काठमाडौँ, १४ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई अर्थमन्त्रीका रुपमा छान्ने निर्णय धेरैका लागि सरप्राइज भएको छ । सबैभन्दा ठुलो सरप्राइज अर्थमन्त्रीको दौडमा रहेका एमाले नेताहरु ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र विष्णु पौडललाई भएको छ । नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगमा लामो समय काम गरेका डा. खतिवडा केही वर्षदेखि एमालेको आर्थिक नीति निर्माणमा सक्रिय थिए ।
ओली सरकारबाट राष्ट्रिय सभा सदस्यका लागि गरिएको सिफारिसलाई सर्वोच्च अदालतले तत्कालका लागि रोके पनि खतिवडालाई मन्त्री बन्न संविधानले रोकेन । उनी मन्त्री भएपछि ६ महिनाभित्र सांसद् सदस्य भइसक्नुपर्ने छ । एमालेको राजनीतिमा खुलेर लाग्ने बताइरहेका खतिवडाले एमालेका शीर्ष नेताहरुलाई जिल्ल्याउँदै अन्ततः अर्थमन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
नेपालको अर्थतन्त्र धर्मराएको अवस्थामा त्यसलाई सम्हाल्ने विश्वासका साथ ओलीले खतिवडालाई देशको ढुकुटीको चाबी दिएका हुन् । कम्जोर बनेको अर्थतन्त्रलाई उठाउन तथा अनुत्पादक क्षेत्रमा बढ्दो लगानीलाई नियन्त्रण गर्ने विश्वासका साथ ओलीले अर्थमन्त्रीमा खतिवडालाई चुनेका हुन् ।
यसअघि राजनीतिक पृष्ठभूमिका मात्रै अर्थमन्त्री हुने गरेका थिए । तर ओलीले यो परम्परालाई ब्रेक लगाउँदै खतिवडालाई रोजे । देशमा तीब्र आर्थिक वृद्धिका लागि खतिवडा ओलीको रोजाईमा परे । देशमा वित्तीय सुधार, खर्च व्यवस्थापन र संघीयता व्यवस्थापनमा ओलीलाई अर्थतन्त्र बुझेको व्यक्तिको खाँचो थियो । त्यस जिम्मेवारीका लागि ओलीले खतिवडालाई विश्वास गरे । डा. खतिवडा ओली नेतृत्वमा गठीत बाम सरकारको अर्थमन्त्री बनेपछि खासै सकारात्मक नरहेको अर्थतन्त्र सकारात्मक दिशा जाने विश्वास लिइएको छ ।
घरजग्गाको मनपरी रोके
राष्ट्र बैंकको गभर्नरको जिम्मेवारी सम्हाल्दा डा. खतिवडाले उब्जाउ भूमि ध्वस्त बनाउने गरी बढेको अनियन्त्रित घरजग्गाको कारोबारमा अंकुश लगाए । बैंकहरुले घर जग्गामा गरेको असीमित लगानीलाई उनकै नेतृत्वको राष्ट्र बैंकले नियन्त्रण गरेर उब्जाउ भूमि बचाउन महत्वपूर्ण पहल गरेको थियो । खतिवडाकै पालामा बैंक तथा वित्तीय संस्थाबीच मर्जर पनि थालियो ।
एकातिर सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान बाध्य पारियो भने अर्कातर्फ नयाँ वित्तीय संस्था खोल्न पनि कडाइ गरियो । अर्कातिर खतिवडाले बैंकले प्रवाह गर्ने कर्जा र निक्षेपको पनि सीमा निर्धारण गरिदिए । खतिवडाका यी निर्णयको त्यो बेला आर्थिक क्षेत्रले खुलेर प्रशंसा गरेको थियो ।
अधीक तरलता रहेका बेला उनको नेतृत्मा राष्ट्र बैंकले लिएको नीतिले बैंकहरुको निक्षेपको ब्याजदर घटाउन सहयोग पुगेको थियो । त्यो बेला त्यसैगरी पुँजी पलायन, लघुवित्त कम्पनीको संख्यामा उच्च वृद्धि र लघुवित्तका ग्राहक दोहोरिने समस्या बढेको भन्दै खतिवडाको आलोचना समेत भएको थियो ।
राष्ट्र बैंकले बैंकहरुलाई मौद्रिक नीतिमा कडाई गर्दै घर जग्गा कारोबारमा लगानी गर्न कडा दायरा बनाएसँगै जग्जा कारोबारमा उच्च गिरावट आएको थियो । खतिवडा आउनुअघि बैंकहरुले लगानी सुरक्षित हुने बहानामा घर जग्गा कारोबारमा ठुलो लगानी गरेका थिए ।
डा. खतिवडा गर्भनर भएका बेला वित्तीय क्षेत्र धेरै ट्याकमा आएको जानकारहरू बताउँछन् । उनकै पालामा घरजग्गा तथा सेयर कारोबारमा कडाइ गरी अर्थतन्त्रलाई सहि दिशामा ल्याएका थिए । डा. खतिवडा गर्भनर हुँदा अत्यधिक आयात भएर देशको शोधनान्तर घाटा उच्च भएपछि सुन आयातमा कोटाको व्यवस्था गरिएको थियो ।
‘अनुत्पादक क्षेत्र’ मा लगानी बढेपछि बजारमा तरलताको अभाव देखिएको थियो । बैंकहरुले नाफा कमाउने नाममा अनुत्पादक क्षेत्रमा लगानी बढाएपछि राष्ट्र बैंकले कर्जाको सीमासमेत उनको नेतृत्वमा तोकेको थियो । राष्ट्र बैंकको यो नीतिपछि बैंक तथा वित्तीय संस्थाले घर जग्गामा लगानी गर्न छाडेपछि जग्गाको कारोबार शतप्रतिशत घट्यो भने उब्जाउ भूमि पनि जोगिएको छ ।
खतिवडा आउनु भन्दा अघि चुलिएको जग्गाको मूल्य देशभर स्थिर रह्यो । बैंक तथा वित्तीय संस्थाले ठुलो लगानी गरेपछि राजधानी उपत्यका र देशका सहरी क्षेत्रमा मनपरी प्लटिङ हुने गरेको थियो ।अझै पनि उनलाई चुनौती कम भएका छैनन् । मुलक शोधान्तर घाटामै छ । आयात वृद्धि उच्च छ । संघीय संरचना अनुसार खर्च व्यवस्थापन गर्न उत्तिकै चुनौती छ उनलाई ।
को हुन् खतिवडा ?
२०१९ सालमा जन्मिएका खतिवडाले वि.सं. २०४१ सालमा राष्ट्र बैंकबाट आर्थिक क्षेत्रको यात्रा तय गरेका थिए । हठी स्वभावका खतिवडालाई अडान लिन सक्ने प्रशासकका रुपमा हेर्ने गरिन्छ । उनको यो स्वभाव विरोधीहरुका लागि आलोचना गर्ने बहाना पनि बन्यो । उनी नेपाल राष्ट्र बैंकको पन्ध्रौं गभर्नर हुन् । उनले यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा पनि काम गरिसकेका छन् । खतिवडा वि.सं.२०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसमेत भइसकेका छन् ।
यसअघि उनी नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख भइसकेका थिए । २०३८ मा त्रिभुवन विश्वविद्यालयमा एक स्नातकोत्तर शिक्षक र २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा पनि खतिवडाले काम गरिसकेका छन् ।
डा. खतिवडाले २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा स्नातकोत्तर गरेका थिए । वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका खतिवडाले धेरै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रशिक्षण र विकास सम्बन्धित मुद्दा तथा कार्यक्रमका सेमिनारमा भाग लिएका छन् ।