राजेशचन्द्र राजभण्डारी
बिद्यामन्दिर पुस्तकालय बागलुङको संस्थागत विकासको लागि स्थापना भएको अक्षयकोष अहिले १० लाख रूपैयाँ पुगेको छ । २००३ सालमा स्थानीय शिक्षाप्रेमी ओमप्रसाद गौचन र मेघकुमार बैद्यले स्थापना गर्नु भएको नेपाल कै पुरानो इतिहास बोकेको सामुदायिक पुस्तकालय विभिन्न आरोह अबरोहबीच अहिलेसम्म निरन्तर रूपमा संचालन हुँदै आएको छ । हस्त लिखित अखबारबाट शुरूवात गरिएको पुस्तकालय अहिले सूचना र संचारको युगसंगै धेरै कुरा उथलपुथल भएका छन् । अहिले पुस्तकालयसंग १६ हजार भन्दा बढी पुस्तकहरू छन् । पुस्तकालयले बालबालिकाको लागि बाल बिकास केन्द्र २०६५ सालदेखि संचालन गर्दै आएको छ । २ बर्षदेखि बिद्युतिय पुस्तकालय पनि संचालन गर्दै आएपछि पुस्तकालयमा पाठकको संख्या समेत बढेर गएको छ । मुख्य कुरा सामुदायिक पुस्तकालय संचालन गर्ने कुरा त्यति सजिलो अबश्य छैन । अहिले सबैभन्दा ठूलो कुरा पुस्तकालय संचालनको लागि आर्थिक नै प्रमुख कुरा हो । पुस्तकालयको आम्दानीको कुरा गर्ने होभने यसको आम्दानीले १ बर्षमा १५ दिन पनि खर्च धान्दैन । पुस्तकालय सटर भाडा, हल भाडा, टेलिकमको टावर भाडा र विभिन्न सहयोगी दाताको सहयोग कै कारण अहिले पुस्तक संचालन भइरहेको छ ।
बागलुङ नगरपालिकाले गर्दै आएको सहयोग कै कारणले पुस्तकालयले कम्प्युटर खरिद गरेर सेवा दिन सहज भएको हो । पुस्तकालयलाई स्थायी रूपमा संचालन गर्न स्थायी अक्षयकोष स्थापना गर्न शुरूवात गरेपछि हामीसंग शंखधर बहुमुखी सहकारीमा ३ लाख ५० हजार, शुभलाभ सहकारी संस्थामा ५० हजार, मातृभुमी सहकारी संस्थामा ३ लाख भई ७ लाख रूपैयाँ भएकोमा अहिले जनता संचार सहकारीमा ३ लाख मुद्दतीमा जम्मा गरेपछि अहिले पुस्तकालयको अक्षयकोष १० लाख पुगेको छ । हामी २ बर्ष अगाडि घोषणा गरेको कुरा अहिले पूरा गरेका छौ । १० लाखको ब्याजबाट पुस्तकालयमा पुस्तक पत्रिका कम्प्युटर लगायतका सामाग्री थप्न समेत मद्दत पुग्ने छ । हामीलाई सामाजिक संजाल फेसबुक अभियानबाट सहयोग गर्नुहुने सबै पुस्तकालयप्रेमी दाजुभाई दिदीबहिनी सबै सहयोगको लागि धन्यवादका पात्र हुनुहुन्छ । बिद्यामन्दिर पुस्तकालय बागलुङले गरेको गतिविधि स्थानीय, राष्ट्रिय अन्तराष्ट्रिय रूपमा खबर प्रकाशित प्रसारित गरेर सहयोग गर्नुहने सबै पत्रकार मित्रहरू समेत धन्यवादका पात्र हुनुहुन्छ । कसैको पनि दबाब र प्रभावबाट मुक्त रहेको नेपाल कै पुरानो पुस्तकालयलाई अहिले हामीले प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय बनाउन फेरि नयाँ अभियान शुरूवात गर्न गइरहेका छौ । साँच्चै भन्ने हो, गफ गर्न जति सजिलो छ ब्यबहारिक रूपमा त्यसलाई उतार्न भने धेरै गाह्रो पनि छ । अहिले हामीसंग सामुहिकताको भावना, सामाजिक भावना निकै कम हुदै गइरहेको स्पष्ट छ । तर हामी जसले पनि कुरा सिद्धान्तको गर्छाैं तर काम भने त्यो अनुसार गर्न सक्दैनौं । त्यो हुनुको कारण पत्ता लगाउनेतिर लाग्दैनौ अनि हामी आफ्नो लक्ष्यमा पुग्न सक्दैनौं ।
पुस्तकालय मेरो पनि हो, यसमा मेरो पनि लगानी छ, यो सामुदायिक पुस्तकालयलाई मैले पनि सहयोग गर्नुपर्छ भन्ने भावनाको विकासले पनि पुस्तकालय दिगो रूपमा चलिरहेको छ । दबाब र प्रभावबाट मुक्त राख्ने अभियान संस्थापनकालदेखि भएको थियो । जुन अहिलेसम्म पनि जारी छ । साँच्चै भन्ने होभने संघसंस्थालाई दबाब र प्रभाबबाट मुक्त राख्न सक्नुपर्छ । पुस्तकालय जस्तो पबित्र संस्था दबाब र प्रभावबाट मुक्त हुन जरुरी छ । हाम्रो आँखा अगाडि धेरै पुस्तकालय खुले अनि हाम्रो आँखा अगाडि नै बन्द भए । त्यो दबाब र प्रभाव कै कारणले पनि हो भन्ने कुरा स्पष्ट छ । हामीसंग इतिहास बोकेको पुस्तकालय छ भनेर अहिले सबैसंग गौरब गर्न पाइरहेका छौ । त्यो पनि हाम्रो लागि एउटा अबसर हो । जुन अबसर अन्य पुस्तकालयले पाउन सकिरहेको देखिदैन । २०६५ सालदेखि बालबिकास केन्द्र, २०७२ सालदेखि ई–लाइब्रेरी पनि संचालन भइरहेको छ । रत्न श्रेष्ठ पुस्तकालय संगको एकतापछि पुस्तकालयको तेस्रो तलामा रत्न श्रेष्ठ नेपाली बाङ्गमय कक्ष समेत संचालनमा ल्याउने काम भएको छ । यसबाट पनि पुस्तकालयमा आउने पाठकले थप सेवा पाएका छन् । अहिले नियमित रूपमा संचालन भएको ई–लाइब्रेरीमा सामुदायिक बिद्यालय र निजी बिद्यालयमा अध्ययन गर्ने बालबालिकाले कम्प्युटर मै पढ्न र खेल्न पाएकाले पनि यहाँ नियमित रूपमा आउने गरेका छन् । यसले बालबालिकाको पुस्तकालय आउने बानीको बिकास भएको छभने अर्काेतिर पढ्ने र अन्य ज्ञानगुनका पुस्तक पढ्नमा रूची देखिएको छ । हामीले यस पुस्तकालयलाई प्रदेश नम्बर ४ कै नमुना बनाउन अब केही नयाँ सोच र परिवर्तन जरुरी छ । साँच्चै पुस्तकालय भनेको ज्ञानको भण्डार हो । जुन जतिसुकै बेला पनि पाठकले खान चाहन्छन्, त्यो पाउनुपर्ने हुन्छ । अहिले बर्षमा ३६५ दिन हुन्छ । हाम्रो पुस्तकालय पनि सरकारी कार्यालय र स्कुल जस्तो भएको छ । जुन बिदा नहुँदा मात्रै खुल्ने अघिपछि बन्द हुने, यसले गर्दा पनि अझै हामीले पुस्तकालय चलाइरहेका छौ कि स्कुल र सरकारी कार्यालय यो कुरा नै बुझ्न जरुरी छ । साँच्चै हामीले अब ३६५ दिन नै पाठकलाई सेवा दिने अठोट गर्न जरुरी छ । पुस्तकालयमा काम गर्ने ब्यक्ति, कर्मचारी पनि सामाजिक भावनाको हुन जरुरी छ । म सामाजिक हुन्छु भनेर मात्रै हुने कुरा होइन । त्यो त मनदेखि आउनु पर्ने कुरा हो । अरू संघसंस्था र पुस्तकालय धेरै फरक कुरा हो । जबसम्म हामीले बुझ्न सक्दैनौं त्यो बेलासम्म समाधान पनि निस्कदैन । जागिरे मानसिकताबाट पुस्तकालय ३६५ दिन संचालन हुन पनि सक्दैन भन्ने कुरा स्पष्ट छ । अब यसलाई हामीले नयाँ ढंगले चलाउन सकेनौं भने गफ मात्रै हुन जानेछ । सेवा गर्नेलाई समय सुहाउँदो तलब सुबिधा दिने कुरामा पनि हामी पछि हट्नु हुदैन । अहिले स्थानीय तह शक्तिशाली छन् । जनप्रतिनिधि हाम्रो घर दैलोमा आएको बेला हामीले यो सामुदायिक पुस्तकालयलाई संस्थागत ढंगबाट सहयोग लिन सक्नुपर्छ । जनप्रतिनिधिले समाजको सामुदायिक पुस्तकालयलाई नगर परिसरबाटै बजेट बिनियोजन गर्ने ब्यबस्था भए मात्र पुस्तकालय दिगो रूपमा संचालन गर्न सकिन्छ ।
बागलुङबाट प्रदेश नम्बर ४ मा प्रतिनिधित्व गर्नु हुने माननीय सांसद इन्द्रलाल सापकोटाले बागलुङको पहिचान हुने अभियानमा बिद्यामन्दिर पुस्तकालयलाई हामीले प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय बनाउन सहयोग पु¥याउन तयार रहेको धारणा राख्नु भएको थियो । जुन सान्दर्भिक छ । साँच्चै हाम्रो प्रदेश नम्बर ४ मा बागलुङको जत्तिको पुरानो इतिहास बोकेको पुस्तकालय छैन । यसले सबै बिधालाई समेटेको छ । प्रदेश नम्बर ४ मा बागलुङले गौरब गर्न लायक कालिका भगवती मन्दिर, सर्बसिद्वीधाम पन्चकोट र बिद्यामन्दिर पुस्तकालय छ भनेर बागलुङ आउने पर्यटकलाई देखाउन सकिन्छ । बागलुङ जिल्लामा शिक्षाको इतिहास बोकेको हजारौं शिक्षाप्रेमी, समाजसेवी, पत्रकार, वकिल, डाक्टर, इन्जिनियर र प्रशासक यसै पुस्तकालयले तयार गरेको कुरा पनि घामझै छर्लङ्ग छ । जसरी २००३ सालमा परिवर्तनको लागि एकजुट भए अब फेरि इतिहासले त्यो जिम्मेवारी दिन खोजिरहेको छ । त्यसलाई पूरा गर्नेतर्फ लागौ । बिद्यामन्दिर पुस्तकालयलाई प्रदेश नम्बर ४ कै नमुना बनाउने अभियान सहभागी बनौ ।