बागलुङ, १३ फागुन– आगामी सन् २०२० भित्र नेपालबाट हात्तिपाईले रोगलाई निर्मुल पार्ने भन्दै शनिवारदेखि जिल्लाभरी औषधि खुवाउने काम शुरु भएको छ । शनिवार बिहान बागलुङ बजारमा आयोजित एक कार्यक्रममा सांसद मनाकुमारी केसी, बागलुङ नगर प्रमुख जनक पौडेल, जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषाल, जिल्ला स्वास्थ्य प्रमुख दिपक तिवारी र जिल्ला शिक्षा अधिकारी गुरुदत्त पौडेल लगायतले संयुक्त रुपमा औषधि खाएर अभियानका शुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा र प्रहरी उपरिक्षक दिपक रेग्मीले तमानखोला स्थित बुंगादोभान स्वास्थ्यचौकीमा पुगेर औषधि खाएका थिए । यो अभियानका लागि ८ बर्ष अघिदेखि देशभर हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान चलेको थियो । बागलुङमा अझै १ प्रतिशत भन्दा धेरै बिरामी र संक्रमण देखिएकोले यो बर्ष शतप्रतिशत जनतालाई औषधि खुवाएर रोग निर्मुल पार्ने योजना बनाइएको हो । जिल्लाका ४ सय ३१ स्वास्थ्यकर्मी, ९ सय ५० महिला स्वास्थ्य स्वयंसेविका र ७ सय ३२ जना अन्य स्वयंसेवक समेत खटाएर शनिवार औषधि खुवाइएको हो । अध्ययनले नेपालको १४ जिल्लामा अझै संक्रमण भेटिएको बताइएको छ । ती मध्ये अधिकांस हिमाली जिल्लामा निर्मुल भैसकेको छ । बागलुङमा रहेका २ लाख ५७ हजार जनालाई शनिवारदेकिो अभियानमा औषधि खुवाउने कार्यक्रम छ । छुटेकालाई आईतवार र सोमबार सम्म स्वास्थ्यकर्मीले घरघरमा पुगेर पनि खुवाउनेछन् ।
प्रदेश नम्बर ४ को पर्वत, बागलुङ, लमजुङमा यो संक्रमण देखिएको हो । शतप्रतिशत मध्ये दुइ बर्ष भन्दा कम उमेरका बालबालिका, दिर्घरोगी, सिकिस्त बिरामी र सुत्केरीलाई औषधि खुवाईने छैन । साथै यो औषधिसँगै जुकाको औषधि पनि खुवाइएको थियो । दुइबर्षदेखि ५ बर्ष सम्मका बालबालिकालाई हात्तिपाईलेको एक चक्की र एउटा जुकाको औषधि खुवाईनेछ भने ६ देखि १४ बर्ष सम्मकालाई दुइवटा चक्की खुवाइएको हो । १५ बर्षदेखि माथिका मानिसले भने हात्तिपाईलेको ३ वटा चक्की र जुकाको एक चक्की औषधि खाएका थिए ।