बागलुङ, २३ फागुन– शिक्षक दरबन्दी मिलानको चर्चा चलिरहेको बेला बागलुङका निमावि र मावि तहमा अझै धेरै शिक्षक आवस्यकता देखिएको छ । प्राथमिकत तहमा केही बढी संख्यामा रहेका शिक्षकलाई दरबन्दी मिलानमा मिलाउन सकिएपनि मावि तह सम्मको कक्षा संचालन हुन झण्डै ५ सय शिक्षक चाहिने भएको हो । कक्षा १ देखि ५ सम्म संचालित विद्यालयमा न्युनतम ३ जना, कक्षा ६ देखि ८ संचालन भएकोमा ४ जना र ८ देखि १० संचालन भएकोमा ५ जना शिक्षक दरबन्दी पु¥याउन उक्त संख्या कम भएको हो ।
जिल्ला शिक्षाको अधिकार स्थानीय तहमा पु¥याउनका लागि गरिएको गृहकार्यको क्रममा यो तथ्यांक सार्वजनिक भएको हो । दरबन्दी अभावमा गुणस्तर वृद्धिभन्दा काम चलाउ रुपमा पढाई संचालन भैरहेको सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले बताए । ‘अधिकांस विद्यालयले निजी शिक्षक राखेर पढाएका छन्, दरबन्दी दिन सकिएको छैन’ उपाध्यायले भने, ‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न पहिला सबै शिक्षक पुरा गर्न सक्नुपर्छ ।’ अभिभावकको चन्दाको भरमा चलेका विद्यालयलाई तोकिएका सबै जिम्मेवारी पुरा गर्न दवाव दिन नसकिएको उनले बताए ।
दरबन्दी अभाव हुनेमा बढी निसीखोला, तमानखोला लगायतका ग्रामीण गाउँपालिका र सदरमुकाम रहेको बागलुङ नगरपालिका समेत छ । प्राथमिक तहमा ४५ जना विद्यार्थी बराबर एक जना शिक्षक दिने व्यवस्था अनुसार १ सय २६ शिक्षक बढी छन् । आधारभूत र मावि तहमा भने ६ सय शिक्षक अभाव भएको हो । भौगोलिक कठिनाइ, बसाइसराइ र बैदेशिक रोजगारीले शिक्षक अनुपातमा असर पर्दै गएको भेटिएको हो । भौगोलिक कठिनाईले २० जनाभन्दा धेरै विद्यार्थी भएका स्थानमा विद्यालय र दरवन्दी दिन बाध्य भएको उनले बताए ।
निमावि र मावि तहमा भने आबस्यक शिक्षक पाउनै नसकिने तथा स्वीकृत दरबन्दी नहुनुले पढाईको गुणस्तरमा असर परेको हो । सरकारी मापदण्डमा माविमा ३० जना विद्यार्थीका लागि एक शिक्षक राख्ने भनिएपनि बिषयगत शिक्षकको अभाव छ । ‘जिल्लामा अधिकांस विद्यालयमा गणित, बिज्ञान र अंग्रेजीका शिक्षकको समस्या छ’ शाखा अधिकृत सरितादेवी शर्माले भनिन्, ‘संख्या बढाउनेसँगै विषयगत शिक्षक उत्पादनमा बढी जोड दिनुपर्ने आवस्यकता छ ।’ ती मध्ये विज्ञान र गणितका शिक्षक धेरै अभाव भएको उनले बताईन् ।
ग्रामीण तहका अधिकांस विद्यालयमा विज्ञान र गणित शिक्षक नहुँदा परिक्षाफल घट्दो दरमा छ । दुर्गमका निसी, बोवाङ र बोहोरागाउँ जस्ता बस्तीमा अहिले पनि एक शिक्षकले ८० जनासम्म विद्यार्थी अनुपातमा पढाइ रहेका छन् । मावि तहको दरबन्दी अभावमा प्राथमिक तहका शिक्षकले उपल्लो कक्षाको बिज्ञान, गणित र अंग्रेजी पढाएको भेटिएको हो । सदरमुकाम र शहरउन्मुख क्षेत्रका विद्यालयमा अनुपातभन्दा धेरै विद्यार्थी छन् । सामुदायिकतर्फ ८७ हजार दुइसय ४९ विद्यार्थीमा दुई हजार पाँच सय ६६ शिक्षक कार्यरत छन् । जुन ३५ विद्यार्थी बराबर एक शिक्षक अनुपात पर्छ । बालविकास केन्द्रमा भने नौ हजार नौसय ९१ विद्यार्थीका लागि तीन सय ७३ सहजकर्ता छन् । उमावितर्फ ६ हजार ६ सय ५५ विद्यार्थीका लागि जम्मा ६१ जना मात्र शिक्षक छन् । जुन एक सय १० विद्यार्थी बराबर एक शिक्षक पर्छन् ।
Previous Articleभू.पू.सैनिक बहुउद्देश्यीय सहकारी संस्थामा ऐन सचेतना
Next Article २३ फागुन २०७४, ढोरपाटन दैनिक