बागलुङ, १५ असोज
धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी बागलुङले आर्थिक बर्ष ०७२/७३ को अन्त्यसम्म २ करोड ४० लाख रुपैँया लगानी गरेको छ ।
सहकारीले गत बर्ष २ करोड ४ लाख २० हजार ३ सय ६० रुपैँयाँ आम्दानी र १ करोड ६३ लाख ८३ हजार ७ सय ३३ रुपैँया खर्च गरेको छ । संस्थाले ६ करोड ४३ लाख ७५ हजार बराबरको जग्गा खरिदको प्रस्ताव अगाडी सारेको सचिव रामबहादुर जिसीले जानकारी दिए ।
धौलागिरि अञ्चलबासीलाई स्वास्थ्य सेवा, शिक्षा र चेतनामुलक कार्यक्रममार्फत स्वास्थ्यमा पहुँच वृद्धि गर्ने लक्ष्यका साथ स्थापित सहकारीले सञ्चालन गरेको निलगिरि अस्पतालले विभिन्न भेगमा शिविर सञ्चालन गरी स्वास्थ्य सेवा र चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छभने आगामी दिनमा थप प्रभावकारी ढंगबाट सेवा प्रदान गर्दै जाने जनाएको छ ।
शुक्रबार सहकारीको साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारी नाफामुलक भन्दा सेवामुलक हुनुपर्ने बताए । उनले जिल्लामा फरक–फरक उद्देश्यका सहकारीहरु स्थापना भएपनि बचत तथा ऋणकै कारोबार मात्र गर्ने गरेको भन्दै सहकारीहरु आफ्नो उद्देश्य अनुरुप संचालन हुन जरुरी रहेका बताए ।
साधारण सभामा नेकपा एमाले बागलुङका क्षेत्रीय अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, राप्रपाका शैलेन्द्रकुमार श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला संयोजक ऋषिराम रोका, अखण्ड नेपाल बागलुङका कार्यवाहक अध्यक्ष रुद्र महत, जिल्ला सहकारी संघ म्याग्दीका निर्वतमान अध्यक्ष देउप्रसाद छन्त्याल, बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष युक्तप्रसाद कंडेल, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका सचिव दिल शिरीष, नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य, धौलागिरी अञ्चल अस्पताल विकास समितिका सदस्य हिराबहादुर केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा निलगिरि अस्पतालका मेडिकल डाइरेक्टर डा. गोविन्द जोशी गौतमले सहकारीले संचालन गरेको निलगिरि अस्पतालले गरेको कामहरुको बारेमा जानकारी गराएका थिए ।
साधारणसभाले संस्थाका सचिव राम बहादुर जिसीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक दिपकजंग राजभण्डारीले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित गरेको छ । साधारणसभाको बन्द सत्रले संशोधनको प्रक्रियामा रहेको सहकारी ऐन सहकारी मैत्री बनाउन तथा सेवा क्षेत्रका सहकारीलाई राज्यका तर्फबाट विशेष प्राथमिकतामा राखेर नीति बनाउन माग गरेको सचिव रामबहादुर जिसीले जानकारी दिए ।
साधारणसभा अध्यक्ष राम शर्माको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर कार्कीको स्वागत र संचालन सचिव राम बहादुर जि.सीको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभामा उत्कृष्ट शेयर सदस्य ललिता थापा, उत्कृष्ट कर्मचारीहरु गीता खड्का, धनबहादुर केसी र मनकुमारी रोकालाई पुरस्कृत गरिएको थियो ।
२ जना विशेषज्ञ सहित ५ जना डाक्टर सहित ३८ जनालाई रोजगारी दिएको २४ शैयाको निलगिरि अस्पतालको शैया तथा सेवालाई विस्तार गर्दै जाने संस्थाले जनाएको छ ।