🖎 विनोद विवश
छोरो वर्षौं पछि बल्ल आफ्नो घर आयो
जब गाउँमा बूढो बाउ मरेको खबर आयो
अचम्म लाग्छ मलाई यी मान्छे हरू देख्दा
अरूको कुरा काट्न कताबाट जाँगर आयो ?
अब चाँदनी साँच्चै के गर्छे होला सोच्नुहोस्
त्यो सूर्यलाई पनि रातीमा उदाउने रहर आयो
कसरी लगिदिउँ खेलौना प्रेमिकाको लागि ?
गुडिया किन्ने पैसाले आमाको च्यादर आयो
हिजोसम्म ठाडो शिर गरेर हेर्न सकेनस् छोरा
बुहारी भित्रिना साथ कति ठूलो अन्तर आयो
जैमिनी ०१, बागलुङ