बागलुङ, १२ असोज – अपाङ्गता सरोकार संघ बागलुङ र आईएनएफ नेपालको साझेदारीतामा अपाङ्गता भएका व्यक्तिहरुको गुणस्तरिय जिवन विकास गराउने उद्देश्यले संचालित समुदायमा आधारित पुर्नस्थापना (सि.वि.आर.) कार्यक्रम अन्र्तगत सरकारी कर्मचारीहरुका लागि अपाङ्गता र समावेशि विकास सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
‘अर्थपुर्ण समावेशिकरण, सबै क्षमताका मानिसका लागि पहुँच र शसक्तिकरण’ भन्ने मुल नाराका साथ सरकारी कार्यालयका कर्मचारीहरुलाई अपाङ्ग र समावेशि विकास सम्बन्धी कार्यक्रम अन्तरगत मंगलबार महिला तथा बालबालिकाका कर्मचारीहरुलाई उक्त अनुशिक्षण दिइएको हो ।
अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो हक अधिकारको लागि सर्वप्रथम परिचय पत्र बनाउन महिला तथा बालबालिका कार्यालयमा आउने भएको र अपाङ्गता भएको व्यक्तिहरुदले अधिकार प्राप्त गर्ने प्रारम्भिक ढोका भनेकै महिला तथा बालबालिका कार्यालय भएकोले सुरुमा कार्यालयका कर्मचारीहरुलाई अनुशिक्षण दिइएको अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्राप्तीको लागि अझैपनि झनझट व्यहोर्नुपर्ने अवस्थाको न्यूनिकरण गर्न सम्बन्धीत क्षेत्रका कार्यालय एवं सेवा प्रावह गर्ने विकासे संस्थाहरु बीच सुमधुर सम्बन्ध र समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।
घिमिरेले अपाङ्गता सरोकार संघ बागलुङले विगत २ वर्ष यता बागलुङ जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको गुणस्तरिय जिवन विकासका लागि संघले गरेको कार्यक्रमहरुको बारेमा विस्तृतीकरण गर्दै समाजमा कुनैपनि अपाङ्गता भएका व्यक्तिहरु कुनै सेवासुविधाबाट बञ्चित भएको पाएमा सेवा प्रवाहको लागि संस्थासंग सम्पर्क गराउन अनुरोध गरेका थिए ।
अनुशिक्षण कार्यक्रमको सहजिकरण गर्दै आइएनएफ नेपालका सिविआर अधिकृत सुर्यबहादुर कुँवरले देशमा गरिवीले गर्दा अपाङ्गता बढेको बताउँदै गरिवी निवारणको लागि अपाङ्गताहरुलाई आयमुलक कार्यक्रम दिनुपर्नेमा जोड दिएका थिए ।
देशमा चेतना र गरिवीको कारणले अपाङ्गता भएका व्यक्तिहरु पछि परेको बताउँदै कुँवरले क्षति र गरिवीको प्रमुख कारणले गर्दानै अपाङ्ग हुने गरेको बताएका थिए । कुँवरले महिला विकासका कर्मचारीहरु र अपाङ्गहरुसँग काम गर्ने गैरसरकारी कार्यालयका कर्मचारीबीच द्वन्द्व हुँदा अपाङ्गहरुले राम्रो सेवा लिन नपाएको गुनासो बढ्दो रहेकोले त्यसको न्यूनिकरणको लागि दुवै तर्फबाट सजगता अपनाउँदै अपाङ्गता भएका व्यक्तिहरुको हकहितको लागि सकरात्मक सम्बन्ध स्थापित गर्नूपर्ने बताए ।
कुँवरले विश्व स्वास्थ्य संगठनको अपाङ्गता सम्बन्धी अबधारणा र नेपालको अबधारण बारेमा पनि जानकारी गराएका थिए ।
अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख सरस्वतीदेवि रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन ।