भन्छिन् – ‘हिम्मत नहारे सफल भइन्छ’
काठमाडौं, १३ असोज – अरू तेक्वान्दो खेलाडीसँगै किक गर्दै अभ्यासरत थिइन् सीता । बाल्यकालमै एक हात गुमाएकी सीताले कलिलै उमेरमा आमाबाबु गुमाउनुपरेको पीडा थियो । तैपनि साहसी सीता एसिया र विश्वस्तरको खेलमा पदक जित्दै नेपालको गौरव बन्न सफल भएकी छिन् । जन्मेको ६ महिना उमेरमै अँगेनाको आगोमा जलेर सीताको बायाँ हात र अनुहार डढेको थियो ।
दोलखाको दुर्गम गाउँ मेलङ्मा जन्मेका सीताका बुबाआमा खेतमा काम गर्न गएको समयमा ६ महिनाको उमेरमा हात जलेको थियो उनको । समयमा उपचार नभएपछि अपरेसनको क्रममा बायाँ हात पूरै काट्नुप-यो । त्यसपछि एकहातको सहारामा बाँकी रह्यो उनको ।
साथीभाइमाझ छुट्टिएर बस्नुपर्ने र अरू साथीहरू खेल्दा पनि आफू कुनामा बसेर हेरिराख्नुपर्ने सीताको विवशता थियो । तैपनि उनको मनमा भने खेलप्रति रुचि गुप्त थियो ।
शरीरले ठगेकी उनलाई नियतिले पनि ठग्यो । नौ वर्षको उमेरमा आमा गुमाइन् भने त्यसको पाँच वर्षपछि बुबा गुमाइन् । त्यसपछि भने उनी नितान्त एक्लो र टुहुरो बनिन् । अभिभावक बितेपछि सानै उमेरमा काम गर्नुपर्ने बाध्यता आइप–यो उनलाई ।
गाउँको वीरेन्द्र माविमा ८ कक्षासम्म अध्ययन पूरा गरेपनि आर्थिक अभावका कारण पढाई पनि पूरा हुन पाएन । बाबुआमाको मृत्युपछि भने पढाईलाई चटक्कै छोडेर जीविका धान्न पैसा कमाउने काममा लागिन् ।
शुरू शुरूमा लुगा लगाउने बेला निकै अप्ठ्यारो लागेको थियो सीतालाई । बायाँ हात नभएको, त्यसमाथि बाहुला भएको लुगा लत्राएर लगाउनुपर्ने । काका–काकीले कुनै बिहे भोजभतेरमा जान आग्रह गर्दा पनि सीता आफ्नो परिस्थिति देखेर कहीँ जानै मान्दिनथिन् ।
अहिले भने उनलाई बानी परिसकेको छ । आफ्नो अशक्तता लुकाएर अगाडि बढ्न सकिँदैन भन्ने लाग्यो उनलाई । सबै अप्ठ्यारोसँग सामना गरेर अगाडि बढिन् सीता । बायाँ हात नभएपनि सीता अरू सामान्यले झैं काम गर्न सिपालु छिन् उनी ।
आफ्नो अवस्था देखेर गाउँमा बुबाआमाले काम गर्न नदिएपनि उनी भने बलजफ्ती काम गर्न हौसिन्थे । असारमा अरूले धान रोपेको देखेर आफूले पनि घुँडामा बिउ च्यापेर एकहातले धान रोपेको सम्झना छ उनलाई । हातमा कपडाले बेरेर घाँस काटेको र सकिनसकी घाँस काटेको स्मरण सुनाइन् उनले ।
‘एक हात नभएपनि कहिल्यै हरेस खाइनँ, निरन्तर काममा लागिरहें, दुःखहरू पन्छाउँदै अगाडि बढ्न सिकें,’ उनले भनिन्, ‘दुःखसुख गरेर बाँचिरहेकी छु, दुःख पर्दा झन् ऊर्जाशील भएर काम गर्न मन पराउँछु ।
शायद दुःखसँग अभ्यस्त भइसकें ।’
काठमाडौंमा संघर्षको कथा
बुवाआमा बितेपछि १४ वर्षको उमेरमा भाइको पढाई र कामको खोजीमा काठमाडौं पसेकी सीतानजिकको काका पर्नेसँग काठमाडौंमा बस्न थालिन् । काठमाडांै आएको केही सयमा उनले शान्ति सेवा गृहमा हस्तकलासम्बन्धी काम सिक्न थालिन् । उनलाई भाइको पढाई नछुटोस् भन्ने चिन्ता रह्यो सधंै । बल्लतल्ल ८ वर्षपछि २०६९ सालमा एसएलसी पूरा गरिन् उनले । अहिले उनी उच्चशिक्षा अध्ययनको तयारीमा छिन् । सीताले हस्तकला, क्रिसमस कार्ड, कागजका विभिन्न सामग्री, खाम, मिथिला चित्रकला बनाउन पोख्त छिन् ।
हस्तकला निर्माणमार्फत आफ्नो दैनिक खर्च निकालिरहेकी छिन् उनी । भाइको एक्लो अभिभावकका रूपमा सहारा पनि दिइरहेकी छन् उनले । अहिले उनको भाइ स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत छन् । आफंैले कमाएर आफ्नो खुट्टामा उभिन चाहने सीता अहिले भने भाइसँग धापासीस्थित कोठामा बस्दै आएकी छिन् ।
काठमाडौंको महंगो बजार धान्न उनलाई निकै मुश्किल पर्छ उनलाई, त्यसैले दिनरात काममा खट्छिन् । ‘कसैको भरमा जिउनुभन्दा आफ्नै कमाईमा जिउनुपर्छ भन्ने मेरो मान्यता छ,’ सीताले भनिन्, ‘आफ्नै खुट्टामा उभिने कोशिश गर्दैछु, मेहनत गर्न अल्छी लाग्दैन ।’
खेल जीवन
शुरूमा टेबलटेनिस खेलाडी थिइन् सीता । लैनचौरस्थित टेबुलटेनिस प्रशिक्षण केन्द्रमा उनले छ महिना टेबुलटेनिस प्रशिक्षार्थीका रूपमा बिताएकी थिइन् । तर त्यहाँ शारीरिक अशक्तका लागि कुनै प्रतियोगिता नभएपछि भने उनी फुटबल खेलतिर आकर्षित भइन् ।
फुटबल खेल्ने अभिलाषा बोकेर उनी रंगशाला छिरिन् । र त्यहाँ फुटबलको प्रशिक्षण लिँदै थिइन् । फुटबल प्रशिक्षणकै क्रममा रंगशालमा एथलेटिक्सका प्रशिक्षक टेकबहादुर गुरुङसँग उनको भेट भयो ।
प्रशिक्षक गुरुङको सल्लाहमा सीताले पारा-एथलेटिक्स खेलमा सहभागिता जनाइन् । पहिला मान्छेहरूले सीतालाई चिन्दैनथे । शारीरिक अशक्त भएकी महिलालाई बोझको रूपमा हेर्थे । खेल प्रशिक्षणको क्रममा निकै दुःख खेप्नुप-यो उनले ।
केटीमान्छे, काठमाडौंमा बस्नुपर्ने, कामको अभाव । हेय दृष्टिले मान्छेले हेर्ने गरेको अनुभव । यो सबै सहन बाध्य थिइन् सीता । ‘एथलेटिक्स खेल सिक्न रंगशाला आउँदा अरू खेलाडीले अनौठो मानेर हेर्थे । रं
गशालामा दौडिँदा पनि सबैले घुरेर हेर्थे,’ उनले प्रशिक्षणका दिन सम्झिन् । सीतालाई यस कुराले अप्ठ्यारो लागेको थियो । हुन पनि आफू बाहेक शारीरिक अशक्तता भएका कुनै पनि खेलाडी रंगशालामा थिएनन् । शायद अरू खेलाडीलाई लाग्यो होला एक हात नभएकी केटी, त्यसमाथि राष्ट्रिय स्तरको खेलमा सहभागी हुन आएकी । यो कुरा सबल खेलाडीलाई समेत मुश्किलको काम थियो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी
उनकै नियमित अभ्यासबाट सीता सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन पारा च्याम्पियनशिपमा पहिलोपटक सहभागी हुने मौका पाइन् । यो नै उनको पहिलो अन्तर्राष्ट्रिय खेल भयो । पदक त हात लागेन तर थुप्रै अनुभव सँगालेर फर्किइन् ।
एथलेटिक्सको प्रशिक्षणको क्रममा रंगशालमा दौडिरहेकै बेला उनले तेक्वान्दोका प्रशिक्षक कल्याण कुँवरलाई भेटिन् । प्रशिक्षक कुँवरले उनलाई एथलेटिक्स छाडेर तेक्वान्दो खेल्न सुझाए । तेक्वान्दो खेलमा हात र खुट्टा छिटोछिटो ‘मुभ’ गर्नुपर्ने । त्यसमाथि किक र पन्चको निरन्तर प्रयोग । उनको एक हात थिएन ।
कसरी तेक्वान्दा खेल्न सकँुला भनेर लागेको थियो उनलाई । प्रशिक्षक कुँवरको हौसला र कडा मेहनतका साथ सीता अगाडि बढ्दै गइन् । ६ महिना उनले अरू सबल तेक्वान्दो खेलाडीसँगै बसेर तेक्वान्दो सिक्दै रहिन् ।
अभ्यासका क्रममा अरूले आफूमाथि पन्च गर्दा आफूले पनि उनीहरूले झैं दुवै हात चलाएर जोडले पन्च गरुँ जस्ता नलागेको होइन उनलाई तर हातले साथ दिइरहेको थिएन ।
प्रशिक्षकले पनि आफूलाई शारीरिक अशक्त भएको भनी कहिल्यै व्यवहार गरेनन् । ‘वहाँहरूले तिमीले कहिल्यै पनि अशक्त भएको ठान्नुहुँदैन, तिमीले पनि अरूले झैं खेलमा सशक्त भएर लाग्नुपर्छ भन्नुहुन्छ,’ उनले सुनाइन् । नभन्दै उनको परिश्रमको फल अन्तर्राष्ट्रिय प्रतियोगितामा एकएक गर्दै देखिनथाल्यो ।
सन् २०१५ मा भएको विश्व पारा खेलकुद तेक्वान्दोबाट काँस्य र गत वैशाखमा फिलिपिन्समा भएको दोस्रो एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनमा काँस्य पदक जितेर सीताले मुलुककै गौरव उँचो बनाइन् ।
अहिलेसम्म एउटा एथलेटिक्स र चारवटा पारा तेक्वान्दोको कोरिया, टर्की, रसिया, फिलिपिन्स र पोल्यान्ड गरी पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी भइसकेकी छिन् उनी । यसै वर्ष नेपाल खेलकुद पत्रकार मञ्चको पारा एथलिक अफ दी इयरको रूपमा सम्मानित पनि भइन् सीता । आफू सफल भएको क्षण उनी आफ्ना बुबाआमालाई निकै सम्झिन्छिन् । बुवाआमा हुनुभएको यो खुशी बाँड्न पाउँथें, निकै मिस गरिरहेकी छु,’ उनले भनिन् ।
नेपाली समाजमा अहिले पनि अपाङ्गता भएका व्यक्तिलाई हेय दृष्टिले हेर्ने गरेको प्रति उनको चित्तदुखाई छ । भविष्यमा पनि यस्तै अन्तर्राष्टिय प्रतियोगितामा सहभागी भएर नेपालको नाम राख्ने उनको दृढ संकल्प छ । ‘हामी अक्षम छैनौं, एउटा हात नभएपनि हिम्मत छ । मजस्तै अरूलाई पनि म आफूलाई कमजोर नठान्न आग्रह गर्छु,’ सीताले भनिन् ।
Previous Articleओली सरकारकै ‘बजेट’लाई प्रचण्ड सरकारले दियो निरन्तरता
Next Article सित्तैमा यसरी खोलौं आफ्नै ब्लग