कृष्णराज शर्मा
आज दशैंको साईत थियो । दशैं जेठान दाज्यूको निवासमा तयार हुँदै थियो । हामी त्यो निवासको खोजीमा लाग्यौं । ठेगाना भएपछि त्यहाँ पुग्न ग्लोबल पोजिसनिङ सिस्टम (न्एक्) अर्थात भूमण्डलीय व्यवस्थापन प्रणालीको माध्यमबाट सहजै पुग्न सकिने रहेछ । गाडीमा पस्यो । जीपीएसमा ठेगाना टाईप गर्यो । सर्च गर्यो । त्यो सानो यन्त्रले ठेगाना मै पीन प्वाईण्ट गर्छ । गाडी स्टार्ट गर्यो । जीपीएसले देखाएको ‘एरो’को पछि–पछि लाग्यो । दायाँबायाँ चिन्तै छैन । बाटो बिराईएला कि पनि छैन । हराइएला पनि छैन । ठ्याक्कै ठाउँ मै पुगियो । सडक जालोले जेलिएको घना शहरी क्षेत्र भएपनि व्यक्तिको घरको दैलोमै पुर्याउने रहेछ । त्यति मात्रै हो र ? बाटो देखाउनुको अलावा बाटोको दूरी र लाग्ने समय पनि त्यो यन्त्रले बतायो । त्यसले नै तोकेको समयमै हामी पुग्यौं । तत्कालै मनमा कुरा उठ्यो, देशैभरी नभए पनि कमसेकम हाम्रो देशको राजधानी काठमाण्डौमा मात्र यो प्रणाली भित्राउने सक्ने हो भने ट्याक्सीले सर्वसाधारणलाई ठग्ने काम त तत्कालै बन्द हुने थियो । भारतको राजधानी नयाँदिल्लीमा पनि यो प्रणाली लागु गरिएको रहेछ । ‘सिस्टम’ नबसेको ठाउँमा यो सिस्टम अति नै लोककल्याणकारी सावित हुने थियो । राज्यशक्तिको ईच्छा शक्तिले काम गर्ने होभने नेपाल अमेरिका हुनै पर्दैनथ्यो यति काम गर्न । नेपालको आफ्नै अर्थतन्त्रको सानो अँश चुँडेर गर्न सकिन्छ । हेरौं, नवगठित ओली सरकारले भ्रष्टाचारको जरै उखेल्छु भन्छ । भ्रष्टाचार रोक्दै यो कल्याणकारी काम पनि गर्छ कि, आशा गर्न मन लागेको छ । यहि जीपीएसको माध्यमबाट कति सजिलै ढुक्कसंग दैलोमै पुगेर ढोका ढक्ढकायौं । भित्रबाट नारायण दाज्यू सहितका परिवारका सदस्य ढोकामै उभिनु भएको । सबैलाई सरप्राईज दियौं । जमिनमाथीबाट जमीनमूनी पुगेर बागलुङको मुलपानी भेट्न पुग्दा आश्चर्य नहोस् पनि कसरी ! एकापसमा आश्चर्यमा पर्यौं । ओ हो, यो क्षण कसरी बर्णन गरौं ? कस्तो आत्मियता ? कस्तो मायाँ ? लामो समय पछि र त्यो भूगोलमा भेट्दा हर्षाशु रसाए । अत्यन्त भावविभोर भएँ । बेलुका कोठामा दिनभरको घुमघामका समिक्षा गर्दा जीवन संगीनी भगवतीले भन्दै थिईन् दाज्यूसंग भेट्दा मेरा त आँशु नै आए ! उनलाई जस्तो अनुभुति मलाई पनि भएको थियो । उनको जस्तो जस्तो कोमल मन मेरो चेहरामा प्रकट हुन नपाएको न हो ! हुँदो रहेछ त्यस्तो, पुरूष मनमा पनि । यति लामो समयको अन्तरालमा आफन्त भेट्दा जस्तै पत्थरको मन पनि रसाउँछ होला । यस्ता क्षणहरू अन्तरहृदयले पचाउन सक्दैन, आँखाबाट स्वतः छचल्किन्छन् । यस्तो भेट्मा बोल्दाबोल्दै पनि निःशव्द हुँदो रहेछ मान्छे ! व्यक्त भन्दा अव्यक्त बोली धेरै बोलिने रहेछ । धेरै पढिने रहेछ । बोलीमा भन्दा अव्यक्ततामा धेरै भलाकुसारी गर्यौं ।
हामी निवास भित्र पस्दै थियौं । के गर्ने, कसो गर्ने अलमल्लमा अंकमाल गर्यौं । यति भएर पनि न्यानो कोठाको बाताबरणमा भलाकुसारी गर्यौं । उपस्थित सातैजनाले एकापसमा कुरा गर्दै गर्दा टीकाको साईतै पो घर्किनै थालेछ । नेपालको टीकाको साईत अमेरिकामा के मिल्थ्यो र ! तैपनि उही सूर्य र उही पृथ्वी मानेर नेपाली समय अनुसार साईत छोप्यौं । टिका थाप्यौं । तत्पश्चात खानपिन पछि हामी दशैंका फुर्सदिला बन्यौं । रमाईला बन्यौं । साथसाथै आज सबै संगै क्यालिफोर्नियाको शहर घुम्ने निर्णयमा पुग्यौं । आजैका दिन लासभेगास जाने पनि भनियो तर व्यवस्थापनमा हाम्रै ढिलाई भयो । आज त्यता नगै त्यहीं घुम्ने भयौं । छोटो दुरीमै सामुन्द्रिक किनारा भेट्न सकिने भएकाले समुन्द्रि तट ( ज्यलतष्लनतयल द्यभबअज) हण्टिङटन वीचतर्फ लाग्यौं । तटमा पुग्दा गाडी र मान्छेको भीड बराबरी रहेछ । निक्कैबेर हाम्रा दुईटै गाडी पार्किङ गर्ने स्थानको खोजीमा बित्यो । संभवै भएन । सडक किनारमा गाडी स्टार्टमै राखेर हजारौं मान्छेहरू नीलो सफा आकाशमा हेरिरहेका थिए । समुन्द्रिक किनारमा भित्रिबस्त्र मात्र लगाएर बृद्धबृद्धा तरूनी तन्नेरी तथा बालबालिकाहरू आकाशमा अमेरिकी सेनाका युद्धक विमानले देखाउँदै गरेको चमत्कारीक उडानमा रमाई रहेका थिए । सपरिवारको भ्रमणले गर्दा मान्छे कति स्वच्छन्दतामा जीवन जीउन चाहन्छन् भन्ने बुझ्न त्यो अर्धनग्नता भित्र पसेर बुझ्न संभव भएन । हामी पनि अरूको सिको गर्दै सडकमै गाडी स्टार्टमै राखेर त्यो दृश्य देखेर हराउन थाल्यौं । विभिन्न आकार प्रकारमा ति विमानको पंक्ति देखा पथ्र्यो । निमेष भरमै बिलाउंथ्यो । त्यो देखेर लाग्थ्यो, ओहो ! कहाँ पुगिसकेछ विज्ञानको चमत्कार ! आवाज भन्दा तिब्रगतिको उडान त्यति नजिकबाट पहिलोपटक देख्दै थियौं । चालकरहित विमान होलान कि चालक सहितका, ति विमान होलान ! हामीले अनुमान नै गर्न सकेनौं । आश्चर्यचकित भयौं । अग्ला भवनतर्फ पनि ति मोडिन्थे । अग्ला भवनमा धेरै पटक ठोक्किए भन्ने लाग्थ्यो । हामीलाई लागेको त केवल भ्रम रहेछ । तटमा रहेका मान्छेका टाउकामा पनि ति विमानले छोईछोई सम्म गर्थे तर छुन्नथे । विमानका आवाज पनि कानका जालीनै फुट्ने थिए । जतिहेरे पनि धीत नमर्ने ओहो ! त्यो कस्तो कला हो । हामी हेरेको हेरेई भयौं । तर यौटा तर्सो पनि मनको कुनामा लुकेकै थियो । दशक भन्दा पहिले नेपालमा हुँदै फ्रान्सले यस्तै युद्धक विमानको कला प्रश्तुत गर्दा एउटा विमान दर्शकको बिचमा खसेर ठूलै दुर्घटनाको समाचार टिभीमा हेरेको याद आईरहेको थियो । मनमनले भन्थें– कतै त्यस्तै त हुन्न हँ ! मनमा त्यस्ता तर्कना खेले पनि त्यो होनहार दृश्यले अतिनै रमाईलो बनाएर छोड्यो । यसैबीच, सडक नै जाम भएको थाहा पाएर प्रहरी स–शरीर देखा पर्यो । प्रहरी नै देखा नपर्ने सिस्टम भएको देशमा प्रहरी देखापर्यो । प्रहरीको उपस्थितिको सुईंको पाउना साथ काले गोरे दुब्ला मोटा सबै नियम कानूनको डरले हक्कानिएर गाडी दौडाउन थाले । हामी पनि भाग्यौं । खोलो होस या ठूलो नदी पानी बगेपछि तलाउमा परिणत हुनै पाउँदैन । त्यस्तै पो भयो त्यहाँ । क्षणभरमा बाटोका किनारमा तैरिएका गाडी बग्न थाले । सबै अबरोध हट्यो । हामीकहाँ काठमाण्डौमा त्यसरी नै गाडी अगाडी बढी नै रहे कहिल्यै ट्राफिक जाम नहुँदो हो’नि भन्ने लाग्यो । बर्दीको प्रहरी कानून हो त्यहाँ । कानुनको सानो त्यान्द्रो देख्दा पनि त्यसरी थरथर हुन्छन् मान्छेहरू । त्यस्तो पो कानूनी राज्य ! अमेरिकामा जस्तो प्रजातन्त्र, स्वतन्तरता र मानवअधिकार विश्वमै कतै छैन भनिन्छ । तर त्यहींका मान्छे कानून भनेपछि सात्तो जान्छ । हामी नेपाली भने सडक कानूनसँग जोरी खोज्थ्यौं । उस्तै परे भिड्थ्यौं । यद्दपि त्यस्तै छ । हामीले प्रजातन्त्र मासेर लोकतन्त्र, लोकतन्त्र मासेर गणतन्त्र भन्ने ‘जात’ ल्याउँदा पनि कानूनलाई कसरी मिच्ने र देश कसरी कोपरेर खाने भन्दा अरू चिन्तै छैन । हामीकहाँ गृहमन्त्री खडा भएपनि कसैले टेरपुच्छर लाग्दैन । मन्त्रीहरूले नै कानुनको पालना गर्दैनन् । जनताले किन गरून् ? ठूलाबडालाई चैन सानालाई ऐन भन्ने उखान मेट्नै सकेनौं । अदालतको आदेशमा एउटै देशको आरोपी नागरिक कारागार पुग्छ । त्यही अदालतको आदेशमा अर्को आरोपी अदालतको कानून बनाउने ठाउँमा गजधम्म बस्छ । अनि त्यस्ता देशको कानून देखि मान्छे कहिल्यै डराउँछ ? अनि त्यो देश उँभो लाग्छ ? तर अमेरिकामा यस्ता प्रश्न कसैले सोध्यो भने त्यो सोध्नेलाई नै जँगली असभ्य भनेर घृणा गर्छन् । किनकि कानूनको दृष्टिमा त्याहाँ सबै समान छन् । कानूनको नजरले भेद देख्दैन रहेछ अमेरिकामा । राष्ट्रपति र सर्वसाधारणलाई कानूनको नजर रत्ती डगमगाउन्न । चाहे संसारको शक्तिशाली आफ्नो राष्ट्रपति होस् वा श्रमजीवी सर्वसाधारण जनता कानून बराबर लागू हुन्छ । त्यो देशको नियम कानूनको पालना परिपालना देखेर ¥याल आउँछ मुखमा । यात्राको क्रममा जे देखेपनि भोगेपनि भोगाईको तत्काल तुलना गर्न मनलाग्छ । यो मन त्यहाँको देखेर कति छिटो नेपालको तुलना गर्न काठमाण्डौ पुगेर अमेरिका फर्कँदो हो ! यो मन देखेर पनि अचम्म लाग्छ ! संसारमा सबभन्दा तिब्रबेगमा दौडिने यही मन त रहेछ !
तर म मेरो गतिमै फेरी आएँ । यो अमेरिकी सेनाको वायुसैनिक विमानको अभ्यास रहेछ । यस्तो हुँदैछ भन्ने थाहा भएर त हामी पुगेका थिएनौं । तर यस्तो दृश्य साक्षात् देख्न पाउँदा अचम्भित् बन्यौं । उत्तर कोरियासंगको अमेरिकी चीसो सम्बन्ध चरमउत्कर्षमा पुगेको समयको यो अभ्यासले युद्धकै तयारी हो कि जस्तो भान पनि गरायो । अमेरिकी साम्राज्यवादको कटु आलोचकहरू पनि अमेरिकाको बलियो शक्तिका कारण विश्वका कैयौं नीर्धा देशहरूको संरक्षण भएको कुरा पनि त्यहाँ आयो । यो अभ्यासले अमेरिकी सेनाको अगाडी उत्तर कोरियाले निहुँ खोज्नु आँफै खरानी हुनु सरह भएको पनि अनुमान गर्न सकिन्थ्यो । यदी उत्तरकोरियाको पक्षमा अन्य शक्तिराष्ट्रको हात नहुँदो हो भने अमेरिका उहिल्यै जाई लाग्थ्यो होला । त्यस्तै लाग्थ्यो, क्यालिफोर्नियाको ‘हण्टिङटन बीच’को आकाशमा अमेरिकी युद्धक विमानको सैन्य कलाको भुनभुनाहट् देख्दा । मलाई पनि अमेरिकी वायुसेनाको यो अभ्यास देख्दा उत्तरकोरीयाली परमाणु ताकतको पनि याद दिलायो । यसपछि हामी अर्को समुन्द्रि तट (ीबनगलब द्यभबअज) लघुना बीच् तर्फ लाग्यौं । समुन्द्रि किनारको सडक सरसफाई देखेर कतै थुक्न पनि सकिंदैन । पोखराको लेक साइडको झल्को दिन्थ्यो ठाउँको अवस्थिति हेर्दा । उत्तरतिर साना पहाडका ढिस्कामा रहेका घरहरू । तल समुन्द्र छेउमा रहेका दोकानी घर । जताततै हरियाली । कताबाट देखापरे दर्जनौं प्याराग्लाईडिङका लस्कर भेउ नै पाईएन । समुन्द्रमा स–साना स्टिमर बेजोडले दौडेका । बालुवाको रासमा फुटबल र भलिबलको खेल खेलिरहेका । यहाँपनि सबै अर्धनग्न शरीर । छोप्नु पर्ने सबै छोपेका अरू नाङ्गो शरिर । हेरिरहुँ जस्तो पनि भा’छ, मुण्टो फर्काउनु पर्ने बाध्यता पनि छ । कस्तो नमिलेको हाम्रो भ्रमण दल ! यस्तो भ्रमण दलमा निर्दल जत्तिको रमाईलो बहुदल नहुने रहेछ भन्ने ज्ञान पनि पस्यो । तैपनि कर्के नजर गए उतै । मनमनै सोचें, जाने नजरलाई किन रोक्नु ? नजर उतै पठाएर नजिकैको मन्दिरतिर हाम्रो भ्रमण दल हिंड्यो ।
यहीं नजिकै यौटा हिन्दु मन्दिर रहेछ । भजनकीर्तन दैनिक जसो हुँदो रहेछ । अर्थात, अक्षता टीका फूलपाती नहुने रहेछ, हरेकृष्ण, राधे–राधे जस्तो ! दुई चार डलर चढ्ने पनि रहेछ । तर त्यो मन्दिर स हो जस्तै लागेन । मलाई मन्दिर भनेपछि प्यागोडा शैलीको हुनैपर्छ । नत्र त्यो मन्दिर हो भन्नै मन लाग्दैन । काठमाण्डौको पशुपतिनाथको मन्दिर पो मन्दिर । बागलुङको कालिका भगवतीको मन्दिर पो मन्दिर । आजकल हिन्दुधर्मका विभिन्न ‘मार्गी’हरूले अरूनै आकार लाद्न थालेको देख्दा मेरो मन रून्छ । यस्ता आकृतिका मन्दिरमा साक्षात् देवदेवीको बास हुन्छ जस्तै लाग्दैन । तैपनि हाम्रै देवीदेवताका प्रतिमूर्ती र फोटोहरू सजाईएर रहेकोले मन्दिर भैदिन्छ । त्यही हो त्यो मन्दिर । देवताको घर भनेकै मन्दिर मान्ने आधारमा त्यो मन्दिर हो रहेछ । त्यही मन्दिरको प्राङ्गणका बेञ्चमा केहीबेरको विश्रामपछि क्यालिफोर्नियाकै विश्व प्रसिद्ध चलचित्र उद्योग हलिउड तर्फ लाग्यौं । क्रमश….