२४ वर्षीया विना श्रेष्ठलाई होली खेल्न निकै मन पर्छ। साथीभाइसँग मज्जाले रङ दलीदली पानी छ्यापाछ्याप गरेर उनी होली खेल्न मनपराउँछिन्। उनलाई पहिले कहिलेकाहीँ छालामा रङ पर्दा अलिअलि चिलाउँथ्यो तर उनी वास्ता गर्दिनथिन् तर पोहोरसाल उनलाई ओठ, अनुहार नमज्जाले सुन्नियो। जचाउँदा थाहा पाइन् उनलाई रङको असरले त्यस्तो भएको रहेछ।
१४ वर्षे रोहित महर्जन साथीहरुसित लोला हानेर होलीको मजा लिइरहेका थिए। त्यही क्रममा साथीले झुक्किएर आँखामा हान्न पुग्दा उनको पूरै आँखा नै सुन्नियो। कैयौँ दिन स्कूल नै जान सकेनन् उनी। यी त प्रतिनिधि पात्र भए। होलीमा यस्ता घटना हुनेगरेको हामीले देख्दैसुन्दै आएका छौँ। सानातिना लापारवाहीले पनि डरलाग्दा परिणाम निम्त्याउन सक्छन्।
रङहरुको पर्व होली आइसकेको छ। होली हामी एकअर्कामा रङ लगाइदिएर मनाउने गरेका छौँ। बजारमा थरिथरिका ‘ह्याप्पी होली’ लेखिएका रङीचंगी टिर्सटहरु बेच्न राखिएका छन्। बच्चा र युवावर्गका हातहातमा पिचकारी अनि लोला देख्न सकिन्छ। आफूखुसी रङ दलेर खेल्नु त ठिकै हो तर कसैले इच्छाविपरित रङ दलिदने, फोहोर पानी छ्याप्दिने समेत गरिन्छ। त्यसबाहेक होलीमा प्रयोग हुने विभिन्न प्रकारका रङले हाम्रो स्वास्थ्यमा कति र कस्तो असर पुर्याउँछ, हामी धेरैजसो अनभिज्ञ छौँ।
रङले छालामा मात्र होइन आँखा अनि कपालमा पनि नकारात्मक असर गर्दछ।
अझ बालबालिकाहरुले मुहारमा विभिन्न इनामेल, पेन्टहरु दल्ने पनि गर्दछन्। होलीमा प्रयोग हुने विभिन्न प्रकारका रङहरुमा विभिन्न धातु, एसिड, रसायनिक पदार्थहरु मिसिएका हुन्छन्। धेरै प्रयोग गरिने रङहरु जस्तै कालो रङमा लिड अक्साइड, हरियोमा कपर सल्फेट, रातोमा मर्करी सल्फेट जस्ता रसायन प्रयोग भएको हुन्छ। त्यसैले होली खेल्नुभन्दा पहिले आफ्नो स्वास्थ्यमा के असर पर्न सक्छ भनेर थाहा पाउन जरुरी छ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पालका यौन तथा छालारोग विशेषज्ञ डा.अनुप बास्तोलाका अनुसार व्यक्तिपिच्छेको छालाअनुसार संक्रमण देखिन वा नदेखिने हुन्छ। ‘सबैलाई त्यस्तो संक्रमण हुन्छ नै भन्ने छैन, तर संवेदनशील छालामा यसले नकरात्मक असर पुर्याउन सक्छ। विशेषगरी अनुहार र हातमा अलि धेरै रङको प्रयोग गरिन्छ। रङको प्रयोगले अचानक एलर्जिक रियाक्सन हुने, पोल्ने, दुख्ने, अनुहार सुन्निनेसम्म हुन सक्छ,’ उनी भन्छन्, ‘कमिलाले टोकेको जस्तो दागहरु आउन सक्छ, साथै पहिला डन्डिफोर छ भने रङ दलेपछि अझ बढी आउनसक्छ।’
नेपाल–कोरिया स्किन हस्पिटलका वरिष्ठ छालारोग विशेषज्ञ डा. सञ्जुबाबु श्रेष्ठका अनसार सकेसम्म प्राकृतिक रङ जस्तै बेसार, फूलको रस प्रयोग गर्नु राम्रो हुन्छ। ‘गुणस्तरहीन रङको प्रयागले छालामा एलर्जी हुने, चिलाउने, विविराहरु आउने, सुख्खा भएर छालाको रङ नै बदलिने हुनसक्छ, त्यसैले सजग हुन जरुरी छ,’ उनी सुझाउँछन्।
‘होली खेल्न जानुभन्दा अघि शरीरमा लोसन तथा नरिवलको तेल वा तोरीको तेल दल्नुपर्छ, अनुहारमा सनब्लक लगाउनुपर्छ, यसले छालामा रङको प्रभाव त्यति पर्न दिँदैन,’ डा.श्रेष्ठ रङका नकारात्मक असरबाट जोगिने उपाय बताउँछन, ‘होलीमा रङ खेलिसकेपछि कडा खालको साबुन प्रयोग गर्नुको साटो क्लिन्जिङ लोसनको प्रयोग गर्नुपर्छ। केही समस्या देखा परे तुरुन्त छालारोग विशेषज्ञलाई देखाउनुपर्छ।’
होलीमा जर्बजस्ती आँखामा पनि रङ लगाइदिने अनि लोला हान्ने गरिन्छ। त्यस्तो बेलामा आफूले सावधानी अपनाउनुपर्ने हुन्छ। तिलगंगा आँखा अस्पतालका आँखारोग विशेषज्ञ डा.बेन लिम्बुका अनुसार रङले आँखालाई पनि थुप्रै असर पार्न सक्छ। ‘आँखामा रङ पर्यो भने यसले आँखाको नानीलाई असर पार्न सक्छ। केमिकल्सहरुले आँखामा पानी उत्पादन गर्ने ग्रन्थीलाई ड्यामेज गरेर आँखा सुख्खा बनाउन सक्छ,’ उनी भन्छन्।
‘रङले आँखा सुन्निने, रातो हुने, चिलाउने आदि हुन्छ, कोहीकोही लोलाले आँखा फुटेर उपचारका लागि आउने गर्छन्, लोलाले लागेर आँखाको भित्री भागमा चोट लागी अन्धो पनि बनाउन सक्छ,’ डा. लिम्बु थप्छन्। त्यसैले होली खेल्न जाँदा आँखामा चस्माको प्रयोग गर्ने अनि कसैले जबरजस्ती लगाउँदा आँखा बन्द गर्नुपर्ने चिकित्सक बताउँछन्।
होलीको रसायनमिश्रित रङले कपाल रफ हुने, सुख्खा हुने, चिलाउने अनि एलर्जी हुने हुन्छ। त्यसैले होली खेल्न जानुभन्दा पहिले टाउकोमा टोपी लगाउनुपर्छ। कपाल छोडेर हिँड्नुहँदैन कपाल बाँधेकै बेस। त्यसका साथै यसले नङको कापकापमा पनि असर पार्न सक्छ। यी सबै सजगताका साथ होलीको रमाइलो उठाउनु जाती हुन्छ।
Previous Articleभाडाँ माझ्न युरोप पुगेका बागलुङे युवाको यस्तो छ सफलताको कथा
Next Article शक्तिशाली बन्दै प्रधानमन्त्री ओली