मुस्ताङ, १५ असोज – बेनी–जोमसोम सडकमा सवारी आवतजावत सहज भएपछि मुस्ताङस्थित मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री बढ्न थालेका छन् । सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा सडक मार्ग भएर मुस्ताङ जाने तीर्थयात्रीको संख्या बढेको हो ।
विगतका वर्षमा सोह्रश्राद्ध सुरु भएको दिनदेखि नै मुस्ताङ जाने तीर्थयात्रीको घुइँचो लाग्ने गरेको थियो । सोह्रश्राद्धमा कागबेनीमा पुगेर पितृलाई पिण्डदान गरेमा पुण्य लाभ हुने धार्मिक विश्वास रहेको छ । बेगखोलामा आएको बाढी र अन्य ठाउँमा खसेको पहिरोका कारण बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन नहुँदा तीर्थयात्रीलाई असुविधा भएको थियो ।
गत हप्ता सबै ठाउँमा सडक मर्मत गरेर साढे दुई महिनापछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन गर्न थालिएको थियो । सडक मार्ग भएर बुधबार अहिलेसम्मकै धेरै तीर्थयात्री मुस्ताङ गएका म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले जानकारी दिए ।
बेनीबाट जोमसोमका लागि १२, पोखरा र बागलुङबाट एकरुएकवटा माइक्रोबस जोमसोमका लागि छुटेका छन् । दैनिक एक सयवटा निजी र पर्यटक गाडी मुस्ताङतर्फ गएका छन् ।
यसअघि बेनी हँुदै मुस्ताङ जाने सार्वजनिक गाडीको संख्या दैनिक १२ वटाको हाराहारीमा थियो । तीर्थयात्री नआउँदा सुनसान भएका होटल बुक हुन थालेका छन् । बेनी बजारका होटल व्यवसायी उत्साहित भएका छन् ।
Previous Articleसञ्जिवनी सहकारीद्वारा साढे २ करोडको लगानी
Next Article सबस्टेशन निर्माण शुरु