बागलुङ, २२ फागु्न– जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा आएर रोकिएको छ । जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै नियमित विद्युत उत्पादन शुरु गर्ने तयारी प्रभावित बनेको हो । बाँधदेखि विद्युत गृहसम्मको २७ सय मिटर पाइपलाइन अन्तर्गत १६ मिटरको विवादित जग्गामा मात्र पाइपलाइन जोड्न बाँकी छ ।
जग्गाधनी खगेश्वर शर्माले ‘अस्वभाविक मुआब्जा’ मागेपछि काम रोकिएको निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ । शर्माको २ रोपनी ११ आना जग्गामा पाइपलाइन परेपनि ४ रोपनी जग्गा आयोजनाबाट प्रभावित छ । शर्माबाट रु. एक करोड ५ लाख मुआब्जा माग भएको कम्पनीका अध्यक्ष एवम् इन्जिनियर सुर्यप्रसाद अधिकारीले बताए । ‘आयोजना स्थलको ३२ रोपनी जग्गाको मुआब्जा रु. ९२ लाख वितरण गरिसकेका छौं’ अधिकारीले भने ‘उहाँ एकै व्यक्तिको कारण आयोजना रोकिएको छ ।’ व्यक्तिगत महत्वकांक्षाका आधारमा ‘अस्वभाविक र मनोगत ढङ्गले’ मुआब्जा माग गरेको उनको आरोप छ । जग्गाको सरकारी मुल्य र भएको क्षतिको मुल्याङ्कनका आधारमा उचित मुआब्जा दिन आफूहरु तयार रहेको अधिकारीले बताए ।
यस्ता विवादले लगानीकर्तालाई समेत निरुत्साहित बनाउने उनको भनाई छ । शुरुमा निर्माण कम्पनी र जग्गाधनीबीच पाखो जग्गा प्रति रोपनीलाई रु. ४० हजार, बारीलाई रु. ७० हजार र खेतलाई रु. २ लाख ५० हजार मुआब्जा दिने सहमति भएको थियो । सोही सहमति अनुसार अन्य जग्गाधनीलाई मुआब्जा वितरण गरिएको आयोजना व्यवस्थापनको दावी छ । यता, जग्गाधनी शर्माले भने जग्गाको क्षतिपूर्तिसहित मुआब्जा माग गरेको बताए । उनले पाइपलाइनमा प्रयोग हुने बाहेकको जग्गामा पनि आयोजनाले क्षति पु¥याएको उल्लेख गरे । ‘आयोजनामा अबरोध पु¥याउने कुनै मनशाय छैन’ शर्माले भने ‘जग्गाको उचित मुआब्जा दिन आयोजना व्यवस्थापन तयार हुनुपर्छ ।’ मुआब्जा विवाद चर्कदैं गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले विवाद समाधानको लागि स्वतन्त्र समिति समेत बनाएको छ । समितिमा स्थानीय चित्रप्रसाद चापागाईं, तिलक थापा, विष्णु आचार्य र चिरञ्जीवी आचार्य रहेका छन् ।
समितिमार्फत् विवाद सुल्झाउने प्रसास भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जैमिनी नगरपालिका र जिल्ला प्रहरी कार्यालयबाट पनि समाधान ननिस्केपछि विवाद जिल्ला प्रशासन कार्यालयसम्म आइपुगेको हो । विवाद समाधान भए पाइपलाइन जडानको काम एकैदिन सकिने र दुई साताभित्रमै नियमित विद्युत उत्पादन शुरु हुने कम्पनीले जनाएको छ । विवादित जग्गामा पाइपलाइन जोड्ने बाहेक आयोजनाको सबै काम पुरा भएको इन्जिनियर अधिकारीले बताए ।
Previous Articleसांसदलाई मर्यादित बनाउन दर्जनौं नियम
Next Article कालिका सपिङको ध्यानाकर्षण