बागलुङ, २१ फागुन – नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । संसदीय दल निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले ४४ मत पाएर निर्वाचित भएको जानकारी दिए । सभापति देउवाले २५ मतको अन्तरले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गरेका छन् । कुल ६३ मत मध्ये देउवाले ४४ मत ल्याएका छन् भने सिंहले १९ मत मात्र पाए । संसदीय दलको नेतामा सभापति देउवासँग पूर्वमहामन्त्री सिंहले प्रतिस्पर्धा गरेका थिए ।
पराजित हुने निश्चित भएपनि देउवालाई सर्वसम्मत हुन नदिन सिंहको उम्मेदवारी परेको थियो । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले सिंहलाई उम्मेदवार बनाएका थिए । सभापति देउवाको कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय भोग्नु परेकोले संसदीय दलको नेता अरुलाई नै बनाउनु पर्ने पौडेल र सिटौला पक्षधरले बताउँदै आएका थिए । देउवा निकट प्रवक्ता विश्वप्रकाश शर्मा, प्रदिप गिरी र डा. नारायण खड्का सहित पौडेल र सिटौल समुहले महामन्त्री डा. शशांक कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउन लविङ गरेका थिए ।
नवनिर्वाचित संसदीय दलका नेता शेरबहादुर देउवाले दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनित गरेका छन्। देउवाले निर्वाचित भएलगत्तै संसदीय दलको बैठक राखेर गच्छदारलाई उपनेतामा मनोनित गरेका हुन्। मधेसी जनअधिकार फोरमलाई कांग्रेसमा समाहित गर्दै पार्टी अध्यक्ष समेत रहेका गच्छदार गत असोज ३० गते कांग्रेसमा प्रवेश गरेका थिए। आफूलाई सर्वसम्मत बनाउन र दलको उपनेता लिन पौडेल पक्षलाई प्रस्ताव गरेका देउवाले पौडेल पक्षले उम्मेदवार खडा गरेपछि त्यसको जवाफ दिन नवप्रवेशी गच्छदारलाई दलको उपनेता बनाएको बताइएको छ।
यता पौडेल पक्षले भने आफूले आफूहरुले विजयका लागि भन्दा पनि राजनैतीक नैतिकता जोगाउनका लागि उम्मेदवारी दिएको बताएको छ। सभापति देउवाले पार्टी एकलौटी चलाउन खोजेको आरोप लागिरहेको बेला देउवाले गरेको यो मनोनयनले पौडेल पक्ष झनै झस्केको छ।
कांग्रेस संसदीय दलको नेतामा देउवा, उपनेतामा गच्छदार
Previous Articleदमेकमा आगलागी पाँच गोठ जले
Next Article चीनको नयाँ नीतिः सबल र स्थिर सीमाक्षेत्र