तारानाथ आचार्य
बागलुङ, १४ फागुन– जिल्लाको बागलुङ नगरपालिका १२ अमलाचौरले यस आर्थिक बर्षको बजेटबाट पाँच वटा नयाँ ट्रयाकसहित २६ लाख रुपैयाँ सडक निर्माणमा खर्चेको छ । वडाका सडक नपुगेका बस्तीहरुमा सडक पु¥याउने र ट्रयाक खुलेका सडकको स्तरोन्नतीको काम भैरहेको वडा कार्यालयले जनाएको छ । वडाले फागुन महिनाको पहिलो सातासम्म २६ लाखभन्दा धेरै रकम खर्च गरेर झण्डै एक दर्जन सडक निर्माणको काम सकेको वडा अध्यक्ष गुरुदत्त पाठकले बताए ।
शिवालयदेखी बुदबुदे, बाँझाबारीदेखी लामाचौर, बाँझपोखरीदेखी बुकेनी, कुँडहरदेखी बाउसेचौर र गिठेपात्ले खेत देउराली सडकको नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको पाठकले जानकारी दिए । नयाँ खोलिएका ट्रयाकको ५ सयदेखी हजार मिटर सम्मको काम भएको र बाँकी सडक पुरा गर्नको लागि आगामी बर्षको बजेटमा ब्यबस्था मिलाईने उनले बताए । पाठकका अनुसार, शिवालयदेखी बुदबुदे सम्मको ५ सय मिटर सडक निर्माणको लागि १ लाख २० हजार, बाँझाबारीदेखी लामाचौर सम्मको ५ सय मिटर सडकको ट्रयाक खोल्नको लागि १ लाख २० हजार, बाँझपोखरीदेखी बुकेनी सम्मको ६ सय मिटर ट्रयाक खोल्नको लागि ८० हजार रुपैयाँ, कुँडहरदेखी बाउसेचौर सम्मको ५ सय मिटर सडकको ट्रयाक खोल्नका लागि १ लाख ९० हजार रुपैयाँ र गिठेपात्ले खेत देउराली ६ सय मिटर सडकको नयाँ ट्रयाकको लागि ३ लाख ६० हजार रुपैयाँ खर्च भएको वडा कार्यालयले जनाएको छ । वडाले कालीगण्डकीको किनारदेखी भैरवस्थान सम्मको बाटो निर्माणका लागि समेत यहि सातादेखी काम सुरु गरेको छ । उक्त सडक निर्माणको लागि यो बर्ष ३ लाख रुपैयाँ खर्च हुने पाठकले बताए । यस्तै, वडाले बागलुङ–कुश्मीशेरा सडक खण्डदेखी चाम्टारा सम्मको बाटो स्तरोन्नतीको काम चलिरहेको जनाएको छ । तिन किलोमिटर सडकको स्तरोन्नतीको लागि ६ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
त्यस्तै अशुरेनी–टाकुरी ५ लाख ८० हजार, कान्ले–पैरे २ लाख, गिठे– पात्लेखेत देउराली ३ लाख ६० हजार, भेटालथर–सल्यान ४ लाख ६० हजार रुपैयाँ खर्चेर सडकको स्तरोन्नतीको काम गरिएको वडा अध्यक्ष पाठकले जानकारी दिए । नगर परिषदबाट पारित भएर आएका सबै सडकको स्तरोन्नती र नयाँ ट्रयाक खोल्ने काम समेत सम्पन्न हुने चरणमा रहेका उनले बताए । बर्षतको समयमा पानीका कारण बिग्रेका स्थानिय सडकलाई २ लाख ५० हजार रपैयाँ खर्च गरेर वडाले मर्मत गरेको थियो ।
बर्षात पस्चात मर्मत गरिएका सबै सडकमा निर्वाध सवारी सञ्चालनमा रहेकाले आवतजावतमा सहजता भएको स्थानिय शक्ति पाठकले बताए । ‘वडाले समयमा बाटोको मर्मत र स्तरोन्नती गर्दा हिउँदो समयमा हामीलाई आवतजावतमा निकै सहज भएको छ’ पाठकले भने ‘उपभोक्ता समिती गठन गरेर स्थानिय तहको निगरानीमा काम गर्दा निकै छिटो काम हुँदो रहेछ ।’ स्थानिय तहको निर्वाचन पस्चात बिभिन्न कामलाई तिब्रता दिँदै आएको वडाले सडकको कामलाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाएको थियो । खेपानी, शिक्षा, स्वास्थ्य र सिंचाई तथा कृषिको क्षेत्रमा समेत धेरै कामहरु अगाडि बढेको भएपनि देखिने गरी सडक निर्माणको काम भैरहेको वडाअध्यक्ष पाठकले बताए ।
Previous Articleविद्यालयलाई शैक्षिक सामाग्री सहयोग
Next Article १४ फागुन २०७४, ढोरपाटन दैनिक