नेपालको कलाकारिताको क्षेत्रमा लाग्नेहरुको सुरुवात निकै रोचक हुने गरेको छ । कसैले बाउबाजेको संगतका कारण त सकैले बिद्यालय जीवनमा गरेका अतिरिक्त क्रियाकलापको प्रभावमा परेर नेपालको कलाकारिताको बाटो समातेको बताउने गरेका छन् । त्यो मात्रै हैन कोही कसैको मेख मार्नकै लागि गीत संगीतको यात्रा तय गरेका पनि हाम्रो नेपालमा छन् । जे जसरी गीत संगीत र कलाकारिताको क्षेत्रमा प्रबेश गरेका भएपनि उनीहरु सफल बनेका छन् । केहीले लहै–लहैका कारण लाखौं डुबाएर यता न उताका बनेका भएपनि यसरी गीत संगीतको यात्रामा लाग्नेहरु अधिकांश सफल नै बनेका छन् ।
बिद्यालय जीवनमा बिद्यालयभित्र र अन्तर बिद्यालय स्तरीय गीत गजलका प्रतियोगितामा सधैं उत्कृष्ट प्रदर्शन गरेर नेपाली गीत संगीतको क्षेत्रमा प्रबेश गर्ने सोच बनाएका बागलुङे सर्जक प्रेम सापकोटा ‘सोनु’ पछिल्लो समय एकाएक चर्चाको शिखरमा पुगेका छन् । सपनाको शहरको रुपमा विकास भैरहेको जापानमा नेपालीहरुले पाएको दुःख र त्यहाँ पुग्ने आफन्तबाट नेपालमा भएका आफन्त तथा साथीभाईले गर्ने अपेक्षाको बिषयलाई गीतको माध्यामबाट प्रस्तुत गर्दै सोनु चर्चामा आएका हुन् । पछिल्लो समय बजारमा आएको उनको एल्बम ‘आईफोनको रुख’ले निकै चर्चा कमाएपछि उनको संगीतको यात्रा हौसिएको हो । बिद्यालयमा हुने सांगीतिक कार्यक्रममा उनको उपस्थिती देख्ना साथ तर्सिने गरेका प्रतिस्पर्धिका कारण उनी संगीतको यात्रामा प्रबेश गर्ने थप प्रेरणा मिलेको सापकोटाले बताए । २०६७ सालमा नेपालको सफल गायक बन्ने सपना बोकेर देशको राजधानी काठमाण्डौ हानिएका सोनु २०६८ सालमा रोधी क्लबमा काम गर्दै गीत संगीतको क्षेत्रमा औपाचारिक प्रबेश गरेका थिए । अनेकौं चुनौतीका बाबजुद काठमाण्डौको बसपार्कमा रहेको रोधी क्लवले उनको आवश्यकतालाई धान्न सकेन् । थोरै पैसा मिल्ने र काम सिक्ने अवसर भएकाले रोधी क्लबमा काम गरेर केही समय बिताएका सापकोटा आफ्नो संगीतको प्यास मेटाउन बैदेशिक रोजगारीको बाटो रोज्न पुगे । नेपालको लोकगीत संगीतको यात्रामा प्रबेश गर्न पहिले आँफुले ठुलो लगानी गर्नुपर्ने अवस्था रहेको सोनु बताउँछन् । त्यो बेला परिवारले उनलाई गीत संगीतको क्षेत्रमा प्रबेशको लागि गिती एल्वम निकाल्न लाखौं खर्च गर्न नसक्ने र आँफुसँग समेत स्रोत नभएकाले सोनु जापान भासिएका थिए ।
जापानमा काम गरेर कमाएको पहिलो कमाईबाट सोनुले आफ्नो पहिलो एल्वम बजारमा ल्याए । लोक लयमा रहेको ‘पापी नभने’ नामक एल्वम बजारमा ल्याएर उनी लोक संगीतमा लगानी गर्न सुरु गरेका थिए । ‘पापी नभने’ले बजारमा केही ठाउँ पायो । एल्वमबाट खासै लगानी उठ्ने अवस्था थिएन । सोनुले आफ्नो ब्यक्तिगत कमाईबाट नै क्रमश “फेसबुकमा एड भईयो’’ “दशैँ तिहार मनाउन घर आउन पाईन’’, “बाटो फरक दुरी टाढा भो’’, “बचाउ मलाई बचाउ’’, ‘समर्पित मनको’, “तिम्लाई मन फेर्नी बानी पर्यो’’ लगायत झण्डै एक दर्जन गीत बजारमा ल्याए केही गीतमा शव्द संगीत त केहीमा स्वर समेत समाबेश गरेर अग्रज कलाकारको साथमा गीतहरु बजारमा ल्याएका सोनुका अधिकांश गीत सफल बनेको उनी बनाउँछन् । नेपाली गीत संगीतको क्षेत्र फराकिलो भएपनि यहाँ भित्रका दलालका कारण नयाँ सर्जकलाई कठिन हुने गरेको सोनुले बताए । बाहिर देख्दा जस्तो काम गरेर देखाउँदा सजिलो नहुने भन्दै अनेकौं बाधाका बीचमा आँफुले सांगीतिक क्षेत्रमा संघर्ष गरेको उनले सुनाए । शव्द, लय र संगीत सिर्जनामा निकै चाख राख्ने सापकोटाले केही गीतमा मोडलिंङ र भिडियो निर्देशनको काम समेत गरेका छन् ।
जापानको व्यस्त जिवनका बावजुद फुर्सदको समयमा नेपाली गीत संगीतलाई समय दिने गरेको सापकोटाले बताए । जापानमै बसेर सोनुको सिर्जनामा दिपक कँडेलले बजारमा ल्याएको ‘कठै मेरो जुनी’ एल्वम निकै चर्चामा आएको थियो । देशमा सुन फल्ने जमिन बाँझो रहेको र बिदेशमा गुलामी गर्दै श्रमको व्यापार गर्नु परेको बिषय समेटीएकाले गीत सफल भएको सापकोटाको भनाई छ । यो गीतले कँडेल र सापकोटालाई एकै पटक सांगीतिक बजारमा चिनाएको थियो ।
हाम्रो मिलन कसैले चाहेन
म दुःखीको हाँस्ने दिन आएन
बाटो फरक दुरी टाढा भो
सानु तिमी गयौ कहाँ हो कहाँ छोडेर तिम्रो मायाँ अझै गाढ़ा भो ।।
यो गीतले सापकोटालाई बजारमा चिनाउन सफल भएको थियोभने यो जस्तै अन्य कयौं गीत सापकोटाले बजारमा ल्याएका छन् ।
हल्ला हुन्छ जापानै भरि
देखेपछि मायाको नचरि
माया तिम्लाई तिजको बेलैमा
घुमाई दिम्ला जापानी रेलैमा
तीजको बेलामा बजारमा आएको यो गीतले पनि जन जनको मन जितेर जनजिब्रोमा बस्न सफल भएको सापकोटाले दाबी गरे । पछिल्लो समय बजारमा आएको ‘आईफोनको रुख’ नामक एल्वमले बजार तताईरहँदा जापानमा बसेर साथीभाई र आफन्तको चाहना पुरा गर्न नसकेकाले यस्तो गीत लेख्नु परेको सापकोटाले बताए । देशका दुःख पीडा र बिदेशमा नेपालीले पाएको दुःखका अलावा तिज दशैं जस्ता चार्डपर्व र माया प्रमेमा आधारित गीतहरु समेत सापकोटाले लेख्दै र गाउँदै आएका छन् ।
–तारानाथ आचार्य/बागलुङ