म्याग्दी, ४ फागुन– बेनी नगरपालिका–५ पुलाचौरका महिला उद्यमीले साझा सुविधा केन्द्र स्थापना गरेका छन् । पुलाचौर स्विटर उत्पादक संघमा आबद्ध महिलाले सिकेको सीपलाई निरन्तरता दिँदै सामूहिक व्यवसाय गर्नका लागि साझा सुविधा केन्द्र स्थापना गरेका हुन् । समूहले रु छ लाख ९५ हजारको लागतमा भवन निर्माण गरेको हो । रु तीन लाख ४३ हजार ऋण रहेको समूहकी सचिव प्रभा सुवेदीले बताए । गरिबी निवारण कोषको सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रद्वारा सञ्चालित द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनाले पुलाचौरका उद्यमीलाई ऊनीका कपडा बुन्ने मेसिनलगायत रु १२ लाख ३० हजार बराबरको सामग्री र कच्चा पदार्थ सहयोग गरेको अध्यक्ष शान्ति थापाले बताए ।
भवन बनाउन स्थानीय सागर पौडेलले चार आना एक पैसा दुई दाम जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । संघअन्तर्गतका तीनवटा समूहमा आबद्ध ७६ जनामध्ये पहिलोचरणमा नौ जनालाई तीन महिने स्वीटर, गलबन्दी, मखलर, हाईनेक, स्कुल पोशाक, टोपी र कपडा बुन्ने तालीम प्रदान गरिएको थियो । पहिलो चरणको तालीम लिएकालाई क्षमत्ता विकास र तालीमका साथै कच्चा पदार्थको आवश्यकता रहेको उद्यमीहरूले बताएका छन् । सो भवनमा सामूहिक रूपमा कपडा बुनेर बिक्री गरी आयआर्जन गर्ने संघको योजना छ । यसअघि घर भाडामा लिएर सीप सिक्ने र सामान बनाउने गरेका उद्यमीलाई आफ्नै भवन बनेपछि सजिलो भएको छ ।
Previous Articleव्यबहारिक शिक्षाबाट क्षमता अभिबृद्धि
Next Article बौद्धिक अपांगता भएकालाई छात्रावास