बागलुङ, २७ फागुन– सदरमुकाम बागलुङ बजारमा आगामी चैत्र पहिलो साता सर्वाधिक पुरस्कार राशिको टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला–२०७४ मुल आयोजक समितिको संयुक्त आयोजनामा आगामी चैत्र ४ देखि ११ गतेसम्म पाँचौ धौलागिरी कप तथा चैत्राष्ट्रमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको हो । आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता र यसको तयारीका बारेमा जानकारी गराएको छ ।
बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिता खुल्ला भएकाले राष्ट्रिय खेलाडीको समेत सहभागिता रहने बागलुङ क्रिकेट क्लबका अध्यक्ष सन्दिप पन्तले बताए । ‘क्रिकेट खेलाडीको पहिचान, बिभिन्न जिल्लाका खेलाडीहरु बीच खेल कौशल आदानप्रदान गरेर प्रादेशिक र राष्ट्रिय स्तरसम्म यहाँका खेलाडीहरुलाई पु¥याउने बातावरणका लागि क्षेत्रीय स्तरमै सर्वाधिक पुरस्कार सहित प्रतियोगिता गरिएको हो’ –अध्यक्ष सन्दिप पन्तले भने । प्रतियोगिताको विजेता समूहले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छभने उपविजेता हुने समूहले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा बिभिन्न जिल्लाका १२ भन्दा बढी समूहको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । उनका अनुसार, प्रतियोगिताको म्यान अफ दि सिरिजले १० हजार, बेष्ट व्याट्सम्यान र वेष्ट बलरले जनहि ५–५ हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता संचालनका लागि ६ लाखभन्दा बढी खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । उक्त खर्च जुटाउनका लागि देश बिदेशमा आर्थिक अभियान सञ्चालन गरिएको र प्रायोजक तथा सहयोग उत्साहवद्र्धक रुपमा भइरहेको क्लबका सचिव खड्काले बताए । कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले प्रतियोगिताले जिल्लाको क्रिकेट विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताए । ‘जिल्लाका खेलाडीले राष्ट्रिय अन्र्तराष्ट्रिय खेल हेरेर आफ्नो खेल कौशल र क्षमता देखाइरहेका छन्,’ उनले भने, ‘जिल्लामा हुने प्रतियोगिता हेरेर र यसको माहोलले गाउँ–गाउँमा पनि क्रिकेट खेल प्रतिको आकर्षण अभिवृद्धिमा समेत टेवा पुग्नेछ ।’ कार्यक्रम क्रिकेट क्लबका अध्यक्ष सन्दिप पन्तको अध्यक्षता र सञ्चालन फणिन्द्र खड्काले गरेका थिए ।