काठमाडौं, १२ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलगायत अन्य क्षेत्रमा भएका कानूनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानूनी जटिलता सरलीकरण गरेर चुस्त र छरितो पारिने बताएका हुन् ।
‘सरकारी कार्यालयका टेवलैपिच्छे फाइल अल्मलिने प्रथा अब अन्त्य हुन्छ’ आज बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधरणका काममा ढिलाइ गरेछन् भने त्यसमा पनि उचित छानविन हुनेछ ।’
‘कमिशनखोरीका भरमा लाइसेन्स दिने, लिने,समयमा काम नसक्ने र विना कारण म्याद थप्ने थपाउनेलाई तत्काल कार्यवाही हुन्छ’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले शुन्य सहनशिलताको नीति लिने बताए । ‘सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध छ’ प्रधानमन्त्री ओलीले भने ‘भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ हुदैन । त्यसकारण स्थीर सरकारको अनुभुत गराउन पनि भ्रष्टाचार रोक्न जरुरी छ ।’
उद्योग वाणिज्य महासंघसंग सरकार सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । ‘उद्यमी व्यावशायीसँग मिलेर देश बनाउन सरकार तयार छ’ प्रधानमन्त्री ओलीले भने-‘सरकारबाट पाउनसक्ने सहजता तपाईंहरुले पाउनु हुन्छ । विना सर्त मुलुक निर्माणमा सबै जुटौं ।’
प्रधानमन्त्री ओलीले निर्यातजन्य उत्पादनमा जोड दिन व्याशायीहरुलाई आग्रह गरे । नेपालमा उत्पादित सामानका लागि बजारको खाँचो नहुने प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले विश्वको जुनसुकै देशमा पनि नेपाली सामानको माग उच्च हुने बताए ।
यसैगरी, आजै बालुवाटारमा आयोजित कार्यक्रममा गैह्र आवासीय नेपाली संघको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले देशलाइ समृद्ध र नेपालीलाई सुखी बनाउने बाहेक आफ्नो अरु कुनै उद्धेश्य नरहेको स्पष्ट पारे । ‘जनताको विश्वासलाई सार्थक बनाउने मेरो एक मात्र उद्धेश्य हो’ प्रधानमन्त्री ओलीले भने ‘देश विकासका लागि गैह्र आवासीय नेपालीको भुमिका महत्वपूर्ण हुन्छ ।’
निर्माण क्षेत्रका कानूनी जटिलतालाई खुकुलो पारिनेछ-प्रम
Previous Articleकोरला-सुस्ता सडक प्रदेशकै लाइफलाइन-मुख्यमन्त्री गुरुङ
Next Article जेडआरआरद्धारा क्लब भ्रमण