प्रताप बानियाँ
म्याग्दी, २६ फागुन – नजिकै म्याग्दीखोला । सडक छेउछाउमा केही सानो बस्ती । त्यही आसपासमा एउटा कटेज । कटेज अगाडि माछापोखरी । बिहान उठेदेखि राति साँझसम्म कटेजकै काममा व्यस्त हुनुपर्ने । कटेजको सरसफाइदेखि खानाका परिकारको तयारी । ग्राहकको फोन सम्पर्क अनुसार विभिन्न खानाका आइटमको तयारी, कटेजमा आउने ग्राहकको स्वागत सत्कारसँगै खानपानको व्यवस्थापन । दिनहुँ कटेज र पाहुनाका लागि व्यस्त छन केडि कटेज सञ्चालक । उनलाई अहिले कटेजको काम र खानाका परिकार बनाउन भ्याइनभ्याई छ ।
पश्चिम म्याग्दीको मंगला गाउँपालिका-२, सिमलचौरका युवा अशोक शर्माले २०७२ साल वैशाख १२ र २९ गते देशमा आएको विनाशकारी भूकम्पपछि गाउँ फर्केर कटेज स्थापना गरी सञ्चालन गरेका छन । भूकम्पले काठमाडौंको कोटेश्वरमा रहेको आफ्नो साढे २ तलाको घर भत्काएपछि उनले गाउँ फर्किएर व्यवसाय सुरु गरेका हुन ।
उनले सिमलचौरमा रहेको तीन रोपनी जग्गामा माछापोखरी र कटेज निर्माण गरेर व्यवसाय सुरु गरेका हुन । हरेक क्षेत्रमा व्यावसायिकता खोज्ने शर्माले आफू कृषि परिवेशमा जन्मिएर हुर्किएको हुँदा त्यसै क्षेत्रबाट पर्यटनमा प्रवेश गरेको वताए । कृषिको प्रयोग गरेरै पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्नका लागि आफू यस क्षेत्रमा लागेको उनको भनाई छ ।
सुरुमा १५ लाख रुपैयाँको लगानीबाट सुरु भएको कटेजमा अहिले ५० लाख लगानी पुगेको सञ्चालक शर्माले वताए । होमस्टेमा आधारित शर्माको कटेजमा एक रातमा १० जनाको घरबास बस्न सकिन्छ भने बर्ड–थे र कुनै विशेष पार्टी वा कार्यक्रमका लागि ५० जना जति अट्न सक्ने ठाउँ रहेको छ ।
विशेष गरी प्राकृतिक उपचारको स्थल बनेको तातोपानी कुण्ड र पर्यटकीय क्षेत्र टोड्केमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य शर्माको रहेको छ । कटेजमार्फत टोड्केका लागि ग्राहकको चाहना अनुसार टोड्के जोन प्याकेजको व्यवस्था गरिएको छ । व्यवस्थापन विषयमा स्नातकोत्तर र समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक गर्नुभएका शर्माले म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न आफूले होमस्टे सञ्चालन गरेको जानकारी दिए ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गैरहेको केडी कटेजका प्रोप्राइटर समेत रहेका अशोक शर्माले वताए । कटेजमा कतिपय पर्यटकहरु घुम्दै आउने गरेको र कोही आउनुभन्दा पूर्व नै टेलिफोन सम्पर्क गरेर आउने गरेका छन् । प्रायः एकपटक आउने ग्राहकहरु अर्को पटक पनि आउने गरेको गरेका छन् । कटेजप्रति ग्राहक र पाहुनाको आकर्षण बढ्दै जान थालेको अनुभव छ ।
तीनओटा पोखरीमा माछापालन
शर्माले कटेजकै छेउछाउमा ६० फिट लम्बाई र ३० फिट चौडाइको तीनओटा पोखरी निर्माण गरेर माछापालन गरेका छन । पाहुनालाई आर्गनिक परिकार खुवाउने उद्देश्यसहित पोखरीमा कमन र ग्रासकार्प जातको माछापालन छ । पोखरीको माछासँगै म्याग्दीखोलाको असला माछा पनि खुवाउने गरेका छन । रेन्बो ट्राउटलगायत जातका अन्य ठाउँबाट माछा खरिद गरेर ग्राहक तथा पाहुनलाई आर्गनिक परिकार खुवाउने गरेको केडि कटेजका सञ्चालक शर्माले वताए ।
शर्माको कटेजमा सिमलचौर तथा बाबियाचौर क्षेत्रमा उत्पादन हुँदै आएको जेठोबुढो र गौरिया धानको लोकल चामलको भातले पाहुनालाई लोभ्याउँछ । यसका साथै फापर तथा कोदोको ढिँडो र गुन्द्रुकको समेत स्वाद लिन कटेजमा थुप्रै ग्राहकहरु आउने गर्छन् । उमेरले ३० वर्षमा रहेका शर्माले कटेजमा ४ जनालाई रोजगारी दिएका छन । एकजना व्यवस्थापक, एक कुकमेन र दुई जनालाई पार्टटाइमका रुपमा रोजगारी दिएको सञ्चालक शर्माले वताए ।
वर्षमा १२ लाख आम्दानी
केडी कटेजका सञ्चालक शर्माले होमस्टे सञ्चालनबाट मासिक रुपमा तीनदेखि पाँचलाख रुपैयाँसम्म आम्दानी गर्छन। सबै खर्च कटाएर महिनामै एक लाख रुपैयाँभन्दा बढी बचत गर्छन। विदेशमा भन्दा राम्रो कमाइ आफ्नै देशमा भएकाले आफू होमस्टेबाट सन्तुष्ट रहेको शर्माको भनाई छ । होमस्टे सञ्चालन गरेर पर्यटन क्षेत्रको विकास गर्ने र पर्यटकको आकर्षण बढाउन सकिने शर्मा वताउछन। केडी ग्रुप अन्तर्गत शर्माको केडी फाउण्डेशन नेपाल र केडी इन्टरटेनमेन्ट प्रा.लि. पनि रहेको छ ।
राजधानी छोडेर गाउँ पसेका शर्माको आम्दानी १२ लाख !
Previous Articleतेल चोर्न नमिल्नेगरी यसरी लगाइँदैछ ट्याकंरमा ताला
Next Article प्रेमको नशा – ‘कैली’ उपन्यासको अंश