बागलुङ, १ फागुन-जिल्लाको काठेखोला गाउँपालिका–७ रेशले वडा भित्रका खरका छाना व्यवस्थापनको काम थालेको छ । अति न्युन आय भएका परिवारको घरका छाना परिवर्तन गर्न लागिएको वडा कार्यालयले जनाएको छ । दुई बर्षे योजना बनाएर खरका छानाको बिस्तापन गर्दै टिनका छाना लगाउन लागिएको वडा अध्यक्ष प्रेम लामिछानेले बताए । खरको छाना रहेका घर परिवारले आफ्नै खर्चमा टिनको छाना फेर्न सक्ने अवस्था नरहेकाले वडा कार्यालयले छानाको व्यवस्थापन गर्न लागेको हो ।
दुई बर्षको अबधिमा ३० लाखभन्दा धेरै खर्च हुने गरी वडा भित्रका खरका छाना फेर्ने योजना बनाएको वडा अध्यक्ष लामिछाने बताउँछन् । वडामा अहिलेसम्म पनि न्युन आय भएका परिवारको खरको घर तथा गोठमा खरको छाना रहेको छ । वडाभित्र खरको छाना भएका ९० घर रहेको वडा सचिव होमनाथ शर्माले बताए । ‘वडाका बिपन्न परिवार र एकल महिला रहेका घरका छाना परिवर्तन गर्ने योजना बनाएर काम थालेका छौं’ वडा अध्यक्ष लामिछानेले भने ‘बर्षैपिच्छे फेर्नु पर्ने खरको सट्टामा टिनको छाना लगाउने योजना बनाएका छौं ।’ तत्कालका लागि वडा कार्यालयसँग बजेटको अभाव रहेको भएपनि आगामी आर्थिक बर्षको बजेटमा छाना व्यवस्थापनलाई प्रमुख योजनाको रुपमा अगाडि लाने उनले बताए । ‘यो बर्ष स्थानियको सहयोग तथा सिमान्तकृत तथा पछाडि परेको समुदायको लागि आएको बजेटबाट केही घरको छाना फेछौं’ लामिछाने भन्छन् ‘अर्को बर्षको बजेटमा सबै घरका छाना व्यवस्थापन हुने गरी काम अगाडि बढाईने छ ।’ पहिलो चरणमा एकल महिला, दलित, जनजातिको शिर्षकमा रहेको बजेटबाट उनीहरु कै समुदायका न्युन आय भएका नागरिकको घरको छाना फेर्न सुरुवात गर्न लागिएको उनको भनाई थियो ।
घरको छाना फेर्नका लागि आर्थिक हिसाबले खर्चिलो हुने भएपनि वडा स्तरमा समन्वय गरेर कम खर्चिलो बनाउने योजनामा रहेका वडा कार्यालयले जनाएको छ । ‘टिन खरिद गर्नको लागि वडा कार्यालयबाट बजेटको व्यवस्था गर्छौं’ लामिछानेले अन्य उपायहरु बताउँदै भने ‘निर्माणको लागि स्थानियलाई श्रमदान गर्न आग्रह गरेर काठपातको व्यवस्थाको लागि सामुदायिक वनहरुसँग अनुरोध गर्ने योजना छ ।’ स्थानियकै सहभागिता रहेका सामुदायिक वनहरुले पुर्ण सहयोग गर्नेमा आँफु विश्वस्त रहेको उनको भनाई थियो । चुनावका बेला गाउँको मुहार फेर्ने कसम खाएको भन्दै वडा अध्यक्ष लामिछानेले मुहार फेर्नको लागि आवश्यक पुर्वाधार निर्माणमा आफुले कुनै कसर बाँकी नराख्ने बताए । ‘वडाभित्र यस्ता परिवार पनि छन् जसले सामान्य खर किनेर समेत घर छाउने क्षमता छैन्’ लामिछानेले भने ‘वडा कार्यालयले उनीहरुको घर छाइ दिनुपर्छ भन्ने लागेर हामीले यो कदम उठाएका हौं ।’ घरको छाना फेर्ने काम निकै असजिलो भएपनि वडाबासीले पुर्ण सहयोग गर्नेमा आशावादी रहेको उनले बताए । खरको छाना भएका घरहरुले हरेक बर्षको बर्षातको समयमा पानी चुहिने समस्या भोग्दै आएका छन् । छानो छाएको एक दुई बर्षमा नै खर कुहिने र पानी नथेग्ने समस्या रहेको वडा सदस्य रुपा किसानले बताईन् । पछिल्लो समय नयाँ खर लगाएर घर छाउनको लागि खरको समेत अभाव हुने गरेको छ । अव भने उनिहरुको त्यो चिन्ता कमहुने वडाले जनाएको छ ।
Previous Articleढोरपाटनमा भारी हिमपात
Next Article १ फागुन २०७४, धौलागिरी स्टार साप्ताहिक