हेटौंडा, १ फागुन – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालासँग शपथ लिएका छन् । शपथलगत्तै पदबहाली गरेका पौडेलले मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न आवश्यक ३ नियमावलीमा हस्ताक्षर गरेका थिए । तत्कालै उनले ३ सदस्यीय मन्त्रिपरिषद्समेत गठन गरेका छन् ।
उनले काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा एमाले नेता केशव स्थापितलाई भौतिक पूर्वाधार विकासमन्त्री र माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका हुन् । नवनियुक्त दुवै मन्त्रीले प्रदेश प्रमुख अनुराधा कोइरालासँग शपथ लिएका थिए ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका स्थापित तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक महासचिव हुन् । प्ररायुसंंघको अध्यक्ष भएर काम गरेका स्थापितले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । ०५४ देखि ०५९ सम्म काठमाडौं महानगरपालिकाको नेतृत्व गरेका उनी पछि काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्तसमेत भएका थिए । स्थापित काठमाडौंको क्षेत्र नं ६ को प्रदेशसभा ‘क’बाट निर्वाचित भएका हुन् ।
०४२ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय जमरकट्टेलले पाटन औद्योगिक क्षेत्रका विभिन्न उद्योगमा मजदुरका रूपमा काम गरेका थिए । ०५२ मा माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका उनी अखिल नेपाल ट्रेडयुनियन महासंघको जिल्ला हुँदै केन्द्रीय अध्यक्षसम्म भए । माओवादी केन्द्रको धादिङ जिल्ला अध्यक्ष जमरकट्टेल पहिलो संविधानसभाका सांसद थिए । ०७० को संविधानसभा निर्वाचनमा पराजित उनी ०७४ को प्रदेशसभामा धादिङ क्षेत्र नं १ को ‘ख’बाट निर्वाचित भएका हुन् ।
मुख्यमन्त्री पौडेलले शपथलगत्तै आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सबैको सहयोगले प्रदेश ३ लाई ‘उत्कृष्ट र नमुना प्रदेश’ बनाउने उद्घोष गरेका थिए । ‘नियुक्ति, पदबहालीदेखि हामी पहिलो नै हुँदै आएका छौं, अब पनि सबै कुरामा पहिलो नै हुने हो,’ उनले भने, ‘ठूलाठूला कुरा गर्ने तर काम नगर्ने मान्छे म हैन, जे भन्छु, त्यो गर्छु । अब हामी अनुत्पादक क्षेत्रमा समय खेर फाल्दैनौं ।’
संघीय र स्थानीय सरकारका बीचमा प्रदेश सरकार ‘झुन्डिएको’ अवस्थामा रहेको उल्लेख गर्दै उनले ऐन र कानुन निर्माण गर्नुपर्ने बताए । ‘शपथपछि पदबहाली त भयो तर बसेर गर्ने काम छैन,’ पौडेलले भने, ‘चुनौतीसँगै अवसर पनि छन्, त्यसलाई छिचोलेर जान सक्ने नै सफल हुने हो ।’ प्रदेश ३ मा धेरै सम्भावना भएको भन्दै उनले स्रोत र साधनको अधिकतम प्रयोग गरेर विकास गरिने दाबी गरे ।
उनले सहयोग र सहकार्यका लागि कर्मचारीलाई आग्रह पनि गरे । प्रदेशमा खटिने कर्मचारीले आनाकानी गर्नुभन्दा सबैले मिलेर विकास गर्नुपर्ने धारणा राखे । ‘केही साथीहरूलाई भन्दा प्रदेशमा नखटाइदिनुस् भन्नुभएको छ,’ उनले भने, ‘सबैले दायित्व निर्वाह गर्ने हो भने सफल हुन सकिन्छ ।’ १० वर्ष नगरपालिका र १५ वर्ष नगरपालिका संघको नेतृत्व गरेको अनुभव सुनाउँदै उनले आफूमा ‘कोरा राजनीतिज्ञ’ नभएको दाबी गर्दै प्रशासनिक र विकास निर्माणको ज्ञान पनि भएको बताए । मुख्यमन्त्रीको शपथ लिएलगत्तै पौडेल सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङसहित हेटांैडास्थित सहिद स्मारकमा पुगेर माल्यार्पण गरेका थिए । त्यसक्रममा हेटौंडावासीले बाटोमा घडा राखेर भव्य स्वागत गरेका थिए ।
उता, प्रदेश ७ को सभामुखमा निर्वाचित अर्जुनबहादुर थापाले सोमबार प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष शपथ लिएका छन् । प्रदेशसभा बैठकबाट निर्वाचित भएकै दिन उनले शपथ लिएका हुन् । सभामुख पदका लागि एमालेबाट निर्वाचित सांसद थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । प्रदेश ६ को सभामुखमा निर्विरोध भएका राजबहादुर शाहीलाई सोमबारको प्रदेशसभा बैठकले निर्वाचित गरेको छ । आइतबार उनको मात्रै उम्मेदवारी परेको थियो । सोमबार बैठकको सुरुमै ज्येष्ठ सदस्य हिमबहादुर शाहीले सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रस्ताव पढेर सुनाएका थिए । एमाले सांसद प्रकाश ज्वालाको उक्त प्रस्तावलाई माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले समर्थन गरेका थिए । बैठकले शाहीलाई निर्वाचित भएको घोषणा गरेको थियो ।
प्रदेश १ मा पनि सभामुखमा निर्वाचित एमालेका प्रदीप भण्डारीले सोमबारै शपथ लिएका छन् । यस्तै प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि फागुन ३ भित्र बहुमत सदस्यको समर्थनसहित आउन सोमबार आहवान गरेका छन् ।
प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नभएका कारण संविधानको धारा १६८ को उपधारा २ बमोजिम मिलिजुली सरकारका लागि प्रदेश प्रमुखले यस्तो आहवान गरेका हुन् । यस्तो प्रक्रियाअनुसार नियुक्त हुने मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ ।
प्रदेश ५ मा माओवादीका पूर्ण घर्ती सभामुख बन्ने निश्चित भएको छ । माओवादी केन्द्रको प्रदेश संसदीय समितिको बैठकले सभामुखमा उनलाई पठाउने निर्णय सोमबार गरेको हो ।
Previous Articleप्रदेश नं. ४ लाई १४ गाडी, कुन प्रदेशमा कति ?
Next Article जामुनाखर्कमा सहकारी सचेतना