नवलपरासी, १० फागुन – चौधरी समूहले नवलपरासीमा निर्माण गरेको शाश्वतधाममा श्रीलंकाबाट ल्याइएको भगवान गौतम बुद्धको अस्तु राखिने भएको छ । उक्त अस्तु शाश्वतधाममा निर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिने भएको छ ।
शाश्वतधाम सर्वसाधारणलाई खुला गरिएको ११ महिनामा १२ लाखले दर्शन गरिसकेका छन् । धाममा सर्वसाधारणको बढ्दो आकर्षणसँगै मंगलबार बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको छ । बुद्धिष्ट सेन्टर स्थापना हुनुअघि भक्तजनको दर्शनका लागि शाश्वतधाममा विशेष मण्डप तयार गरी अस्तु राखिएको छ ।
अस्तु दर्शनका लागि अहिले बौद्ध र हिन्दुधर्मालम्बीहरूको भीड लागेको भन्दै धाम व्यवस्थापनले धाममा राखिएको अस्तुलाई श्रीलंकावाट आएका भिक्षुको टोलीले विधिपूर्वक दैनिक पूजाअर्चना गरिरहेको जनाएको छ ।
श्रीलंकाको राजधानी कोलम्बो नजिकैको २ हजार ६ सय वर्ष पुरानो राजमाया बिहारवाट उक्त अस्तु नेपालको शाश्वतधाम ल्याइएको हो । विश्वभरका बौद्धधर्मालम्वीकाबीच उक्त बिहार निकै प्रतिष्ठित मानिन्छ । बौद्ध भिक्षु खेम्पो पेमा सम्बा लामाले भगवान बुद्धको अस्तुलाई प्राणीको उद्दार गर्नका लागि साक्षात् भगवान मानिने भएकाले बुद्ध धर्ममा यस्को सबैभन्दा उच्च महत्व रहेको बताए ।
राजामाया बिहारका जनक ईडिरेसंघेले भगवान बुद्धका अनुयायीहरूले अस्तु (बुद्धको खरानी)रहेको स्थानलाई साक्षात् भगवान बुद्धको स्वरूपका रूपमा श्रद्धा गर्ने बताए । श्रीलंका, लुम्बिनीस्थित श्रीलंका गुम्बा र दाउन्नेमा रहेको बौद्ध गुम्बाका भिक्षुहरूबाट विधिपूर्वक बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको हो । आगामी वैशाख पूर्णिमाका दिन उक्त सेन्टरको उद्घाटन गर्ने लक्ष्य राखिएको छ । बुद्धिष्ट सेन्टर सञ्चालनमा आएपछि भक्तजनले सोही स्थानमा अस्तुको दर्शन गर्न पाउनेछन् ।
गत शुक्रवार श्रीलंकावाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुदै काठमाडौँ ल्याइएको अस्तुलाई एक रात काठमाडांैको एक चैत्यमा राखी शनिवार शाश्वतधाममा पु¥याइएको हो । भरतपुर बिमानस्थलबाट शाश्वतधाममा अस्तु ल्याइँदा बौद्ध परम्पराअनुसार विशेष पूजाअर्चना गरिएको थियो ।
पुरातत्व विभागका विज्ञ रामबहादुर कुँवरका अनुसार २ हजार ५ सय ६२ वर्षअघि देहत्याग गरेका भगवान गौतम बुद्धलाई अनुयायीहरू (भिक्षु)ले जलाएका थिए । उनलाई जलाइएपछि बनेको खरानी आ-आफ्नो चैत्यमा राख्न उनीहरूबीच होडबाजी चलेको थियो ।
Previous Articleचलचित्र खेलेर चर्चामा आउन नचाहने सिरुमा रानीकी सीमा
Next Article कुन कुन गाउँ/नगरमा कस्तो छ बिजुलीको सम्भावना ?