सर्वसाधारणले प्रयोग गर्ने उपभोग्य बस्तुहरु सडेगलेका बिक्री बितरण गर्ने गरेको भन्दै आईतबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भयो । राष्ट्रिय उपभोक्ता मञ्चले केही व्यक्तिले कालिका सपिङ सेन्टरबाट पापड किनेर खाँदा बिरामी भएको भन्दै सडेगलेका बस्तु बेचेको दाबी गर्दै उजुरी दर्ता गराएको हो । कालिका सपिङले वास्तविक म्याद नाघेका वा सडेगलेका सामग्रीको बिक्री बितरण गरेको थियो वा त्यहाँबाट खरिद गरेका उपभोग्य बस्तुको प्रयोग गरेर बिरामी परेका सर्वसाधारण बिरामी पर्नुको कारण अलग थियो । यो खोजीको बिषय हो । ल्याब जाँच गरेर मात्रै थाहा हुने प्याकिङ नभएका खाद्य बस्तुहरुमा म्यादको सिमा समेत लेखीएको नपाईने भएकाले ति बस्तुहरु कुन अवस्थामा थिए भन्ने कुराको पत्तो लगाउने काम ल्याब जाँचबाट मात्रै सम्भव हुनेछ । अर्को कुरा यदि कालिका सपिङ सेन्टरको बस्तु प्रयोगबाट बिरामी भएको भन्ने उपभोक्तालाई लागेको होभने त्तकाल स्वास्थ्य परिक्षण गराउनु पथ्र्यो, स्वास्थ्य परिक्षणबाट खाद्यबस्तुका कारण बिरामी भए नभएको कुरा निक्र्यौल गर्न सहज हुने थियो । यो कुरामा स्वयम उपभोक्ता र उपभोक्ता मञ्च चुकेको देखीयो ।
उपभोक्तामा समस्या देखा परेपछि उपभोक्ता मञ्चले सोधीखोजी र उपभोक्ता अधिकारका लागि उजुरी गर्नु जायज कुरा हो तर उपभोक्ता मञ्चको यो कदममा कुनैपनि स्वातर्थ लुकेको हुनु हुँदैन । यदि उपभोक्ता मञ्चको यो कदममा स्वार्थ लुकेको भए त्यो दुर्भाग्य हुनेछ । एकातर्फ उपभोक्ता मञ्चले उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको छभने अर्कोतर्फ कालिका सपिङ सेन्टरले बिज्ञप्ती निकालेर आँफुहरुबाट कुनैपनि उपभोक्ता हित बिपरितको काम नभएको जनाएको छ । उल्टै उपभोक्ता मञ्चको स्वार्थ रहेको र चरित्र हत्याका लागि यो कदम चालेको जनाएको छ । दुवै पक्षको आरोप–प्रत्यारोप एक ठाउँमा रहयो तर उपभोक्ताको हितसँग जोडेर जुनसुकै पक्षले कमजोरी गरेको भएपनि यो आम बागलुङबासी उपभोक्ताको हित बिपरितको कुरा हो । उपभोक्ता मञ्चले कालिका सपिङ सेन्टरले बेचेको पापड सहितको उजुरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । जिल्ला प्रशासन कार्यालयले पनि परिक्षणको लागि खाद्य नियन्त्रण तथा गुणस्तर बिभागमा पठाएको जनाएको छ ।
उपभोक्ता मञ्चले दर्ता गराएको उजुरी र उजुरी दर्तापछि प्रतिवादी पक्षले निकालेको बिज्ञप्तीको बिषयलाई हेर्दा खाद्य तथा गुण नियन्त्रण महाशाखाको परिक्षण पछिको रिपोर्ट नै निर्णायक बन्ने देखीएको छ । यदि उपभोक्ता मञ्चले चरित्र हत्याका लागि त्यो प्रयास गरेको थियोभने परिक्षणको नतिजा कालिकाका पक्षमा आउने छभने यदि कालिकाले गुणस्तरहिन बस्तु बेचेको भए नतिजा उपभोक्ता मञ्चका पक्षमा आउने छ । जो सुकैको पक्षमा नतिजा आएपनि उपभोक्ताको हितमा कसैले पनि खेलवाड गर्नु हुँदैन । खाद्य तथा गुण नियन्त्रण महाशाखाको नतिजाका आधारमा अब स्थानिय प्रशासनले लार्पवाही गर्ने जुनकुनै पक्षलाई कार्वाही गर्नुपर्छ । अन्यथा कानुनको परिधिमा रहेर निर्वाध व्यवसाय गर्न पाउने व्यवसायीको अधिकार र गुणस्तरयुक्त उपभोग्य बस्तु प्रयोग गर्न पाउने उपभोक्ताको अधिकार कुण्ठित हुने र दादागिरीको राज हुने वातावरण सिर्जना हुनेछ ।
Previous Articleसमृद्वीको भोक छ तर ढुकुढी रित्तो छ
Next Article २०७४ फागुन २२ गते मंगलबारको राशिफल