बागलुङ, १२ फागुन– प्रतिनिधिसभा सदस्य मना केसीले जिल्लाको सबग्र बिकासका लागि प्रतिनिधित्व गरेर जाने सबै दलका सांसदहरुबीचको एकता र सहकार्यको काम थाल्ने बताएकी छिन् । बागलुङबाट प्रतिनिधित्व गर्ने १५ जना सांसद पुगेकोले सबैले मिलेर फरक फरक बिषयको काम गर्नेगरी छलफल चलाउने बताईन् । ‘एउटा व्यक्तिले एउटा योजना छनौट गरेर काम गर्दा पनि एकैबर्षमा १५ वटा बिकास गर्न सकिन्छ’ केसीले भनिन्, ‘त्यसका लागि सबै मिलेर योजना बनाउने अभियान थाल्नेछु ।’ आदर्श संचार सहकारी संस्थाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै केसीले सहकारीताले बढाएको सामुहिक काम गर्ने भावनालाई अव संसद सदस्य भएर पनि निर्वाह गर्ने बताइन् ।
उनले देशको शिक्षा, स्वास्थ्य र बिकासको काममा पनि सहकारी अभियान सफल हुने उनको धारणा थियो । संसद भएर गएपनि जिल्लाको बिकासको अभियानमा कहिले पनि नटुट्ने विश्वास दिलाउँदै उनले राजनीतिक आस्था, क्षेत्र र लिंग नभनेर काम गर्ने प्रतिवद्धता पनि जनाएकी थिइन् । शिक्षाको पहुँचमा नपुगेका बालबालिकालाई विद्यालय भित्राउने देखि ग्रामीण बासिन्दालाई सहज स्वास्थ्यको सेवा दिनमा निरन्तर खटिने पनि उनले बताईन् । सहकारीका अध्यक्ष तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता र सहकारीले प्रकाशित गर्ने धौलागिरी जागरण दैनिकका सम्पादक रामबहादुर जिसीको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले पनि बोलेका थिए । उनले सरकारले तीन खम्बे बिकासको मोडल मार्फत सहकारीलाई स्विकारेको र सहकारी अभियान्ता प्रतिनिधि सभामा पुगेकोले सहकारी क्षेत्रको बिकासमा काम गर्न सुझाव पनि दिए । कार्यक्रमका अध्यक्ष थापाले पनि सामाजिक क्षेत्रको अगुवाई गरेको व्यक्ति नीतिगत तहमा पुग्दा समाजले सकारात्मक परिवर्तनका लागि थप बल पाउने बताए । उक्त अवसरमा सहकारीका शेयर सदस्य सहित बिभिन्न क्षेत्रका अगुवा उपस्थित भएर केसीलाई बधाई तथा सम्मान व्यक्त गरेका थिए ।
Previous Articleहात्तिपाईलेलाई शुन्यमा झार्ने अभियान
Next Article मन्त्रालय गाभिएपछि सचिवहरू अन्योलमा