अमेरिकी गायिका टेलर स्विफ्ट र बेलायती मोडल जो एल्वेन आफूहरूको प्रेमलाई खुलेआम हुन दिँदैनन् । तर, यिनको निजी जीवन कहिलेकाहीँ प्रकट भैजान्छ । पछिल्लो समय उनीहरू आफैं पनि खुकुलो बन्दै गएका छन् । केही दिनअघि यो जोडी क्यालिफोर्नियाको मलिबुमा हाइकिङ गएको रहेछ, त्यहाँ यिनको पिछा गर्दै पापाराजीहरू पुगेछन् । तिनले तस्बिर लिएको देखेर पनि टेलरले अघिपछि झैं अनुहार लुकाउने गरिनन् ।
तस्बिरमा उनीहरू एकअर्काको हात समातेर हिँडेको देखिन्छ । थकित मुद्राकी टेलर एल्वेनको काँधमा सुस्ताएकी छन् । यसबाट यिनको प्रेम प्रगाढ बन्दै गएको विश्लेषण गरिएको छ । उनीहरू ‘ओपन’ हुनुलाई बिहेसँग पनि जोडिएको छ । कतिपय विदेशी पत्रिकाले चाहिँ टेलर र जोको सम्बन्धलाई टेलरका पूर्व प्रेमीसँगको अफेयरसँग तुलना गरेका छन् । सन् २०१२ मा उनी यस्तै पाराले ह्यारी स्टायलसँग डेटमा गएका बेला पापाराजीको फन्दामा परेकी थिइन् ।
त्यो बेला दुवैले आफूहरूको सम्बन्ध हल्ला मात्रै भएको बताएका थिए । हयारीभन्दा अल्वेनसँग टेलर बढी घनिष्ठ देखिएको एल्ली डटकममा उल्लेख छ । नब्बे मिनेटको यात्रामा टेलर र अल्वेनको अघिपछि बडिगार्ड थिए । उनीहरू दुई आफूहरूकै बारेमा कुरा गर्दै हिँडेको बताइन्छ । ‘उनीहरू गम्भीर छन् क्यारे’, एल्लीमा लेखिएको छ, ‘यिनलाई यति खुसी देख्नु रमाइलै कुरा हो ।’