बागलुङ, १ फागुन-जिल्लाको ढोरपाटनमा सोमबार हिमपात भएको छ । सोमबार दिउँसोदेखी ढोरपाटनमा हिउँ पर्न सुरु गरेको छ । यो यस मौसमको दोश्रो हिमपात हो । माघ महिनाको दोस्रो साता पनि ढोरपाटनमा हिमपात भएको थियो । ढोरपाटनमा हिउँ पर्न थालेसँगै चिसो बढ्दै गएको नेपाली सेनाले जनाएको छ । दिउँसोदेखी हिउँ परेको र चिसो ह्वात्तै बढेको सेनामा कार्यरत जवान इन्द्र शाहीले जानकारी दिए । ‘दिउँसो ३ बजेपछि ढोरपाटनमा हिउँ पर्न थालेको हो, अहिले ढोरपाटन उपत्यका हिउँले ढाकी सकेको छ, ढोरपाटन पखाथरकी स्थानीय हिमकुमारी अदैले भनिन् ‘ढोरको मौसमलाई हेर्दा आज रातभर हिउँ पर्ने लक्षण देखिएको छ ।’ हिमपातसँगै ढोरको जनजीवनमा उच्छ्वासको अनुभूति भएको छ ।
किसानहरु बालीनाली सप्रने आशामा देखिएका छन्भने यस हिमपाले पर्यटकहरुलाई लोभ्याएको छ । यसैबीच, हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि हिमपात भइरहेको छ । जिल्लाको मुक्तिनाथ, उप्पलो मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउँ परेको हो । हालसम्म हिउँ पर्ने क्रम जारी रहेको अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना लोमानथाङका प्रमुख तुलसी दाहालले जानकारी दिए । लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । उप्पलो मुस्ताङका सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् । हिमपातसँगै हुरीबतास पनि चलेको लोमानथाङ प्रहरी चौकीका प्रहरी जवान राजकुमार श्रेष्ठले बताए । एक फिट बाक्लो हिउँ जमेको छ । हिमपातपछि थोरङपास, मुक्तिनाथ, लोमानथाङ, छोसेर, छोनुप, फुवा, नेच्युङ भन्सालगायत ठाउँमा यातयात अवरुद्ध भएको छ । चिसोका कारण नेच्युङ भन्सारमा हाल प्रहरी र कर्मचारी बस्दैनन् । हिउँ परेपछि मुस्ताङमा स्याउखेती फष्टाउने, जौ, गहुँ, उवा, फापरलगायत बालीमा सिँचाइ हुने भएकाले कृषक खुशी भएका हुन् । उप्पलो मुस्ताङमा पर्यटक हिउँ खेल्न पाउँदा दंग छन् ।