मख्ख छन् । सुन्तला नभएर सुन फल्ने विश्वासका साथ सबै कृषकहरू एकजुट भएर आ–आफ्नो क्षेत्रमा पर्ने रूखलाई कटान गरी सुन्तलाको विरुवा रोप्ने अभियानमा लागेको बताए । युवा कृषक प्रकाश निउरेले आफूजस्ता युवाहरूलाई यो अभियान प्रभावकारी हुने देखिएपछि यसमा साथ दिएर अगाडि बढेको बताए । उनले बिहुँबाट सयौँ मानिसहरू विदेशी भूमिमा गएर काम गरिरहेकाले उनीहरूलाई यो अभियानले फर्काउन समेत दबाब सिर्जना गर्ने विश्वास लिएको बताए । वडा नम्बर–६ की दलित महिला सदस्य सम्झना बोहोराले सुन्तला खेतीलाई विस्तार गर्दा महिलाहरूको आर्थिक स्तर वृद्धिमा मद्दत पुग्ने बताए ।