पर्वत, २९ फागुन – जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको घरमा मंगलबार प्रेसर कुकर बम फेला परेको छ। कुश्मा नगरपालिका-१ स्थित सहस्रधारमा रहेको अध्यक्ष मल्लको बा१६च २५२६ नं को गाडीमुनि प्रेसरकुकर बम भेटिएको हो। गाडीको टायरमुनि प्लास्टिकभित्र पत्रिकाले बेरेर प्रेसरकुकर बम राखिएको थियो।
उक्त बम नेपाली सेनाको रणदल गुल्म कुश्मा र नेपाली सेनाको २३ नं बाहिनी बागलुङको टोलीले निष्क्रिय पारेको छ। घर नजिकै रहेको कालीगण्डकी नदीको किनारमा लगेर सो बम निष्क्रिय पारिएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए।
राति राखिएको उक्त बम स्थानीयवासीले बिहान देखेका थिए। गएराति नै कालीगण्डकी क्रसर उद्योगले भाडामा लिएको कुश्मा नगरपालिका–७ शिवबहादुर घर्तीको जेसिबीमा समेत आगजनी गरिएको छ। सहाना निर्माण सेवाको ग१क ३७३६ नं को जेसिबीमा आगजनी भएको प्रहरीले जनाएको छ। गाउँपालिकाका अध्यक्ष मल्ल सो उद्योगका सञ्चालक हुन।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। विशेष कामको शिलशिलामा काठमाण्डौमा रहेका मल्लले आफुलाई कोही कसैले पनि घटनाबारे जानकारी नगराएको बताए ।
Previous Articleआईसीसी विश्वकप छनोट खेलको सर्वोत्कृष्ट सूचीमा पारस
Next Article राष्ट्रपति निर्वाचनको मतगणना सुरु