पर्वतको सबैभन्दा विकट बिहादी गाउँपालिकाले घरदैलोमै पुगेर योजना सम्झौता गरेको खवर सञ्चारमाध्याममा आयो । बिकट गाउँका सर्वसाधारणलाई गाउँपालिकाका योजनाका बारेमा जाजकारी गराउँदै गाउँमै पुगेर योजनाको सम्झौता भएको बिषय स्थानिय तहले सर्वसाधारणको हितमा गरेको सकारात्मक कदम हो । जनचाहना पुरा गर्ने प्रतिबद्धता जाहेर गरेर निर्वाचित भएका जनप्रतिनिधिले जनताको घरदैलोमा पुगेर गरेको सह्रानिय कामको आम सर्वसाधारणले खुलेर प्रशंसा गर्नैपर्छ । गाउँपालिकाको टोलीले गाउँपरिषद्ले पारित गरेका सडक, सिँचाइ, कृषिलगायतका ३ सय ६६ वटा योजना गाउँघरमै पुगेर सम्झौता गर्नु भनेको गाउँपालिकाको जनताप्रतिको उत्तरदायि कदम हो ।
उपभोक्ता समितिमार्फत काम गर्ने योजनालाई समयमै सम्पन्न गर्न गाउँघरमै पुगेर योजना सम्झौता गरिएको र यसले उपभोक्ता समितिलाई विभिन्न प्रक्रिया पु¥याउने झण्झट समेत कम हुने नै भयो । त्योभन्दा पनि महत्वपुर्ण कुरा जानकारी र प्रशासनिक झण्झटताका कारण काम नै नबनी बजेट प्रिज जाने समस्या समेत टरेको छ । त्यो मत्रै हैन गाउँपालिकाले योजना सम्झौताका क्रममा उपभोक्ता समितिलाई विषयगत रूपमा विनियोजन गरेको २५ प्रतिशत बजेटसमेत गाउँघरमै प्रदान गरिएको छ । अरू रकम भने उपभोक्ता समितिले काम सम्पन्न गरिसकेपछि पाउने छन् । यसले सर्वसाधारण उपभोक्ताहरुलाई बिकासे काम गर्न प्रेरित गर्ने छभने काम समयमा हुने र बजेटको सदुपयोग हुने वातावरण सिर्जना हुन्छ भन्ने कुरा प्रष्ट भएको छ । गाउँपालिकाले बिहादीबासीलाई सिहंदरबार गाउँघरमै आएको अनुभूति दिलाउन तथा विकास निर्माणमा सहजता प्रदान गर्नका लागि टोलटोलमै पुगेर योजनाको सम्झौता गर्ने व्यवस्था मिलाएको हो । यो कदमले वास्तवमा सिंहदरबार गाउँमा नै आएको सर्वसाधारणले अनुभुती गरेका छन् । साना–साना काम गर्नको लागि समेत राजनीतिक पहुँचको आवश्यकता पर्ने बाध्यात्मक अप्ठ्यारो समेत टरेको छ ।
बजेटका सदुपयोग र दिगो विकासका लागि सर्वसाधारणको परिचालन महत्वपुर्ण कुरा हो । चाहेर पनि आम उपभोक्ताले प्रशासनिक झण्झटताका कारण कतिपय विकासका काम गर्न नसकेका वा बजेट बिनियोजन भएका योजनाहरु समेत कागजात तथा प्रशासनिक प्रक्रिया नपुगेका कारण बजेट फ्रिज हुने अवस्थासम्म पुगेका उदाहरण हाम्रा सामु छन् । बिहादीले गरेको उदारहणीय कामका कारण अबको बिकास जनताको सहभागिता र स्थानिय सरकारको सक्रियतामा भर पर्ने छ । काम गर्न भनेर दलबल लगाएर स्थानिय सरकारमा निर्वाचित भएकाहरुले तलब भत्ता र पहुँचको प्रयोग गरि नीतिगत भ्रष्टचारलाई बढवा दिनुको साटो सर्वसाधारणले अनुभुति गर्ने गरि यस्ता खालका कार्यक्रमहरु सञ्चालन गर्न जरुरी छ । बिहादी गाउँपालिका देशका सबै स्थानिय तहको लागि उदाहरण मात्रै हो । देशका अन्य स्थानिय तहमा भएका र बिहादीमा भएका जनप्रतिनिधि समान हुन र उनीहरुको अधिकार पनि समान छ । उपभोक्ताको हितको लागि बिहादीका जनप्रतिनिधि र कर्मचारीको जस्तै सबै स्थानिय तहमा रहेका जनप्रतिनिधि र कर्मचारीको इच्छा शक्ति हुने होभने हामीले चाहेको जस्तो सिंहदरबार घरदैलोमा ल्याउन कठिन नहोला । जनताको चाहना र आवश्यकताको पहिचान गरी दिगो बिकासको बाटोमा अगाडि बढौं ।