देशका सात वटै प्रदेशमा यतिबेला सरकार गठनको काम चलिरहेको छ । सबै प्रदेशमा मुख्य मन्त्रिको नियुक्ती र सपथको काम समेत सकिएर सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । पहिले सिंहदरबारमा केन्द्रित रहेको शक्ति अहिले प्रदेश सभाहुँदै गाउँका वडा, गाउँपालिका र नगरमा बिकेन्द्रित भएको अवस्थामा छ । देशको सबैभन्दा धेरै पर्यटन र जलस्रोतका हिसाबले संभावना बोकेको प्रदेश हो ४ नम्बर प्रदेश । यहाँ उत्पादन भएको बिद्युतको क्षमतालाई मापन मात्रै गर्ने होभने देशको आधा हिस्सा यो प्रदेशले ओगटेको छ । चरम लोडसेडिङको मार कम गर्नका लागि भारतबाट बिद्युतको आयात गर्नुपर्ने अवस्था रहेका बेला अपनाईएको संघिय संरचना र संघियताको खाकाका आधारमा भएका स्रोत साधनको उपयोग गर्ने अधिकार प्रत्यायोजनलाई हेर्ने होभने यो प्रदेश सञ्चालनको लागि बिद्युत रोयल्टी काफी हुने देखिन्छ ।
पर्यटनका हिसाबले समेत निकै महत्व बोकेको यो प्रदेशमा राष्ट्रिय गौरवका योजनाले बोकेको संभावनालाई पहिचान र प्रयोगमुखी बनाउँदा मात्रै यो प्रदेश देशको सबैभन्दा अव्वल अर्थतन्त्र भएको प्रदेशको रुपमा विकास हुनेमा कसैको दुई मत नहोला । स्रोत र साधन भएर मात्रै पुग्दैन । स्रोत र साधानको उचित उपयोग महत्वपुर्ण कुरा हो । यदि स्रोत साधनको उचित उपयोग गर्न सकिएन भने चाहे प्राकृतिक स्रोत साधान हुन या कृतिम स्रोत साधानहरु हुन् जसले कुनैपनि आर्थिक प्रभाव राख्न सक्दैनन् । एकातर्फ लामो समयपछि आएका जनप्रतिनिधि र अर्कोतर्फ नयाँ संरचनाअनुसार बेनेको प्रदेश सभाले काम थालेको छ । प्रदेश चारको आर्थिक विकासको अभिभारा बोकेर बनेको प्रदेश सरकारले सुरुवात राम्रो गरेको छ । प्रदेशमा भएका स्रोत साधनको प्रयोगका लागि आवश्यक सडकलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले गरेको निर्णय चार नम्बर प्रदेशको आर्थिक विकासको सुरुवाती सुचकका रुपमा लिन सकिन्छ । प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो सरकारको पहिलो प्राथामिकतामा सुस्तादेखि कोरला नाका जोड्ने राष्ट्रिय सडक पहिलो प्राथामिकतामा रहेको बताएादै यो सडकको निर्माण र स्तरोन्नतीमा देखाएको सुरुवाती चासोले समग्र चार नम्बर प्रदेशबासीलाई आसाको दियो बालिदिएको छ । काम गरेर देखाउन जरुरी छ ।
घोषणा मात्रै भयो र कागजी काम सकेर सबै भौतिक काम थाँती रहेभने त्यो अनर्थक होला । तर मुख्य मन्त्रिले सुरुवातमा गरेको यो घोषणाले देशका अन्य प्रदेशलाई समेत जोड्दै उत्तर छिमेकी र दक्षिण छिमेकी राष्ट्रलाई जोड्ने माध्याम चार नम्बर प्रदेशलाई बनाउन खोजेको देखीयो । कुनैपनि निकायको प्रमुख वा प्रतिनिधिको एकल प्रयासले विकासका काम गर्न कठिन हुन्छ । कुनै बर्ग क्षेत्र वा समुदायको विकासको लागि सबै पक्षको उत्तिकै महत्वपुर्ण जिम्मेबारी रहेको हुन्छ । जिम्मेबार निकायमा रहेकाहरुले आफ्नो जिम्मेबारीको बोध गर्ने र जनताका माझमा गरेका वचनलाई पुरा गर्ने मनस्थितीको निर्माण गर्ने होभने हाम्रो प्रदेशका मुख्य मन्त्रिले गरेको घोषणा यथार्थमा सावित हुन सक्छ । राज्यले गरेका हरेक काममा औला उठाउने हाम्रो पुरानो प्रबृत्तिको अन्त्य गर्दै सकारात्मक कामलाई साथ दिने र नकारात्मक काममा खबरदारी गर्ने बानीको विकास गर्दै आफ्नो प्रदेशको समुन्नत विकासको लागि तल्लो तहबाट सबैले हातेमालो गर्न जरुरी छ ।