पोखरा, १ फागुन – निर्मात्री तथा अभिनेत्री श्वेता खड्काले ‘कान्छी’ सामाजिक कथावस्तुमा आधारित रहेको बताएकी छन् । आगामी शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको उक्त फिल्मको बजार प्रवद्र्धनका लागि सोमबार पोखरा आएकी उनले ‘कान्छी’ पारिवारिक भएको बताइन् ।
‘यो विशुद्ध मनोरञ्जनमा आधारित फिल्म हो,’ उनले भनिन्, ‘सपना र सम्बन्धका कथालाई देखाउन खोजिएको छ ।’ कथाअनुसार प्रतिनिधि गाउँका रूपमा मात्रै मुस्ताङलाई छानिएको उनले खुलाइन् । ट्ेरलर र गीतले उत्साहजनक प्रतिक्रिया पाएकाले फिल्म पनि सफल हुने उनले आशा व्यक्त गरिन् । ‘पहिला राम्रो कलाकार बनाइदिनुभएको थियो,’ दर्शकलाई लक्ष्य गर्दै उनले भनिन्, ‘अब राम्रो निर्मात्री बनाइदिनुहुनेछ भन्ने आस गरेकी छु ।’
फिल्ममा उनी कान्छीको भूमिकामा छिन् । यसअघि उनले श्रीकृष्ण श्रेष्ठसँग ‘कहाँ भेटिएला’ र ‘कोहिनूर’ मा अभिनय गरिसकेकी छन् । ‘कोहिनूर’ पछि कमब्याक हुनेबारे नसोचे पनि दर्शककै मायाले बाध्य बनाएको उल्लेख गर्दै उनले थपिन्, ‘यसपछि पनि अभिनयलाई निरन्तरता दिन्छु नै भन्ने निश्चित छैन ।’
नायक दयाहाङ राइले ‘कान्छी’ व्यावसायिक प्रभावमा बनेको बताए । ‘यो फिल्ममा त्यस्तो घोत्लिएर सोच्नुपर्ने केही छैन,’ उनले भने, ‘यसअघि सफल भएका फिल्मकै सूत्रमा बनेको छ ।’ यद्यपि जातीय विभेद, यौनिक अल्पसंख्यकका मुद्दालाई समेट्ने प्रयास गरेको उनले बताए । ‘समाजका ससाना कथालाई फरक ढंगले प्रस्तुत गरिएको छ,’ उनले भने । आकाश अधिकारी निर्देशितफिल्मको निर्माण श्वेता र शैलेश खड्काले गरेका हुन् ।
Previous Articleसेवा विस्तारपछि नेटवर्क खोज्न डाँडातिर जानुपर्ने समस्या हट्यो
Next Article नेपाल अाइपुगेका चिनियाँ जहाज पाइलट अभावले पार्किङमै