तारानाथ आचार्य
बागलुङ, २८ फागुन– मुआब्जा विवादका कारण रोकिएको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजनाको काम आईतबारदेखी सुचारु भएको छ । आयोजना र प्रभावित क्षेत्रका जग्गाधनीका बीच मुआब्जाका बिषयमा सहमति जुटेपछि काम सुचारु भएको हो । जग्गाधनी खगेश्वर शर्माले अस्वभाविक मुआब्जा मागेको भन्दै निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडले आयोजनाको काम रोकेको थियो । आयोजना र शर्माबीच आईतबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जैमिनी नगरपालिकाको रोहवरमा सहमति भएपछि आयोजनाको काम सुचारु भएको कम्पनीका अध्यक्ष एवम् इन्जिनियर सुर्यप्रसाद अधिकारीले बताए ।
यसअघि बिबादका मिलाउनका लागि गत फागुन ५ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय बैठकले निर्माण गरेको अधिकार सम्पन्न क्षतिपुर्ती मुल्याङ्कन समितीले तयार पारेको प्रतिवेदनका आधारमा सहमति जुटेको सहायक–प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेले बताए ।
आयोजनाको तर्फबाट २ जना र जग्गाधनीको तर्फबाट २ जना गरि ४ जनाको समिति निर्माण भएको थियो । १५ दिनको म्यादसहित प्रतिवेदन तयार पार्ने जिम्मेबारी पाएर काम थालेको समितीले ४ दिन म्याद थपेर गत शनिबार प्रतिवेदन पेश गरेको थियो । समितिको प्रतिबेदनका आधारमा शनिबार साँझ ८ बजेदेखी बसेको सर्वपक्षिय बैठकले आईतबार बिहान १ बजे सहमति गरेको पाण्डेले बताए । ‘शनिबार साँझदेखी बसेको बैठक आईतबार बिहानसम्म बसेर कुरा टुंगो लगायौं’ पाण्डेले भने– ‘दुबै पक्षका बीचमा समितिको प्रतिबेदनका आधारमा काम गर्ने गरी सहमति भएको छ ।’ आयोजना र स्थानिय दुबैको मर्का बुझेर समाधानको बाटो खोज्दा समय लागेको पाण्डेले बताए । ‘आयोजान प्रभावित हुन नदिनु हाम्रो कर्तव्य हो’ उनले भने ‘नागरिकको सम्पत्तीको सुरक्षा गर्नु पनि हाम्रो कर्तव्य भएकाले सहमतिको बाटो खोजिएको हो ।’ सहमती अनुसार आयोजनाले निर्माणका क्रममा भत्केका जग्गाधनीका संरचना निर्माण गर्ने र जग्गाको मुआब्जा ६० लाख रुपैयाँ दिने सम्झौता भएको छ ।
आयोजनाले सिंचाई कुलो मर्मतदेखी खानेपानीको पाईप राख्नेदेखी भत्केका संरचना बनाईदिने र शर्माले आयोजनाको काममा कुनै प्रभाव नपार्ने गरी सहमति भएको क्षतिपुर्ती मुल्याङ्कन समितीका सदस्य बिष्णु आचार्यले बताए । शर्माको २ रोपनी ११ आना जग्गामा पाइपलाइन परेपनि ४ रोपनी जग्गा आयोजनाबाट प्रभावित छ । शुरुमा निर्माण कम्पनी र जग्गाधनीबीच पाखो जग्गा प्रतिरोपनीलाई रु. ४० हजार, बारीलाई रु. ७० हजार र खेतलाई रु. २ लाख ५० हजार मुआब्जा दिने सहमति भएको थियो । सोही सहमति अनुसार अन्य जग्गाधनीलाई मुआब्जा वितरण गरिएको आयोजना व्यवस्थापनको दाबी छ । यता, जग्गाधनी शर्माले भने जग्गाको क्षतिपूर्तिसहित मुआब्जा माग गरेको बताए । विवाद समाधान भएपछि आयोजनाले आफ्ना बाँकी कामलाई तिब्रता दिएको छ । पाइपलाइन जडानको काम केही दिनमा सकिने र दुई साताभित्र मै परिक्षण विद्युत उत्पादन शुरु हुने कम्पनीले जनाएको छ ।
विवादित जग्गामा पाइपलाइन जोड्ने बाहेक आयोजनाको सबै काम पुरा भएको इन्जिनियर अधिकारीले बताए । जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै नियमित विद्युत उत्पादन शुरु गर्ने तयारी प्रभावित बनेको थियो । आयोजना र शर्माबीच सहमति भएपछि अब कुनैपनि खालको अबरोध नहुने जैमिनी नगरपालिकाले जनाएको छ । ‘आयोजनाको बिबाद टुंगिएको छ’ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भने ‘अब आयोजना प्रभावित हुने खालका कुनैपनि बिबाद नआउनेमा विश्वस्त छौं ।’ पौडेलले जग्गाको मुआब्जा सरकारी नियम अनुसारनै निर्धारण भएको र क्षति भएका अन्य संरचनाको मुल्य बढि रहेकाले मोटो रकम मुआब्जाका रुपमा आयोजनाले तिर्नु परेको बताए ।
अन्य जग्गाधनीसँग यो पहिले नै सहमति भएर जग्गा समेत पास भैसकेकाले अब समस्या नरहेको उनको दाबी थियो । बाँधदेखि विद्युत गृहसम्मको २७ सय मिटर पाइपलाइन अन्र्तगत १६ मिटरको विवादित जग्गामा मात्र पाइपलाइन जोड्न बाँकी छ ।
आयोजनाको मुआब्जा विवाद सुल्झियो रोेकिएको काम सुरु
Previous Articleविपन्न बिद्यार्थीहरुलाई दाताको सहयोग
Next Article २८ फागुन २०७४, ढोरपाटन दैनिक