बागलुङ, ९ फागुन– सिँचाई अभावमा वर्षेनी बाँझो रहने बागलुङका कुलो माथिका जमिनमा आजभोली हरियाली छाउन थालेको छ । हिउँदे सिँचाइका लागि असम्भव रहेका कुलो, नहर, नदीमाथिका जमिनमा सिंचाई गर्न लक्षित ‘शुन्य शक्ति वर्षा पम्प’ जिल्लामा भित्रिएपछि त्यस्ता जमिनमा हरियाली छाउन थालेको हो । सरकारले नहरमाथिका जग्गावालालाई अनुदानमा ‘शुन्य शक्ति वर्षा पम्प’ दिन थालेपछि बागलुङका किसानले त्यही प्रविधिको प्रयोग गरेर व्यवसायिक खेती गर्न थालेका छन् ।
बिना उर्जा चल्ने यस्तो पम्पले नहरदेखि ६०–७० मिटर माथिको जग्गासम्म सिँचित हुने गरेपछि बागलुङका किसानहरु यसतर्फ आकर्षित भएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषि प्रसार अधिकारी अधिकृत बिप्लब अधिकारीले बागलुङमा सुरुको चरणमा चार वटा यस्ता यन्त्र वितरण गरिएको बताए । ‘यो एक प्रकारको शुन्य शक्तिमा चल्ने मेसिन हो, कुलो, नहर तथा खोला माथि रहेका जमिनमा सिंचाई उपलब्ध गराउनका लागि यसको प्रयोग प्रभावकारी देखिएको छ ।’ अधिकारीले भने– ‘पानी बग्ने क्षेत्रको बीच भागमा राखिने यो यन्त्रले पानीको बहावले निरन्तर घुमिरहन्छ, त्यही घुमाइकै शक्तिले खोलाको पानी माथिसम्म पुग्छ ।’ पाँच लाख रुपैयाँ पर्ने ‘शुन्य शक्ति वर्षा पम्प’लाई जिल्ला कृषि विकास कार्यालयले प्रतिकिसान ५० हजार रुपैयाँ लिएर अनुदानमा कृषकलाई बाँडेको थियो । बागलुङमा धेरै खोलानाला, लघुजलविद्युत आयोजना भएकाले पनि नहर माथिका जग्गावालाको माग अत्याधिक भएको अधिकारीले बताए ।
कार्यालयबाट पहिले बागलुङको हरिचौर, हटिया र बुर्तिवाङका तीन किसानले यो यन्त्र जडान गरी व्यवसायिक कृषि खेती गरिरहेका छन् । यो प्रविधि भित्रिएपछि सिंचाई सुविधाका लागि असम्भव मानिएका ठाउँमा सम्भव भएको हरिचौरका किसान गुमानसिँह खत्रीले बताए । आफूले व्यवसायिक रुपमा खेती किसानी गरेको ठाउँ दरमखोलाको ठिक माथीपट्टी रहेको र सिंचाईमा ठूलो समस्या भएका बेला यस्तो यन्त्र भित्रिएपछि पहिलोपटक आफूले जडान गरेको बताए । ‘मैले विगत लामो समयदेखि यही ठाउँमा व्यवसायिक खेती गरिरहेको छु, वर्षाद्को समयमा सिंचाईको सुविधा राम्रो भएपनि हिउँदको समयमा टाढा–टाढाबाट पाइपमा थोरै भएपनि पानी ल्याएर सिंचाई गर्दै आइरहेको थिए, यो यन्त्र आएपछि त्यो समस्या टरेको छ’ खत्रीले भने ।
दरमखोलाको बीचमा राखिएको उक्त यन्त्रले खत्रीको जमिनमा नियमित सिंचाई गरिरहेको छ । वर्षादको सिंचाई आवश्यक नहुँदा खोलाबाट झिकेर राख्ने उक्त मेसिन हिउँदको समयमा खोलामा लगेर जोड्ने गरिएको छ । ‘सिंचाई सुविधा नहुँदा खेतबारी नजिकैबाट बग्ने खेला हेरेर चित्त बुझाउनुपर्ने समस्याका कारण भनेजति कृषि उपज उत्पादन गर्न सकिएको थिएन, कि टाढाबाट पाइपमा पानी ल्याउने कि खोलाको पानी विद्युतको प्रयोग गरी मोटरबाट तान्नेबाहेक अरु उपाय थिएन, यस्तो यन्त्र आएपछि खर्च पनि कम हुने नियमित पानीबाट सिंचाई गर्न पाउने भएपछि आफूलाई ढुक्क बनाएको छ’ खत्रीे भने । बागलुङमा व्यवसायिक तथा आधुनिक कृषि पेशा गर्नेहरुको संख्या बृद्धि भएकाले पनि यस्ता आधुनिक यन्त्रहरुको प्रयोग बढ्न थालेको कृषि विज्ञहरु बताउँछन् । कृषि क्षेत्रमा हाइटेक टनेल, उर्जा बिना चल्ने शुन्य शक्ति वर्षा पम्प र विद्युतको सहायताले चल्ने रकेट पम्पको प्रयोग हुन थालेको पाइन्छ ।