बागलुङ, ६ फागुन– सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने काम विवादका कारण तीन वर्षदेखि अड्किएको छ । सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले विरोध जनाएका कारण निर्माण कार्य अलपत्र परेको हो । बागलुङको ढोरपाटनसम्म ट्रयाक खोल्ने काम सकिए पनि सन्धिखर्कमा विवाद रहँदा यो सडकले पूर्णता पाउन सकेको छैन । २०६५ सालमा निर्माण सुरु भएको सडकको ट्रयाक खोल्ने काम नसकिएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाका प्रमुख होमबहादुर एसीले बताए । सन्धिखर्कमा लामो समयसम्म विवाद कायम रहँदा ट्रयाक खोल्न नसकिएको उनको भनाई रहेको छ । विवाद सुल्झाउन पटक–पटक छलफल भएपनि सहमति कायम हुन नसक्दा अन्योल बढेको हो ।
छिटो सहमति गरी ट्रयाक खोल्ने कामलाई पूर्णता दिनुपर्ने उल्लेख गर्दै योजना प्रमुख एसीले लामो समयसम्म विवाद गरिरहनु राम्रो नभएको र यो सडकले धेरै सम्भावना बोकेकाले यसको महत्व बुझ्नुपर्ने उनले बताए । सन्धिखर्क चुत्रावेसीको मोटरेबल पुलबाट सडकलाई कता लैजाने भन्ने विषयमा विवाद रहेकोे छ । पुलबाट सन्धिखर्कको रतहले बजार वा चुत्रावेसी बजार गरी दुईवटा विकल्प अघि सारेपनि दुवै ठाउँका स्थानीयले ट्रयाक खोल्न नदिने अडान राख्दै आएका छन् । सन्धिखर्कमा विवाद कायमै रहे गाउँबाट ट्रयाक खुल्नेछ तर कतिपयले भने विशेष महत्वको यो सडकलाई सदरमुकामबाटै लैजानुपर्ने बताएका छन् ।
केहीले स्थानीयलाई उठीबास लगाउने खालबाट सडक बिस्तार गर्न नहुने अडान लिएका छन् । यो सडकको लम्बाइ एक सय ८५ किलोमिटर छ । त्यसमध्ये रुपन्देहीमा ५, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बाग्लुङमा ५० किलोमिटर पर्ने बताइएको छ । बाग्लुङको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पु¥याइएको यो सडक पर्यटन प्रबद्र्धनका लागि निर्माण गर्न लागिएको हो ।
यसले अर्घाखाँचीको पर्यटन प्रवद्र्धनमा निकै महत्व राख्ने देखिएको बताइएको छ । ढोरपाटन जाने पर्यटक अर्घाखाँची हुँदै बाग्लुङ आउन सम्भावना रहेको छ । रुपन्देहीको सालझण्डी, अर्घाखाँचीको मैदान, पाली, वांगला, सन्धिखर्क, अर्घा, बागी, हंसपुर, प्युठानको सौतामारे, गुल्मीको पुरकोट दह, सिर्सेनी, मदानेको लेख, बागलुङको बुर्तिबाङ, बोबाङहुँदै ढोरपाटन पुग्ने सडकको धेरैजसो ट्रयाक खुले पनि सन्धिखर्कमा विवाद देखिएको हो । सडक ग्राभेल, स्टक्चर र कटिङका लागि चार भागमा बिटी जय बाबा जेबी, तुन्दी बिरुबा शिवशक्ति जेबी, कञ्चनजंघा मोतीराम जेबी र अरनिको बाम्ती जेबी गरी चारवटा निर्माण कम्पनीले झन्डै १७ करोडमा ठेक्का लिएर काम अगाडि बढाइरहेका छन् । एक सय ८५ किलोमिटरमध्ये पाँच किलोमिटर पिच भइसकेको छ । आगामी पाँच वर्ष भित्र सबै पिच गरिसक्ने लक्ष्य लिइएको छ ।
Previous Article६ फागुन २०७४, ढोरपाटन दैनिक
Next Article महासंघको साधारणसभा बैशाखमा हुने