काठमाडौँ, १ फागुन – आठौँ क्रमका ब्याट्सम्यान सोमपाल कामीले इनिङकै अन्तिम बलमा १ रन लिँदै सोमबार नेपाललाई केन्याविरुद्ध ३ विकेटको सनसनीपूर्ण जित दिलाएका छन् । नामिबियामा सञ्चालन भइरहेको आइसिसी विश्व डिभिजन–२ क्रिकेट प्रतियोगितामा नेपालले महत्वपूर्ण चौथो खेलमा केन्याको सामना गरेको थियो । केन्याले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७८ रन जोड्यो ।
चारमध्ये तीन खेल जितेर ६ अंक बटुलेको नेपालले शीर्ष दुई स्थानको सम्भावना यथावत् राखेको छ । नामिबियासँग १७ रनले हारेको क्यानडाले चार खेलबाट ६ अंक जोडेको छ । रनरेटमा क्यानडा शीर्ष र नेपाल दोस्रो स्थानमा छन् । नामिबियाले तीन खेलबाट ४ अंक जोड्दै शीर्ष दुईमा पुग्ने आशा बलियो बनाएको छ । ओमानलाई हराएको युएईले चार खेलबाट ४ अंक जोडेको छ ।
ओमानले २ अंक जोडेको छ भने केन्याले अहिलेसम्म अंक जोड्न सकेको छैन । क्यानडाको हारसँगै समीकरण रोमाञ्चक बनेको छ । समीकरणअनुसार क्यानडा, नेपाल, युएई र नामिबियामध्ये दुई टोली शीर्ष दुईमा रहने प्रबल सम्भावना छ । नेपालले अन्तिम खेलमा क्यानडालाई हराउँदा लगभग डिभिजन–१ मा उक्लनेछ ।
क्यानडासँगको हारले नेपालको भाग्यनिर्धारण अन्य टोलीको नतिजामा भर पर्नेछ । आउँदा दुई खेलमा जित निकालेमा नामिबियाको शीर्षस्थानमा रहने सम्भावना त्यत्तिकै छ । युएईको एक खेल बाँकी छ । अन्तिम खेलमा हारको सामना गरेमा युएई डिभिजन–२ मै रहनेछ । जितेमा युएई दोस्रो स्थानमा उक्लनेछ । नयाँ पत्रिका
Previous Articleबिरामीका लागि नयाँ व्यवस्था,जीवननिर्वाह भत्ता सिधै खातामा
Next Article व्रतमध्येको सर्वोत्तम महाशिवरात्रि पर्व आज मनाइँदै