बागलुङ, १ फागुन-जामुनाखर्क कृषि सहकारी संस्था लिमिटेड बेनी नगरपालिका वडा नं. ६ म्याग्दीको आयोजनामा ३ दिने सहकारी शिक्षा तालिम सोमबारदेखि शुरु भएको छ । तालिम उद्घाटन कार्यक्रममा बेनी नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष कृष्णबहादुर बाँनियाले महिलाहरुलाई सहकारीमार्फत आर्थिक रुपमा सक्षम बनाउनका लागि तालिम सहयोगी हुने धारणा राखे । उनले समाज विकासका लागि आर्थिक व्यवस्थापन महत्वपूर्ण हुने भएकाले आयआर्जन कसरी बढाउने र आम्दानी गरेको रकम कसरी वचत गर्ने भन्ने विषयमा सबै जानकार हुन जरुरी रहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा तालिमका प्रशिक्षक रामबहादुर जिसीले समाजमा खेर गैरहेको स्रोतको पहिचान र परिचालन गरेर आयआर्जन गर्नका लागि राज्यले समन्वयकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए । मानिसहरु बजारको पछि दौडिएर अनावश्यक वस्तुको उपभोगमा प्रतिस्पर्धा गरिरहेको भन्दै जिसीले आयातित वस्तुको उपभोग पैसा र स्वास्थ्यको हिसावले हानिकारक हुने भएकाले स्थानीय वस्तुको अधिकतम उपयोग गर्न सुझाव दिए ।
तालिममा बेनी नगरपालिका वडा नंं ६ अन्तरगत रहेका बाँस्बोट आमा समुह, एक्लेपीपल आमा समुह, देउराली आमा समुह, एकपाटे आमा समुह, भगवती आमा समुह, राधाकृष्ण आमा समुह, गुफा नेपाली आमा समुह, जामुनाखर्क आमा समुह, खरेनी आमा समुहमा आवद्ध ६० जना शेयर सदस्यहरुको सहभागिता रहेको छ । तालिममा सहकारीको अर्थ, आवश्यकता र सहकारीमार्फत गर्न सकिने व्यवसाय, वचतको महत्व र वचत गर्ने तरिका लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका छन् । संस्थाका अध्यक्ष बलबहादुर विकको अध्यक्षता र सचिव सुवास वि.कको सञ्चालनमा सम्पन्न तालिम उदेघाटन कार्यक्रममा बेनी नगरपालिका वडा नं. ६ का सदस्यहरु गणेशबहादुर शाहीले बोलेका थिए ।
Previous Articleप्रदेश ३ मा बन्यो पहिलो प्रदेश सरकार
Next Article गायिका सीता श्रेष्ठको एकल आवाज रहेको माइती गाउँ