वैध वा अवैध रुपमा नेपाली हरेक दिन खाडी र युरोपमा देशहरुमा जाने क्रम जारी छ । सरकारले वैदेशिक रोजगारका लागि प्रतिबन्ध लगाएका देशमा पनि म्यानपावर कम्पनीको बोर्ड टाँसेर अवैध रुपमा मानव तस्कर गरिरहेका गिरोहले मोटो रकम लिएर नेपाली युवायुवतीलाई खाडीदेखि युरोपका देशमा पठाईरहेका छन् । नेपाल सरकारले वैदेशिक रोजगारका लागि खुल्ला गरिएका देशमा नेपाली मजदुरले दुःख पाईरहेका समाचार आईरहेका बेला अवैध रुपमा विदेशिएका युवायुवतीको पीडा कहालीलाग्दो छ । हरेक दिन वैदेशिक रोजगारको नाममा ठगी धन्दा भईरहेका समाचार आइरहँदा पनि नेपाली युवायुवतीमा विदेश मोह जारी रहनु दुःखद कुरा हो । वैदेशिक रोजगारका लागि नेपाल सरकारको श्रम स्वीकृति अनिवार्य लिनुपर्छ । तर, मानव तस्करहरुले फेक श्रम स्वीकृति बनाएर धमाधम खाडीहुँदै अफ्रिका र युरोपका देशमा नेपाली युवा पठाईरहेका छन् । अवैध रुपमा खाडी र युरोपका देशमा छिर्दा थुप्रै नेपालीहरुले दुःख पाईरहेका छन् ।
पछिल्लोपटक वैदेशिक रोजगारको नाममा नेपाली युवा ठगिन पुगेको समाचार बाहिर आएको छ । म्यानपावर कम्पनी नखोली विदेश पठाउने दलालको पनि उत्तिकै बोलबाला छ नेपालमा । यस्तै दलालको फन्दामा परेर नेपाली युवाले लाखौं रकम गुमाउन पुगेका छन् । म्यानपावर कम्पनी नखोली दलाली काम गर्दै आएका खुलेआम भएपनि उनीहरुलाई कानुनी दायरामा ल्याउन नसक्दा नेपाली युवायुवतीहरु ठगिन पुगेका छन् । पोल्याण्डमा रोजगारी दिलाई दिने भन्दै प्रतिव्यक्ति एक लाखका दरले एक सय जनाभन्दा धेरै व्यक्तिसँग रकम ठगी गरेर भागेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । काठमाडौंमा पास इन्टरनेशनल नामको मेनपावरबाट मणिराज अधिकारी र लक्ष्मी ज्ञवालीले पोल्याण्ड लैजाने भन्दै लाखौं रकम लिएर फरार भएका छन् । वैदेशिक रोजगारको नाममा हुने ठगी धन्दाको यो त उदाहरण मात्रै हो । युरोपका देशमा जाने सपनाका कारण धेरै नेपाली युवाहरुले लाखौं रुपैयाँ डुबाएका छन् । वैदेशिक रोजगारमा जानको लागि पुरा गर्नुपर्ने धेरै कानुनी प्रक्रियाहरु छन् । तर, कानुनी प्रक्रिया बिनै म्यानपावर तथा दलालको भर पर्दा नेपाली युवायुवती घर न घाटका भएका छन् ।
म्यानपावरको ठगी धन्दा निर्वाध रुपमा मौलाईरहेको छ । विदेश जाने नाममा ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा दैनिक उजुरी परिरहेका छन् । तर, त्यसको कार्यान्वयन पक्ष भने निकै फितलो छ । सरकारले खाडी मुलुक जानको लागि फ्रि–भिसा र फ्रि– टिकटको व्यवस्था गरेपनि दलालले त्यसलाई खुलेआम चुनौती दिदै आएका छन् । खाडी मुलुक पठाउँदा म्यानपावरले युवायुवतीबाट लाखौं रकम असुली रहेका छन् । ठगी मुद्दा दर्ता भैसकेपछि अनुसन्धान गर्ने र अनुसन्धानपछि मात्रै दोषीको यकिन गरेर मुद्दा अगाडि बढाउनु पर्ने हो । तर, विभागको काम गर्ने शैली कछुवा गतिको छ । अनि कसरी पक्राउ पर्न सक्छन् म्यानपावर कम्पनीका संचालकहरु । विभागले अनुसन्धानको नाममा मुद्दामा ढिलो गरी गर्ने छानवीन कै कारण वैदेशिक रोजगारका नाम ठग्नेहरुले उन्मुक्ति पाईरहेका छन् । वैदेशिक रोजगारको नाममा ठगीधन्दा चलाईरहेकाहरुलाई तत्काल कानुनी कठघरामा ल्याउन सके ठगी धन्दा कम हुने निश्चि छ ।
Previous Articleज्ञानेन्द्र शाहको भारत भ्रमण र राजनीतिक तरङ्ग
Next Article २०७४ फागुन २ गते बुधबार राशिफल