तारानाथ आचार्य
बागलुङ, २५ फागुन – गत बुधबार बलेवा बिमानस्थल सञ्चालन गर्न एयरलायन्स कम्पनीहरुसँग सम्झौता गरेको बागलुङ नगरपालिकाले शुक्रबार अर्को महत्वपुर्ण सम्झौता गरेको छ । बागलुङ बसपार्क निर्माणका लागि आवश्यक रकमको जोहो गर्न नगरपालिकाले नगरबिकास कोषसँग ऋण सम्झौता गरेको हो । शुक्रबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र नगरविकास कोषका कार्यकारी निर्देशक मनिराम सिंह महतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
साढे १७ रोपनी जमिनमा निर्माण हुने सुबिधा सम्पन्न बसपार्कका लागि केही अनुदान र केही ऋण सहयोग उपलव्ध गराउने गरी सम्झौता भएको नगर प्रमुख पौडेलले बताए । कुल दश करोड ४६ लाख ८७ हजार ५ सय रुपैयाँको लागतमा निर्माण हुने बसपार्कका लागि नगरविकास कोषले ९ करोड ४ लाख ३९ हजार २ सय ९० रुपैयाँ ऋण सहयोग उपलव्ध गराउने र नेपाल सरकारको तर्फबाट ७५ लाख ३६ हजार ६ सय ७ रुपैया ऋण तथा नगरपालिकाको समपुरक कोष बापतको रकम २५ लाख १२ हजार २ सय २ रुपैया हुने गरी सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै, बस पार्क निर्माणको लागि के.एफ.डब्लुले १० लाख, नेपाल सरकारले १८ लाख ८९ हजार ७ सय ३० रुपैयाँ उपलव्ध गराउने सहमति भएको छभने नगरपालिकाको समपुरक कोष बापतको रकम १३ लाख ९ हजार ६ सय ७० रुपैयाँ हुने गरी सम्झौता गरिएको पौडेलले बताए । नगरपालिकाले ऋण रकम १० करोड ४ लाख ८८ हजार १ सय रुपैयाँ लिने भएको छभने अनुदानबापत ४१ लाख ९९ हजार ४ सय रुपैयाँ प्राप्त गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले बताए । ऋण बापत लिएको करमको सरल ऋण लगानी बापत बार्षिक ५.५ प्रतिशत व्याजमा २ बर्षको ग्रेस अवधिसहित २० बर्ष भित्र भुक्तानी गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार नगरपालिकाले उपलव्ध गराउनु पर्ने समपुरक कोष बापतको रकम आफैले उपलव्ध गराउनु पर्ने सम्झौतामा उल्लेख छ ।
कुनै कारणबस आयोजनाको स्वीकृत लागत बढ्न गएमा नपुग रकम समेत नगरपालिका आफैले ब्यहोर्ने गरी सम्झौता भएको प्रमुख पौडेलले जानकारी दिए । बसपार्क निर्माणको लागि ऋण तथा अनुदान सम्झौता भैसकेकाले अब छिट्टै निर्माणको प्रक्रिया अगाडि बढ्ने नगरपालिकाले जनाएको छ । ‘एक महिनाभित्रै टेण्डर प्रकृयामार्फत निर्माणको जिम्ममा दिन्छौं’ नगरप्रुख पौडेलले भने ‘टेण्डर भएको एक बर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।’ आधुनिक बर्षपार्क निर्माण भएपछि कम्तीमा ६० वटा स्थिर बसहरु पार्किङ गर्न सकिने र साना सवारी साधानको लागि समेत सहज पार्किङको व्यवस्था हुने पौडेलले बताए ।
बागलुङमा निर्माणधिन मध्यपहाडी लोकमार्गको लागि समेत बसपार्क निर्माणले महत्वपुर्ण योगदान गर्ने उनको भनाई थियो । ‘लोकमार्गमा गुड्ने गाडीहरुलाई समेत पार्किङ गर्ने स्थान उपलव्ध गराउने वातावरण बन्छ’ उनले भने ‘लोकमार्ग निर्माणको कामलाई गति दिन बसपार्क निर्माणले थप दबाव सिर्जना गर्ने छ । छानोसहति सबै सुबिधा रहने गरी बन्न लागेको बसपार्क आगामी आर्थिक बर्षको अन्त सम्ममा निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाउने पौडेलले बताए ।