तारानाथ आचार्य
बागलुङ, ३ फागुन– जिल्लाका चार सय जना डकर्मीहरुलाई दक्ष बनाउने काम सुरु भएको छ । भुकम्प पछिको पुनःनिर्माण अभियानमा भुकम्प प्रतिरोधि पुर्वाधार निर्माणका लागि डकर्मीहरुलाई दक्ष बनाउने अभियान थालिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा घरेलु तथा साना उद्योग विकास समिती बागलुङले डकर्मीहरुलाई दक्ष बनाउन पुर्नताजगी तालिम दिन थालेको छ । जिल्लाभर रहेका १० वटा स्थानिय तहमध्ये नगरपालिकामा प्रतिनगर पालिका ५० जना र गाउँपालिकामा प्रतिगाउँपालिका २५ जनाका दरले डकर्मीहरुलाई दक्ष बनाउन लागिएको शाखा कार्यालय बागलुङका प्रमुख नारायण न्यौपानेले बताए । जिल्लाको बरेङ गाउँपालिकामा भने दुई चरणमा गरेर ५० जनाले नै तालिम पाउने प्रमुख न्यौपानेले बताए ।
गाउँपालिका तथा नगरपालिकामा डकर्मीको काम गर्दै आएकालाई थप दक्ष र भुकम्प प्रतिरोधी निर्माणमा सहभागी बनाउनका लागि तालिमको आयोजना गरीएको उनको भनाई छ । ‘राज्यले भुकम्प प्रतिरोधी संरचना निर्माणका लागि लगानी गरेको हो’ न्यौपानेले भने ‘काम गरिरहेकाहरुलाई थप ज्ञान दिने हाम्रो उदेश्य हो ।’ जिल्लाभर नयाँ निर्माण हुने संरचना र पुराना संरचनाको मर्मत सम्भारमा समेत भुकम्प प्रतिरोधी प्रविधिको प्रयोग हुने गरी तालिममा बिषयबस्तु समेटीएको उनको भनाई छ । सात दिन लामो तालिममा वस्तुगत कुराका साथै प्रयोगात्मक अभ्यास समेत गराईने गरेको न्यौपाने बताउँछन् । ‘हामीले केही सिकाएर प्रयोगात्मक रुपमा अभ्यास गर्न लगाएका छौं’ उनले भने ‘सहभागीहरुको प्रयोगात्मक अभ्यास देख्दा जिल्लामा पुनःनिर्माणको काम भुकम्प प्रतिरोधी हुनेमा आशा पलाएको छ । कार्यालयले जिल्लाका जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पहिलो चरणको तालिम सम्पन्न गरिसकेको छभने तमानखोला, बडिगाड, निसीखोला गाउँपालिकामा यो साताभरमा तालिम सकिने जनाएको छ ।
जिल्लाकै गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकामा यसै साता तालिम सुरुवात गरिने न्यौपानेले बताए । जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकामा भने अन्य सबै स्थानिय तहको तालिम सकिएपछि मात्रै तालिम सुरु गरिने कार्यालयले जनाएको छ । तालिममा प्रशिक्षणको लागि जिल्ला प्रबिधिक कार्यालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका जिल्लामा क्रियाशिल इन्जिनियर र सव–ओभरसियरलाई खटाईएको छभने सह–प्रशिक्षकको रुपमा डकर्मी तालिम प्राप्त स्थानिय डकर्मीहरुलाई समेत खटाईएको कार्यालयले जनाएको छ । सयौंको संख्यामा डकर्मीहरु दक्ष बनाउने गरी सुरुवात गरिएको तालिममा प्रतिगाउँपालिका तथा नगरपालिकाका लागि कार्यालयले ४० हजार बराबरको औजार र ५० हजार बराबरको कच्चा पदार्थको व्यवस्था समेत गरेको छ । तालिमका लागि डकर्मी काम गरिरहेकाको सहभागिताका लागि आव्हान गरिएको भएपनि सोचेअनुसारको सहभागिता नरहेको न्यौपानेले बताए । पहिलो चरणमा तालिम सम्पन्न भएका जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा कार्यक्रमको लक्ष्य अनुसारका डकर्मीहरुको सहभागिता रहेको भएपनि तालिम चलिरहेका अन्य निकायमा भने डकर्मीको संख्या सोचेअनुसारको नभएको न्यौपाने बताउँछन् ।
‘प्रशिक्षार्थीहरु निकै उत्साहित हुनुहुन्छ, काम सिक्ने जाँगर निकाल्नु भएको छ’ उनले भने ‘तालिममा सहभागीहरुको उत्साह देखेर हामी पनि उत्साहित भएका छौं ।’ जिल्लामा पहिलोपटक यो खालको तालिम सञ्चालन भएकाले सबै सहभागीलाई सहज रुपमा सिकाईका लागि समस्या रहेको भएपनि त्यसलाई सहज बनाउने काममा आँफु लागेको न्यौपानेले दाबी गरे । जिल्लामा भुकम्पका बेला भत्केका संरचना निर्माणका लागि पहिलो चरणको अनुदान रकम उपलव्ध गराउने काम चलिरहेका बेला डकर्मीको लागि दिईएको डकर्मी तालिम संरचना निर्माणको लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
Previous Articleफोनिजको अध्यक्षमा घर्तिमगर
Next Article भिमगिठेमा आगलागी हुँदा लाखौंको क्षती