बागलुङ, १५ असोज
बागलुङ÷वर्षासँगै अवरुद्ध बनेका बागलुङका ग्रामीण सडक दसैँ अगाडि नै सञ्चालनमा आउने भएका छन् । जिल्लामा रहेका सबबै सडक मर्ममतका लागि जिल्ला विकास समिति बागलुङले रकम विनियोजन गरेपछि अवरुद्ध सडकहरु दसैँ अगाडि नै सञ्चालनमा आउने भएका हुन् ।
जिल्लाका ५९ गाविसमा ९९ सडक छन् । एकाध बाहेकका सबै सडक वर्षायाम सुरु भएसँगै बन्द अवस्थामा छन् । गाउँ गाउँसम्म पुग्ने सडक मर्मतका लागि जिविसले २६ लाख ६७ हजार रकम विनियोजन गरेको छ ।
सडकको प्रकृति हेरी मर्मतका लागि २० हजारदेखि ६५ हजारसम्म रकम विनियोजन भएको जिविसका योजना तथा प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिए ।
चाडपर्व नजिकिएसँगै ग्रामीण सडकमा यात्रुको चाप बढ्न थालेको र वर्षायामसमेत सकिएका कारण सडक मर्मतका लागी रकम विनियोजन गरेको जिविसले जनाएको छ । सबै सडक मर्मतका लागि विनियोजन गरिएको रकम गाविसको खातामा जाने र गाविसमार्फत काम सम्पन्न गरेपछि रकम भुक्तानी हुनेछ ।
शाक्यका अनुसार, गौदीखोला–छेन्तुङ सडक र बुर्तिवाङ–बोङ्गादोभान सडक मर्मतका लागि सबैभन्दा बढी ६५/६५ हजार विनियोजन भएको छ । यस्तै बानपादेखि गाजादह बरेङखण्डसम्मका लागि ५५/५५ हजार विनियोजन भएको छ । हन्द्राफेरि तमान सडक, भीमगिठे राजकुत सडकका लागि ५०/५० हजार विनियोजन भएको छ ।
मालढुङ्गा बोटेहुँदै माझ बगरसम्म र दोगाडी कुदुङ सडक, रिजालचोक अमरभूमि तारा सडक, बुर्तिवाङ घोषाखानी सडक, कुस्मीसेरा बरेङ सडकका लागि प्रतिसडक ४० हजार रकम विनियोजन भएको छ ।