बागलुङ, ५ फागुन– वर्षेनी करोडौं मूल्यका जडिबुटी बिक्री गर्न सकिने सम्भावना भएपनि बागलुङका विभिन्न जंगलहरुबा जडिबुटी संकलन हुन नसक्दा जंगलमै कुहिएर जाने गरेका छन् । जिल्लामा १०० भन्दा बढी थरीका जडिबुटीहरु संकलन गरी बिक्री गर्न सकिने सम्भावना भएपनि २०–२२ थरी जडिबुटी बाहेक अरु जडिबुटी संकलन नहुँदा जंगलमै खेर जाने गरेको छ । उच्च पहाडी भेग भएका कारण बागलुङका जंगलहरुमा बहुमूल्य जडिबुटीको सम्भावना भएपनि जडिबुटी संकलन र बिक्री वितरण हुन नसकेको जिल्ला बन कार्यालय बागलुङले जनाएको छ । जिल्ला बन कार्यालय बागलुङका अनुसार १०० बढी जडिबुटी संकलनका लागि बागलुङका जंगलहरु सक्षम भएपनि अहिलेसम्म २०–२२ थरीका जडिबुटी मात्र संकलन हुने गरेको छ ।
बागलुङका जंगलमा चुल्ठे अमिलो, सतुवा, बन लसुन, रातो च्याउ लगायतका जडिबुटीहरु संकलन गरी निर्यात हुने गरेपनि अन्य जडिबुटीहरु संकलन हुन नसकेको जिल्ला बन कार्यालय बागलुङका अधिकृत रामबहादुर बिकले जानकारी दिए । बिकका अनुसार वर्षमा लाखौं केजी जडिबुटीहरु संकलन गरी बिक्री वितरण गर्न सकिने भएपनि बागलुङमा एक वर्षको अवधीमा जम्मा २५ थरीका २५ हजार चार सय नब्बे केजी जडिबुटी निकासी भएको थियो । उक्त जडिबुटी निकासी वापत गत आर्थिक वर्षमा दुई लाख ७५ हजार सात सय २७ रुपैयाँ मात्र राजश्व संकलन भएको थियो । परम्परागत रुपमा स्थानीयले जडिबुटी संकलन गर्दा जडिबुटीनै नास हुने अवस्था आएकाले पनि जडिबुटी निकासीमा कमी आएको सरोकारवालाको भनाई छ । कुनै सयम ढोरपाटन क्षेत्रमा पाइने चुल्ठे अमिलो, सतुवा लगायतका जडिबुटी बिक्री गरेर त्यहाँका सयौं घरपरिवारले जिविकोपार्जन गरिरहेकाले अहिले त्यो हराउँदै गएकालेपनि जडिबुटी संकलनमा कमी आएको हो । अहिलेपनि नेपाली बजारमा चिराइतो, सिस्नुको धुलो, बनलसुन, रातो च्याउ, चुल्ठे अमिलो, सतुवा, टिमुर, सिलटिमुर, अतिस, बर्रौ, भुस्केत, गुच्छीच्याउ जस्ता जडिबुटीको माग अत्याधिक भएपनि परम्पारगत जंगलमा उत्पादन घट्दै गएको र व्यवसायीक उत्पादन नभएकाले भनेजती राजश्व संकलन गर्न नसकिएको बन कार्यालयको भनाई छ ।
‘अब बजारमा राम्रो माग भएका जडिबुटीहरुको व्यवसायीक खेती गर्न सके राम्रो आम्दानी लिन सकिन्छ ।’ बन कार्यालय बागलुङका अधिकृत बिकले भने । नेपालमा उत्पादन भएको जडिबुटीको विश्व बजारमा राम्रो माग भएकाले जिल्लाका सामुदायीक वनहरुलाई जडिबुटी उत्पादनतर्फ लाग्ने प्रेरित गरिएको सामुदायिक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष प्रेम लामिछानेले बताए । लामिछानेका अनुसार महासंघले विभिन्न दातृ निकायको सहयोगमा जिल्लाका विभिन्न सामुदायीक बनहरुलाई आत्मनिर्भर बनाउँनका लागि जडिबुटी उत्पादन बृद्धि गर्ने अभियान सञ्चालन समेत गरेको थियो । बागलुङमा जडिबुटी उत्पादनको राम्रो सम्भावना भएकाले खाली रहेका जग्गामा जडिबुटी खेती गर्न कृषकहरुलाई उत्साहित गर्नुपर्ने बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजाले बताए । ‘म आफै लामो समयदेखि कृषि तथा जडिबुटीको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आइरहेको छु, अबका दिनमा स्थानीय तहबाट जडिबुटी उत्पादन, संकलन र प्रशोधनमा ध्यान दिने गरी कार्यक्रम बनाएर अगाडि बढ्छौं दिन आवश्यक छ ।’ पाइजाले भने । जडिबुटि संकलन तथा प्रसोधन हुन नसक्दा राम्रो आम्दानीको स्रोत गुमिरहेको स्थानिय बताउँछन् । कानुनि समस्या र झण्जटिको प्रकृयाका कारण पनि संकलनमा समस्यमा हुने गरेको छ ।
Previous Article५ फागुन २०७४, ढोरपाटन दैनिक
Next Article कृषकले भेटे पहिलो पटक प्राबिधिक