काठमाडौँ, १९ फागुन – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले जनताको भारी मतले वाम गठबन्धनको सरकार बनेकाले ढुक्कसँग काम गरेर देखाउनु पर्ने बताएका छन्। गठबन्धन बनाएर निर्वाचनमा झण्डै दुई तिहाई सिट जिेतका एमाले र माओवादीले संसदको बैठक सुरु हुनुअघि शनिबार संसद भवनमा सांसदहरूलाई संयुक्त प्रशिक्षण आयोजना गरेका छन्।
‘गाई र त्रिशुल खेलेर नभई एमाले-माओवादीले संसदमा यो आकारमा जितेका होइनन्, जनताको भारती मतले जितेर आएका हौं’, पहिलो पटक आयोजित संयुक्त प्रशिक्षणमा ओलीले भने, ‘त्यसैले अब अलमलिनु पर्ने, अल्झिनु पर्ने अवस्था नभएकाले दृढ मनोबलका साथ काम गरौं, जिम्मेवारी बोधका साथ काम गरौं।’
नागरिकतामा जन्ममिति फरक परेर सबैभन्दा बढी उमेरका सांसदका रुपमा बाँकी सांसदलाई सपथ गराउन लागेका महेन्द्र राय यादवप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले व्यंग्य गरेका छन्। यादवको खास जन्म मितिभन्दा नागरिकतामा उल्लेखित मिति अगाडि भएका कारण जेष्ठ सदस्यका रुपमा उनले आइतबार सांसदहरुलाई सपथ खुवाउँदै छन्।
नागरिकता सम्बन्धी विवादले नेपाल कस्तो हालतमा छ भनेर स्पष्ट हुने ओलीले बताए। सडकदेखि अदालतसम्म नागरिकताको विवाद देखिएकोमा व्यंग्य गर्दै ओलीले भने, ‘अस्पताल, अदालत, माइतीघर (सडक) मा नागरिकताको विवाद छ। अब संसदमा पनि नागरिकताको विवाद देखियो, धन्न म चाहिँ एकै दिनमा जन्मिएको रहेछु।’
एमाले र माओवादीका सांसदहरूलाई प्रधानमन्त्री ओलीले ठूलो जिम्मेवारी रहेको सम्झाए र भने, ‘जिम्मेवार भएर काम गरौं, देश विकास गरेर देखाउनु पर्छ।’
आफूहरुले लगाएको पोशाकमा नेपालमा उत्पादन गरेको लत्ताकपडाको त्यान्द्रो समेत नरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले प्रशस्त सम्भावना भए पनि मुलुक अल्पविकसित हुने अवस्थाबाट माथि उठाउन दृढ मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए ।राष्ट्रियसभाका मनोनित तीन सदस्यका बारेमा सर्र्वाेच्च अदालतमा रिट परेपनि उक्त नियुक्तिलाई कसैले रोक्न नसक्ने दाबी गर्दै उनले भने , “कानून पढेर राजनीति गर्ने झगडियाहरुले हालेको मुद्दामा धेरै अल्मलिनु पर्दैन, सरकारको कार्यक्षेत्रमा अदालतबाट हस्तक्षेप नहुने विश्वास लिएको छु ।” मुलुक बनाउने सन्दर्भमा प्रतिपक्षलाई समेत साथ लिएर र सम्मान गरेर आफूहरु अघि बढ्ने उद्घोष गर्दै राम्रो र सक्षम मान्छेको खोजीमा सरकार रहने स्पष्ट गरे ।
सांसदलाई पार्टी र आन्दोलनलाई प्रमुख मानेर अघि बढ्न सम्झाउदै प्रधानमन्त्री ओलीले भने, “सरुवा बढुवाका फाइल होइन देश विकासका फाइल बोक्नुस्, जनताले तपाईलाई जतिबेला हेरेपनि दाग नभएको रुपमा देख्न सकोस् ।” प्रधानमन्त्री ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने भएकाले त्यसमा अनावश्यक झमेला नगर्न पनि आग्रह गरे । उनले छिमेकी भारत, चीन र अन्य मुलुकसँगको नेपालको सम्बन्ध राम्रो रहेको र ती देशले नयाँ सरकारसँग सहकार्य गर्न इच्छा व्यक्त गरेको उल्लेख गरे ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको पृष्ठभूमिमा आफूहरुको संयुक्त संसदीय दलको बैठक भइरहेको र केही दिनमा एउटै संसदीय दल हुने जनाउँदै विकास नहुने भूमरीमा परिरहने राजनीतिलाई त्यसबाट बाहिर निकाल्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गरे । साझा चुनावी घोषणापत्र र उम्मेदवारका साथ जाँदा डेढमहिनामै जनतालाई एकता पार्न सकिनु आफैंमा विश्वविद्यालय हुनपुगेको बताउदै अध्यक्ष दाहालले भने, “अब हामी राष्ट्रिय पँुजीको विकास गर्दै वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्नेछौँ, एकताको निर्णयले नेपाललाई १०० वर्षपछि जानबाट अघि ल्याएको छ, त्यसकारण हाम्रो एकतालाई जनयुद्धभन्दा ठूलो परिघटनाका रुपमा लिइएको छ ।”
विगतमा एमाले र केन्द्रले अघोषित रुपमा एकले अर्काेको रक्षा गर्दै आएको स्मरण गर्दै उनले मदन भण्डारीको जनताको बहुदलीय जनवादका कारण पनि आफूहरु यहाँसम्म आइपुगेको बताए । बैठकमा एमाले नेता एवं पूर्व सभामुख सुवास नेम्वाङले संसदीय नियम र अभ्यासको हेक्का राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सांसद्हरुलाई आग्रह गरे । संघीय संसद्मा दुई दलका कूल २१४ सदस्य छन् ।